‘छोप्ने कुराहरु छोपेकै राम्रो’
महिलाहरु जुन ‘फेस’ सहित ग्ल्यामर्स क्षेत्रमा प्रवेश गरेका हुन्छन्, केही समयमा उनीहरुको फरक अवतार (रुप) देखिन्छ । चाहे पोशाकको मामलामा होस् वा अभिव्यक्ति तथा सार्वजनिक व्यवहारमा । ‘दर्शकको आँखामा पर्न बोल्ड हुनैपर्ने’ गलत मानसिकताबाट थुप्रै कलाकारहरु ग्रसित रहेको यथार्थ छर्लंगै छ ।
त्यसो त, केकी अधिकारी, मिरुना मगर, वर्षा राउतजस्ता कलाकारले अभिनयबाटै आफूलाई प्रमाणित गरेका छन् । तर, अधिकांश अभिनेत्री तथा मोडलहरुले भने फेशन र पहिरनलाई ज्यादा प्राथमिकता दिएको पाइन्छ । गाउँकी सामान्य युवती ग्ल्यामर्स क्षेत्रमा प्रवेश गरेपछि कसरी परिवर्तन हुँदै जान्छिन् ? उदाहरणसहित चर्चा गरौँ ।
सर्लाहीको सामान्य परिवारमा जन्मिएकी इष्टु कार्कीले तीन–चार वर्षअघिसम्म टिकटक, इन्स्टाग्राम र फेसबुकमा विज्ञापन भिडियोहरु पोस्ट गर्थिन् । सेलिब्रेटीको अनुहारमा अत्याधुनिक ग्राफिक्स डिजाइन गरिएका विज्ञापन हेर्दै आएका दर्शकले इस्टुको मौलिक शैलीलाई मन पराए । आम नागरिकको कथालाई विज्ञापनसँग जोडेर भिडियो बनाउने उनको कलाले प्रशंसा पायो । भिडियोमा उनी आफै फिचर्ड हुन्थिन् ।
विस्तारै इष्टुको भिडियोहरु भाइरल बन्दै गए । त्यसपछि म्युजिक भिडियो र केही टेलिसिरियलमा खेल्न थालिन् । ‘हल्का रमाइलो’ मा उनले निभाएको सोझी युवतीको भूमिका चर्चायोग्य छ । चर्चासँगै इष्टुको रहनसहन र पहिरनमा क्रमशः परिवर्तन आउँदै थियो । त्यसैबीच गत कात्तिकमा उनी इलामको माइपोखरी घुम्न गएकी थिइन् । त्यहाँबाट उनले केही फोटो तथा भिडियोहरु सार्वजनिक गरिन्, जहाँ उनी छोटो टपमा देखिएकी छन् ।
‘सोझी युवती’को अवतारमा देखिँदै आएकी इष्टु एकाएक ‘बोल्ड अवतार’मा देखिएपछि सञ्जालमा मसला बनिहाल्यो । भाइरल हुन त्यस्तो फोटो सार्वजनिक गरेको भन्दै धेरैले उनको आलोचना गरे । पृष्ठभूमिमा माइपोखरी राखेर खिचिएको फोटो र भिडियो देखेपछि समाजिक सञ्जाल प्रयोगकर्ता समिर बर्तौलाले भनेका थिए, ‘भाइरल बन्नको लागि यतिसम्म पनि नगरौँ । छोप्ने कुराहरु छोपेकै राम्रो । नारीको सुन्दरता नांगिनुमा हैन, शरिर ढाक्नुमा हुन्छ ।’
‘नाम होस्, बद्नाम होस् तर गुमनाम नहोस्’ भनेझैँ इष्टु झन् चर्चाको उत्कर्षमा पुगिन् । टपमा खिचिएको तस्बिरको व्यापक आलोचना भए पनि उनले त्यस प्रकारको फोटो राख्न छाडिनन् । बरु कही दिनअघि अन्नपूर्ण आधार शिविरमा खिचिएको त्यस्तै अर्को फोटो सार्वजनिक गर्दै नकारात्मक टिप्पणी गर्नेलाई कटाक्ष गरिन् ।
पृष्ठभूमिमा हिमाल राखेर निलो टपमा खिचिएको तस्बिर सार्वजनिक गर्दै उनले भनेकी छन्, ‘लु त, कति डराउनु हौ । फोटो खिच्न ठ्याक्कै १० मीनेट लाग्छ । १० मीनेटसम्म चिसो सहन सक्ने क्षमता मसँग रहेछ ।’
‘ग्ल्यामर्सको एल्गोरिदम नै यस्तै हो’
त्यसो त, इष्टुले कहाँ के कपडा लगाउने ? कस्तो फोटो÷भिडियो खिच्ने ? त्यो उनको नीजि मामिला हो । तर, उनी मनोरञ्जन क्षेत्रमा भएका कारण धेरैको कथालाई प्रतिनिधित्व गर्ने मोडलिङ एजेन्सीका सञ्चालक अमृतसिंह राणा बताउँछन् । उनका अनुसार ग्ल्यामर्स क्षेत्रमा भएका महिलाहरु बोल्ड हुनु स्वाभाविक हो ।
‘कलाकारितामा अभिनय चाहिन्छ, तर कलाकारहरुको सुन्दरता, फेशन, आवाजले पनि ठूलो अर्थ राख्छन्’, उनी भन्छन्, ‘अनि यो पनि सत्य हो कि दर्शकको ध्यान तान्ने वा आफूलाई चर्चा राख्न यो सजिलो माध्यम हो ।’
सामाजिक सञ्जालका डिजिटल प्ल्याटफर्महरुले महिलाहरुलाई ‘एक्सपोज’ हुन सजिलो भएको राणाको विश्लेषण छ । उनले थपे, ‘जो चर्चामा छ, जो हिट छ, उसले एक प्रकारको अडियन्स बनाइसकेको हुन्छ । जुन प्रकारको कन्टेनले अडियन्स तानिएका हुन्छन्, उनीहरुले पनि त्यस्तै थप कन्टेन खोज्छन् ।’
सञ्चालक राणाले कलाकारलाई चर्चामा छाइरहने बानी लागेपछि गुमनाम हुन मन नलाग्ने प्रवृति बढिरहेको पनि बताए ।
‘ग्ल्यामर्सको एल्गोरिदम नै यस्तै हो । मानौं एउटा मोडलले आफ्नो बोल्ड फोटो फेसबुकमा राखिन् । त्यो देख्ने सबैले गाली गरे । तर उनको चर्चा चाहिँ भएकै हुन्छ । त्यसपछि ती मोडल जति गाली खाए पनि बोल्ड फोटो राखिरहन्छिन् । किनकि, उनलाई थाहा हुन्छ– नाम होस्, बदनाम होस्, तर गुमनाम नहोस् ।’
टिप्पणीहरू