१० करोड ऋण देखाएका छविले कहाँबाट ल्याए फिल्म बनाउने पैसा ?
आफ्नो घर पूर्व पत्नीलाई दिएर भाडाको फ्ल्याटमा बसेको भनिएका फिल्म निर्माता छविराज ओझा ‘मंगलम २’ को प्रोजेक्टमा व्यस्त छन् । चलचित्रको कथा, संवाद, छायांकनस्थलदेखि कलाकारको लाइन-अप तयार गर्ने जिम्मेवारी उनकै काँधमा छ । निकटस्थहरुका अनुसार छविले यस चलचित्रबाट नयाँ अनुहार (हिरोइन)लाई डेब्यु गराउँदै छन् ।
पूर्व पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले अदालतमा माना-चामलको मुद्धा दायर गर्दै आधा सम्पति माग गर्दा छविले १० करोड ऋणमा डुबेको बताएका थिए । यद्यपि, अलग भइसकेपछि शिल्पाले १० करोड नभई दुई-तीन करोड मात्र ऋण भएको दावी गरेकी छन् ।
चलचित्र वृतमा कुनै बेला ‘बाघ निर्माता’ भनेर चिनिने छवि अहिले आर्थिक रुपले संकटमा परेकाे कतिपयकाे अनुमान छ । यस्ताे अवस्थामा उनले नयाँ चलचित्र बनाउने पैसाचाहिँ कहाँबाट ल्याए होलान् ? भित्री कुरो खोज्दै जाँदा जोडिन्छन्, व्यवसायीक समूह गुणका अध्यक्ष राजेन्द्र शाक्य ।
खासमा फिल्म निर्माता छवि भनिए पनि असली लगानीकर्ता चाहिँ शाक्य रहेको बुझिएको छ । उनले छविलाई ‘ढुक्क भएर चलचित्र बनाऊ, पैसाको चिन्ता नगर’ भनेको स्रोतको दावी छ । त्यसैमाथि शाक्य स्वयं पनि चलचित्रप्रेमी हुन् ।
सामान्यतया: एउटा फिल्म बनाउन न्यूनतम तीन करोड चाहिन्छ । यद्यपि, अहिले यो बजेट पनि निकै कम भइसकेको छ । हाल छायांकन भइरहेको ‘बलिदान’मा निर्माता तथा निर्देशक सन्तोस सेनले ७ करोड लगानी गरेको बताइन्छ । यसअघि ‘शाम्बाला’मा झण्डै ११ करोड खर्च भएको चर्चा थियो ।
यहीक्रममा अब छविले कस्तो चलचित्र बनाउँछन् ? त्यो पछि नै थाहा होला । तर, नेपाली चलचित्रमा नाफा-नोक्सानीको वर्तमान बजारलाई आधार मान्ने हो भने छविले ‘मंगलम २’ मा चार करोड हारहारी खर्च गर्ने अनुमान छ । त्यसमा, चलचित्रको प्रचार प्रसार र क्याम्पिंग खर्च जोड्दा अझै धेरै पुग्नसक्ने बताइएको छ ।
रोचक के छ भने, पछिल्लो समय चलचित्रमा लगानी गर्ने उद्योगीहरुको संख्या बढिरहेको देखिन्छ । हिजो मात्रै शेखर गोल्छाले चलचित्र ‘परान’मा लगानी गर्ने घोषणा गरेका थिए ।
टिप्पणीहरू