उपभोक्ता भन्छन् : ग्यास अभाव, आपूर्ति भइरहेको निगमको दाबी
आपूर्तिमा समस्या सिर्जना हुँदा खाना पकाउने एलपी ग्यासको अभाव बढेको छ । हिमाल, सूर्य, नेपाल, एचपी, त्रिवेणी, राजधानी, ओम, आरती, सगरमाथा, एभरेष्ट, तारा, त्रिशुल, मारुतीलगायत विभिन्न ब्राण्डका ग्यासको बजारमा अभाव रहेको बताइन्छ ।
ग्यास अभावसँगै आम उपभोक्ता मर्कामा पर्ने अवस्था छ । ग्यास पाउनै मुश्किल हुँदै गएको सर्वसाधारणको गुनासो छ । उपभोक्ता अन्जना न्यौपाने बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव रहेको बताइन् । भन्छिन्, ‘कुनै पनि ग्यास पसलमा तुरुन्तै ग्यास पाइँदैन । एक सिलिण्डरको लागि एक–दुई सातासम्म कुर्नुपर्ने अवस्था छ ।’
अर्का उपभोक्ता सञ्जय कार्की एलपी ग्यास पाउनै छाडेको बताउँछन् । केही दिनयता बजारमा ग्यास अभाव धेरै देखिएकाले कृत्रिम अभाव सिर्जना गरिएको हो कि वास्तविक हो ? भन्दै अनुगमन गर्न सरोकारवालाको ध्यानाकर्षण गराए । ‘जुनै पसलमा जाँदा पनि ग्यास छैन मात्र भन्छन् । फेरि भारतले ग्यास रोकेको पनि सुनिँदैन । साँच्चिकै ग्यास नभएकै हो कि कृत्रिम अभाव सिर्जना गरिएको हो ? यसबारे सम्बन्धित निकायहरुको ध्यान जाओस्,’ उनले भने ।
ग्यास बिक्रेता महासंघ भन्छ, ‘उद्योगमै ग्यास छैन, डिलर नै बन्द गर्नुपर्ने अवस्था आयो’
ग्यास बिक्रेताहरुको छाता संगठन नेपाल ग्यास बिक्रेता महासंघले उद्योगमै ग्यासको अभाव भएको बताएको छ । महासंघका अध्यक्ष चन्द्रबहादुर थापा कतिपय कम्पनीको ग्यास आपूर्ति नै ठप्प भएको बताउँछन् । उनले भने, ‘दशैँदेखि नै समस्या सिर्जना भएको हो । अहिले झनै बढेको छ । उद्योगमै ग्यास छैन । उद्योगले ग्यास दिए त हामीले बिक्री गर्ने हो । तर, उद्योगमै ग्यास नभएपछि डिलर नै बन्द गरेर हिँड्नुपर्ने अवस्था आएको छ ।’
बजारमा उपभोक्ताको मागबमोजिम ग्यास नआएको बताउँदै उनले थपे, ‘यस विषयमा हामीले आयल निगम र एलपी ग्यास उद्योग संघको पटकपटक ध्यानाकर्षण गराइसक्यो । तर, कसैले पनि गम्भीर रुपमा लिएका छैनन् । जसले आम उपभोक्ता मर्कामा परेका छन् ।’ अध्यक्ष थापाका अनुसार अहिले बजारमा मागको आधामात्र ग्याँस आपूर्ति भइरहेको छ ।
ग्यास अभावबारे आयल निगमले चाँडै पहली कदम नचाले समस्या थप जटिल बन्न सक्ने उनको ठहर छ । ‘पहिले दैनिक तीन–चार हजार टन ग्यास बेच्ने कम्पनीमै अहिले १५ सयदेखि बढीमा २ हजार मात्र आइरहेको छ । यसबारे हामीले निगमलाई पहिले खबर पनि गरेका हौं । तर, निगम गम्भीर भएन । अब पनि निगम गम्भीर नभएमा समस्या थप जटिल हुन सक्छ ।’
महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका नेपाल ग्यासका बिक्रेता विष्णुप्रसाद दुलाल पनि बजारमा ग्यास अभाव बढेको बताउँछन् । उनका अनुसार आपूर्तिमै समस्या सिर्जना भएको हो । मागबमोजिम बजारमा पर्याप्त ग्यास नभएकोले एउटा उपभोक्ताले कम्तीमा एक हप्तासम्म कुर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् ।
‘ग्याँस पर्याप्त छैन । लोडिङमै समस्या भएकोजस्तो मलाई लाग्छ । हामीले निगमलाई पनि भनेकै हौं तर निगम नै गम्भीर नभएपछि के गर्नु,’ उनले भने, ‘अहिले एउटा उपभोक्ताले कम्तीमा पाँच–सात दिन कुर्नुपर्ने अवस्था छ । तर, हामीले एउटा मात्र सिलिण्डर भएका उपभोक्ताहरुलाई आवश्यकताअनुसार दिइरहेका छौं ।’
कोटा निर्धारण नगर्दा समस्या
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे ग्यासको माग दिनानु दिन बढेपनि आयल निगमले सिलिण्डरको कोटा निर्धारण नगरिदिँदा समस्या सिर्जना भएको बताउँछन् । जसअनुसार वार्षिक रुपमा कुन उद्योगले कति सिलिण्डर थप्यो ? भन्ने आधारमा त्यसको तीन भागको एक भाग कोटा थप गर्ने व्यवस्था छ । यद्यपि, निगमले विगत दुई वर्षदेखि कोटा निर्धारण कार्य रोकेकोले ग्यासको अभाव भएको उनको ठहर छ ।
‘एक वर्षअघि एक करोड सिलिण्डर थियो । र, एक वर्षपछि डेढ करोड पुग्यो । अब एक करोड बराबर ग्यास दिएर मात्र त पुग्दैन नि,’ अध्यक्ष घिमिरेले भने, ‘निगमलाई सिलिण्डरको कोटा थप गरिदिन हामीले पटकपटक भनिसक्यौं । तर, निगमले चासो दिएको छैन ।’ अर्कोतर्फ, जाडोयाममा ग्याँसको माग गर्मी मौसमको तुलनामा बढ्ने तर अहिले लोडिङमै समस्या हुँदा बजारमा मागबमोजिम पर्याप्त ग्यास उपलब्ध हुन नसकेको उनको भनाइ छ ।
निगम भन्छ : नियमित आपूर्ति भइरहेको छ
उद्योगी तथा बिक्रेताहरुले आपूर्तिमा समस्या हुँदा ग्यास अभाव भएको बताइरहँदा नेपाल आयल निगमले भने नियमित रुपमा ग्यासको आपूर्ति भइरहेको दाबी गरेको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुर ग्यासको नियमित रुपमा आपूर्ति भइरहेको र कुनै अभाव नरहेको दाबी गर्छन् ।
‘हामीले नियमित रुपमा ग्यास आपूर्ति गरिरहेका छौं । ग्यासको अभाव छैन,’ उनले भने, ‘हामी कहाँ मासिक ४५ हजार मेट्रिक टन ग्यास खपत हुन्छ । तर, अहिले ४६–४७ टन मेट्रिक टन ग्यास आइसकेको छ । त्यसैले, ग्यासको अभाव रहेको भन्न मिल्दैन ।’
बजारमा ग्यासको अभाव भयो भन्नेबित्तिकै एउटै व्यक्तिले एकसाथ चार–पाँच वटासम्म सिलिण्डर भर्ने गरिएकोले पनि समस्या सिर्जना भएको हुनसक्ने उनको जिकिर छ । ‘अभाव नै नरहेपनि हल्ला फैलाउने चलन छ । अनि हल्लाकै पछि लागेर एउटै व्यक्तिले चार–पाँच वटा सिलिण्डर एकसाथ लैजान्छन् । जसले गर्दा पनि समस्या भएको हो,’ प्रवक्ता ठाकुरले भने ।
