मर्जरका लागि तयार एसबिआईका लगानीकर्तालाई झण्डै ११ प्रतिशत लाभांश

मर्जरका लागि तयार एसबिआईका लगानीकर्तालाई झण्डै ११ प्रतिशत लाभांश

नेपाल एसबिआई बैंकले लाभांश प्रस्ताव पारित गरेको छ । काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिर्स क्लबमा सम्पन्न बैंकको ३१ औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई लाभांशका लागि गरेको प्रस्ताव पारित भएको जनाएको छ । 

बैंकले गत आर्थिक वर्ष २०८०–०८१ को मुनाफाबाट शेयरधनीलाई ३ दशमलब ८० प्रतिशत बोनस शेयर र ६ दशमलब ८५ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसहित) गरी चुक्ता पुँजीमा जम्मा १० दशमलब ६५ प्रतिशतका दरले प्रस्ताव गरेको लाभांश पारित भएको हो ।  

साधारण सभाले बैंकको आव २०८०–८१ का लागि सञ्चालक समितिको प्रतिवेदन एवम् लेखा परीक्षकको प्रतिवेदनसहित वार्षिक आर्थिक विवरण, नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूची पनि पारित गरेको छ ।

यस्तै, बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि’ को आव २०८०–८१ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत भएको छ । योसँगै आव २०८१–८२ मा बैंकको लेखा परीक्षण गर्नका लागि मेशर्स पिकेएफ टिआर उपाध्याय एण्ड कम्पनी चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखा परीक्षकमा नियुक्त गरी पारिश्रमिक निर्धारण गरिएको छ । 

बैंकका अनुसार साधारण सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफामा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ । बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने–गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने–गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने–गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न–गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरिएको हो ।

टिप्पणीहरू