काँग्रेससँग मिल्नुको कारण खोतल्दै एमाले
सत्तारुढ नेकपा एमालेले नेपाली काँग्रेससँगको सत्ता सहकार्यको औचित्य, आवश्यकता र त्यसले सिर्जना गरेका अवसरहरुका बारेमा केन्द्रीय समिति बैठकमा छलफल गर्ने भएको छ ।
दुई ठूला पार्टी मिलेर सरकार बनाउनुको आवश्यकता र सरकारको छ महिने कार्यकालको समीक्षासहितको राजनीतिक प्रतिवेदन एमालेले आगामी आइतबारदेखि शुरु हुने केन्द्रीय समिति बैठकमा पेश गर्न लागेको हो । काँग्रेस-एमाले सत्ता सहकार्य र सरकारको काम कारवाहीबारे प्रतिवेदनमा उल्लेख गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
आज बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै उनले भने, 'बैठकमा मुख्यतः पुस २१ र २२ गते दुई दिन बस्ने केन्द्रीय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरुमा छलफल गरेका छौँ । सचिवालयले त्यो बैठक अध्यक्षको तर्फबाट तयार गरिएको प्रतिवेदन बैठकसमक्ष प्रश्तुत गर्ने निर्णय गरेको छ ।'
प्रतिवेदनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिको विश्लेषण गर्नुका साथै सरकारले ६ महिनामा गरेका उपलब्धि समेटिएको ज्ञवालीले बताए ।
'यो नयाँ सरकार बनेपछि बस्न लागिरहेको पहिलो बैठक बसिरहेको हुनाले नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा किन नयाँ सहकार्य शुरु गर्नुपर्यो । यसको औचित्य, त्यसको आवश्यकता र यसले सिर्जना गरेका अवसरहरु के हुन् ? त्यसको विषयमा चर्चा गरेका छौँ', उनले भने, 'सरकार गठन यतापट्टीको ६ महिनाको समीक्षा गरिएको छ । त्यसमा सरकारले केही महत्वपूर्ण उपलब्धिहरु हाँसिल गरेको, केही महत्वपूर्ण कामहरु भएको छ ।'
पछिल्लो समय अराजकता बढ्दै गएको र मुलुकलाई अस्थिरतातर्फ धकेल्न प्रयास भएको सन्दर्भमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे प्रतिवेदनमा उल्लेख भएको ज्ञवालीले जानकारी दिए ।
टिप्पणीहरू