भुसको आगो बन्दै सिके राउत र श्रीमती सोनीको पारिवारिक लफडा
जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र पत्नी सोनी सिन्धु रानीबीचको घरायसी लफडा भुसको आगो सरह बनेको छ । भारत माइती भएकी सोनीले राउतमाथि घरेलु हिंसा गरेको, जथाभावी औषधि खान बाध्य पारेको, सम्बन्धविच्छेदका लागि बारम्बार दबाब दिएकोलगायतका आरोप लगाएकी छन् । गत भदौमा यी दम्पतीले प्रहरीसँग छुट्टा–छुट्टै सुरक्षासमेत मागेका थिए । राउतले प्रहरी प्रभाग इमाडोलमा निवेदन दिएका थिए, भने सोनीले सातदोबाटो प्रहरी वृत्तमा ।
यसैबीच राउतले हालै एक मिडियासँग श्रीमतीसँगको लफडाबारे लामै ‘रामकहानी’ सुनाएका छन् । १८ वर्षअघि बिबाह बन्धनमा बाँधिएको यो दम्पतीको सम्बन्धमा कसरी दरार सिर्जना भयो ? राउतको जवाफ छ– श्रीमतीको मानसिक समस्या ।
राउतका अनुसार सन् २००७ मा उनका हजुरबा बिरामी थिए । उनी चाहन्थे, आफू मर्नुअघि नातीले बिहे गरोस् । हजुरबाको इच्छाअनुसार परिवार र आफन्तले सोनीसँग बिबाह गराइदिएको राउत बताउँछन् । भन्छन्, ‘हतारमा बिहे भयो । उतिबेला उहाँ (सिन्धु)को पृष्ठभूमि र इतिहास सोधखोज गर्ने समय पनि थिएन ।’
बिहे भएको दुई–तीन दिनपछि राउत ससुराली (भारत) गएका थिए । त्यतिबेला ससुराले एकान्तमा भने, ‘नानी अलि हडबडाउँछ, कहिलेकाहिँ मानसिक रुपमा अनियन्त्रि हुन्छे, राम्रोसँग केयर गरेर राख्नुहोला ।’
त्यसपछि बल्ल सोनीको मानसिक अवस्थाबारे जानकारी पाएको राउतको दावी छ । ‘हाम्रोतिर कोही मानिसक समस्या भएकोलाई टाढा बिहे गरेर पठाउने पुरानो चलन छ, त्यसो भयो भने आफन्तलाई पनि बारम्बार तनाब हुने भएन । खासमा म चाहिँ त्यही चलनमा प्रयोग भएँ । बिहेअघि पनि उहाँ (सोनी) ले दुई पटक आत्महत्याको प्रयास गर्नुभएको रहेछ’, उनले सुनाए ।
माइतीबाट फर्केको दुई–चार दिनपछि एक साँझ खाना खान बोलाएका थिए, सोनीलाई । तर, उनी आइनन् । ‘त्यसपछि गएर हेरेको त डायरी लेख्दै हुनुहुँदो रहेछ’ राउत भन्छन्, ‘त्यहाँ मेरो बिहे मेरो इच्छाविपरित भएको हो, म खुशी छैन, मलाई घरभन्दा धेरै टाढा बिहे गरिदिएका छन् ...यस्तै कुराहरु थियो ।’
केही समय सँगै बसेपछि सोनीमा सकारात्मक विचार आउनसक्ने विश्वाससहित सँगै बेलायत लगेको पनि राउतले बताएका छन् । तर, झनक्क रिसाउने, अव्यवहारिक र अस्वभाविक कुरा गर्ने, कोठाभित्रै चोटपटक लाग्ने गतिविधिहरु गर्ने सिन्धुको बानी परिवर्तन नभएको उनको दुखेसो छ । ‘बेलायतमा उहाँलाई चेकअप गराए, मेन्टल डिसअर्डर भन्यो’, उनले भने ।