जाडोयाममा विश्वभर ग्यास र बिजुलीको माग बढ्ने गर्छ । तर, नेपालले भारतबाट ग्यास आयात गर्ने हुँदा यतिबेला त्यता पनि ग्यासको माग बढ्ने र भारतमा नेपाली डिलर नभएकाले आपूर्तिमा केही समस्या भने भइरहेको उनी स्वीकार्छन् । ‘भारतमा नेपाली डिलर छैन । यो बेला त्यहाँ पनि ग्यासको माग बढ्ने भएकाले त्यहाँको माग पूरा गरेर यहाँ पठाइन्छ,’ उनले भने, ‘अहिले ट्रान्सफर्मर (आपूर्तिकर्ता) को समस्या भएपनि ग्यासको अभाव भने छैन ।’
प्रवक्ता ठाकुरले ग्याँस अभावबारे निगमले अनुगमन गर्ने जानकारी गराउँदै कृत्रिम अभाव सिर्जना गराएको पाइएमा कारबाही गर्ने समेत बताए । ‘अहिले पनि हाम्रो अनुगमन टोलीले नियमित अनुगमन गरिरहेको छ । तर, हाल सुनिएको गुनासोबारे हामी अनुगमनलाई तीव्र पार्ने छौं । अनुगमनको क्रममा कोही कसैले ग्याँसको कृत्रिम अभाव गराएको पाइएमा कारबाही गछौं,’ उनले भने ।
कति ग्यास खपत हुन्छ ?
आयल निगमले २०७८ सालमा गरेको ग्यास सिलिण्डर प्रमाणीकरणअनुसार मुलुकभर एक करोड ४४ लाख सिलिण्डर छन् । पछिल्लो समय सिलिण्डर थपिँदै गएका छन् । तर, ती सिलिण्डरको अवस्थाबारे नियामक निकायले त्यति चासो दिएको देखिँदैन ।
यता, मुलुकमा गर्मीभन्दा जाडो महिनामा ग्यासको खपत बढी हुने गरेको छ । जाडो महिनामा ग्यासको खपत ३० प्रतिशतसम्म बढ्ने गरेको बताइन्छ । हाल देशभर ५९ वटा ग्यास उद्योग छन् । ती उद्योगका लागि निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको पीडीओ जारी गर्दै आएको छ ।
आयल निगमको तथ्याङ्क हेर्ने हो भने नेपालमा वार्षिक साढे चार लाखदेखि पाँच लाख मेट्रिक टनसम्म ग्याँस खपत भएको पाइन्छ । पछिल्लो समय एलपीजी ग्यासको खपत बढेसँगै आयात पनि बढेको निगमको तथ्याङ्कले पुष्टि गर्दछ ।
तथ्याङ्कअनुसार मुलुकमा विगत १० वर्षको अवधिमा ग्यासको खपत र आयात साढे दुई लाखले बढेको देखिन्छ । आर्थिक वर्ष २०७१–०७१ मा वार्षिक दुई लाख ५८ हजार २९९ मेट्रिक टन ग्यास आयात भएकोमा गत वर्ष देशभर पाँच लाख २४ हजार २७४ मेट्रिक टन ग्यास खपत भएको निगमको तथ्याङ्क छ ।
त्यस्तै, पछिल्लो चार वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७६–०७७ मा चार लाख ४९ हजार ६३, ०७७–०७८ मा चार लाख ७७ हजार ७५२, ०७८–०७९ मा पाँच लाख ३६ हजार २८ र ०७९–०८० मा पाँच लाख १४ हजार ७१४ मेट्रिक टन ग्यास आयात भएको पाइन्छ ।
टिप्पणीहरू