मधेशकी सचिव भ्रष्टाचारमा संलग्न
मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंह भ्रष्टाचारमा तानिएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित आठ जनाविरुद्ध आज मुद्दा दर्ता गरेको छ ।
मुद्दा चलाइएकामा मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ एवम् कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साह, कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल र अविनाशकुमार झा, पशु चिकित्सक रञ्जितकुमार अधिकारी, सहलेखापाल ब्रजेशकुमार साह, कृषि विकास निर्देशनालयका तत्कालीन कृषि अर्थविज्ञ विकासकुमार साह र युवरानी मत्स्य तथा कृषि फर्म सञ्चालक लक्ष्मीनारायण यादव छन् ।
आर्थिक वर्ष २०७९–०८० मा मन्त्रालयबाट सञ्चालित कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रममा उनीहरुको आपसी मिलेमतोमा करोडौं रकम भ्रष्टाचार भएको अख्तियारको ठहर छ । अख्तियारका अनुसार कानूनविपरीत युवरानी मत्स्य तथा कृषि फर्मलाई कार्यक्रममा सहभागी गराउनुका साथै सम्झौताअनुरुप कामै नगरी रकम भुक्तानी गरेको पाइएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम एक करोड रुपैयाँ बिगो मागदाबीसहित कैद र जरिवाना हुनपर्ने भन्दै आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
टिप्पणीहरू