विभिन्न प्रलोभनमा फसाइएका सरकारी कर्मचारीदेखि सर्वसाधारणको बैंक खाता रित्तै

विभिन्न प्रलोभनमा फसाइएका सरकारी कर्मचारीदेखि सर्वसाधारणको बैंक खाता रित्तै

बैंक तथा वित्तीय संस्थाको प्रतिनिधि बोलेको भन्दै सरकारी कर्मचारीदेखि सर्वसाधारणलाई फोन, म्यासेजबाट ठगी गर्ने क्रम बढेपछि प्रहरीले सचेत गराएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सम्बन्धित संस्थाको लोगो समेत दुरुपयोग गरेर सामाजिक सञ्जालका विभिन्न माध्यमबाट ठगी गर्ने क्रम बढेकाले सचेत रहन आग्रह गरेको छ ।

‘केही दिनयता सामाजिक सञ्जालहरु फेसबुक, इन्ट्राग्राम, टेलिग्राम, ह्वाट्सएप, मेसेन्जर, भाइबर, इमोलगायत सोसल प्लेटफर्म तथा इसेवा, खल्तीजस्ता वालेट तथा बैंक वित्तिय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरुबाट फोन वा म्यासेज गरी नेपाल सरकारका कर्मचारी तथा आम सर्वसाधारणहरुलाई समेत धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी हुने गरेका घटनाहरु बढिरहेको छ,’ सूचनामा उल्लेख छ । 

प्रहरीका अनुसार सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति बोलेको दाबी गर्दै ओटीपी नम्बर माग्ने वा वालेटमा भएको पैसा बैंक खातामा ट्रान्सफर गर्न लगाइन्छ । त्यस्तै, सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने मेसेज, लिंक पठाउने र उक्त लिंक खोल्नेबित्तिकै पासवोर्डमा पहुँच पुर्याएर रकम ठग्ने गरिएको प्रहरीको भनाइ छ । 

‘अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरु खोली सामानको आकर्षक फोटो, भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न क्युआर र बैंक खातामा रकम माग गर्ने रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन भई ठगी गर्ने,’ प्रहरीले भनेको छ । 

यस्ता कार्यमा हालसम्म पाँच सयभन्दा बढी संदिग्ध फोन नम्बरहरु सक्रिय भएको पाइएको जानकारी दिँदै प्रहरीले अपरिचित नम्बरबाट आएका फोन तथा म्यासेजहरु नउठाउन, रिप्लाई नगर्न अनुरोध गरेको छ ।

टिप्पणीहरू