‘प्रचण्डको अभिव्यक्ति अस्थिरताको दुराशय र सत्तालिप्साको कुरुप तस्बिर’

‘प्रचण्डको अभिव्यक्ति अस्थिरताको दुराशय र सत्तालिप्साको कुरुप तस्बिर’

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जारी केन्द्रीय समितिको बैठकमा प्रतिपक्ष दलहरुप्रति चर्को आक्रोश पोख्नुभएको छ । उहाँले पेश गर्नुभएको ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा खासगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सामाजिक अभियन्ता तथा राजावादी दुर्गा प्रसाईँमाथि कडा प्रहार गरिएको छ । 

माओवादी अध्यक्ष प्रचण्डको प्रवृत्तिकै कारण एमालेले नेपाली काँग्रेससँग मिलेर नयाँ सत्ता समीकरण बनाउनु परेको प्रधानमन्त्री ओलीको जिकिर छ । उहाँले भन्नुभएको छ, ‘प्रचण्डमा हावी अवसरवाद, अस्थिर सोच, आडम्बर र दाउपेचको कारण राजनीतिक स्थायीत्व, सुशासन र विकास तथा जनतामा आशा र भरोसा जगाउने हाम्रो इमान्दार प्रयास सफल भएन ।’

प्रचण्डले आफ्नो प्रधानमन्त्री कार्यकालमा समाजिक सद्भावलाई बिथोल्ने र अतिवादलाई बढावा दिने काम गरेको पनि उहाँको आरोप छ । मुलुकको परिस्थिति प्रतिकूल बन्दै गएपछि फुरेको योजना सुनाउँदै थप्नुभएको छ, ‘राष्ट्रिय राजनीतिमा नयाँ हस्तक्षेप गर्नुपर्ने र परिस्थितिलाई सापेक्ष अनुकूलतामा फर्काउनुपर्ने आवश्यकता पैदा भयो ।’

‘आफूसँग संसदभित्र जादुयी नम्बर रहेको र त्यसलाई प्रयोग गर्दै पाँचै वर्ष सत्ता चलाउने’ भन्ने प्रचण्डको अभिव्यक्ति अस्थिरताको दुराशय र सत्तालिप्साको कुरुप तस्बिर भएको ओलीको विश्लेषण छ । 

प्रधानमन्त्री ओलीले रास्वपालाई ‘पपुलिज्म’को आधारमा उदाएको नैतिकहीन राजनीतिक दल भन्नुभएको छ । रास्वपा नेताहरुको गतिविधि झन् दयालाग्दो रहेको उहाँको बुझाई छ । ‘कतिपय दल र व्यक्तिहरुले चालु अनुसन्धान र अभियोजनलाई राजनीतिकरण गर्ने एवम् आफूहरुप्रतिको पूर्वाग्राह तथा प्रतिशोध करार गर्ने कोशिस गरिरहेका छन्’, ओलीले भन्नुभएको छ, ‘तर घटनाक्रमले त्यस्ता आरोपलाई मिथ्या प्रमाणित गरिसकेको अवस्था छ ।’

प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिवेदनमा विवादास्पद दुर्गा प्रसाईं पनि अटाएका छन् । मिति नै तोकेर राजा ल्याउने परिवर्तन विरोधीहरुको अराजकता देखेर सचेत बन्नुपर्ने बेला आएको ओलीको ठहर छ ।

 

टिप्पणीहरू