कतिपयले बच्चा भएपछि परिवर्तन आउनसक्ने अनुमानसमेत लगाए । ‘अरुले सुझाव दिएपछि मैले पनि होला कि भने र बच्चा भयो । तर उहाँमा कुनै परिवर्तन आएन । उल्टै बच्चाहरुको जीवनसमेत जोखिममा पर्यो’, राउत अघि थप्छन् ।
त्यसैबीच ०७९ सालमा राउत पत्नी सोनीसँगै ससुराली गए । ससुरासँग सल्लाह गरेर एक मनोपरामर्शदाताकोमा सोनीको उपचार शुरु गरियो । ‘त्यहाँ डाक्टरले नियमित प्रयोग गर्नुपर्ने भन्दै केही औषधि दिएका थिए, उहाँले त्यहीबाट औषधि खान थाल्नुभएको हो’, राउतले भनेका छन् ।
त्यसयता काठमाडौँको त्रिवि शिक्षण अस्पताल र पटनाको पारस हस्पिटलमा निरन्तर ‘फलो अप’ गरिएको थियो । गत बैशाखबाट भने सिन्धुले ‘औषधि नखाने’ अडान कसेपछि हालत बिग्रँदै गएको राउतको अनुभव छ ।
‘एकपटक मेरो बडिर्गाडले उहाँको हर्कत देखेर म्याडमलाई के भएको हो ? भनेर सोध्यो । त्यसपछि मैले उहाँलाई औषधी खाइरहनुभएको छ नि ? भनेर सोध्दा, खाको छैन, अब खाँदिन भन्नुभयो’, राउतले उक्त घटना स्मरण गरे । त्यसपछि माइतीले समेत औषधी निरन्तर प्रयोग गर्न सुझाव दिए पनि सोनीले नमानेको उनको भनाई छ ।
‘औषधि खान छाडेपछि उहाँको अवस्था झन् बिग्रिदै गएको हो । बेलाबेला स्ट्रोकजस्तो हुने । मुखबाट फिँज आउने । हात खुट्टा काम्ने । बेहोस् हुने । कहिले पेट्रोल मगाएर कोठामा आगो लगाउँछु भन्ने । कहिले घरको छतबाट हाम फाल्छु भन्ने । यो सबैदेखि म निरिह बनेको हुँ’, राउतले ‘दर्दनाक कहानी’ भन्दै भावना पोखेका छन् ।
अहिले सोनी बसेको घरमा दुई जना काम गर्ने मान्छे राखिदिएको उनले बताए । ‘तर उनीहरु अहिले पनि मलाई फोन गरेर म्याडमको अवस्था झन् बिग्रंदै छ उपचार गर्नुपर्यो सर भन्छन्, तर म अब चाहेर पनि उपचार गर्न असमर्थ छु’, उनले सुनाए ।
पछिल्लो समय नेपालमा महिलाले जे बोले पनि ‘सत्य हो’ भन्ने गलत भाष्य बन्दै गएकोमा राउतको विमति छ । कतिपयले पृष्ठभूमि नबुझेर आफूलाई दोषी करार गरेकोमा आपत्ति जनाउँदै भने, ‘मैले दायर गरेको फिराद पत्र र प्रहरीलाई दिएको निवेदन पूरै पढ्ने चेस्टा नगरेर हावा टिप्पणी गरिन्छ यहाँ । मैले निवेदनमा, श्रीमतीको कारण बच्चाहरुको जीवन पनि खतरामा परेको र प्रहरीकै संरक्षणमा उहाँको उपचार गर्ने व्यवस्था गरियोस् भनेर त माग गरेको हुँ । मैले समातेर जर्बजस्ती औषधि खुवाउने, उपचार गर्ने हो भने मलाई घरेलु हिंसाको आरोप लाग्छ फेरि ।’
महिलाले मिठो शब्दमा जति काल्पनिक कुरा बोले पनि त्यसलाई सत्य ठान्नु पछिल्लो समयको विकराल समस्या हो भन्छन् सिके राउत ।
टिप्पणीहरू