सहकारी पीडितको पक्षमा बहस गरेको भन्दै रास्वपा कार्यकर्ताले वकिल कुटे

सहकारी पीडितको पक्षमा बहस गरेको भन्दै रास्वपा कार्यकर्ताले वकिल कुटे
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेका छन् ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी पीडितका तर्फबाट बहस गरेर फर्किने क्रममा उनी अदालत परिसरमै कुटिएका हुन् । रास्वपा कार्यकर्ताले अश्लिल गालीगलौज गर्दै आफूलाई भुँइमा पछारेर घाइते बनाएको त्रिपाठीले बताए । 

'म बहस सकेर बाहिर निस्कँदै थिएँ, एक्कासी आएर लछारपछार गर्दै भुइँमा लडाए', उनले जनआस्थासँग भने, 'दुई-तीन जनाले मुक्काले ढाडमा पनि हाने । झोला तानेर फ्याँक्ने प्रयास गरे ।’ 

आफूमाथि आक्रमण गर्नेहरुको पहिचान भैसकेको तर नाम भने थाहा नभएको त्रिपाठीले बताए । 

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानेको थुनछेक बहस सकिएसँगै ठूलो संख्यामा उनका कार्यकर्ता अदालत परिसरमा जम्मा भएका छन् । न्यायाधीश माधव अधिकारीको इजलासमा सुनुवाई भएको उक्त मुद्दामा आजै आदेश आउने छ । 

अहिले न्यायाधीश अधिकारीले आफ्नो च्याम्बरको ढोका थुनेर आदेश टाइप गराउँदै छन् ।

टिप्पणीहरू