नक्कली सर्टिफिकेट देखाएर बढुवा खानेमाथि अख्तियारको नजर

नक्कली सर्टिफिकेट देखाएर बढुवा खानेमाथि अख्तियारको नजर

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत प्रशासनतर्फका वरिष्ठ सहायक कमला अधिकारीविरुद्ध किर्ते कसुरमा मुद्दा दायर भएको छ । 

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा बढुवा लिएको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो । प्रमाणपत्र तहको नक्कली सर्टिफिकेट पेश गरेर अधिकारी वरिष्ठ सहायक पदमा पदोन्नति भएको अख्तियारको ठहर छ । 

‘उनीउपर परेको उजुरीउपर अनुसन्धान हुँदा निजले प्रशासनतर्फ वरिष्ठ सहायक पदमा बढुवा प्रयोजनका लागि प्रमाणपत्र तहको झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदोन्नति भएको पाइएको...’, अख्तियारद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

अख्तियारको अभियोग पत्रमा अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी लिइएको छ ।

टिप्पणीहरू