आवासीय चिकित्सकका समस्या समाधानमा जोड

आवासीय चिकित्सकका समस्या समाधानमा जोड

राष्ट्रिय चिकित्सक संघले आवासीय चिकित्सकका समस्या समाधान हुने गरी नयाँ व्यवस्था गर्न माग गरेको छ । आवासीय चिकित्सकहरुको निर्वाह भत्ता र अध्ययन शुल्कबारे हुन लागेको नयाँ व्यवस्थाप्रति ध्यानाकर्षण जनाउँदै संघले यस्तो माग गरेको हो । 

आवासीय चिकित्सकका समस्या समाधान गर्न सरोकारवालाको रायबमोजिम चिकित्सा शिक्षा आयोगले नियमावली वा कार्यविधि बनाएर अविलम्ब लागू गर्नुपर्ने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आवासीय चिकित्सकमाथि हुँदै आएको शोषणको दीर्घकालीन अन्त्य गर्न नयाँ प्रावधान ल्याइनुपर्ने संघको ठहर छ । 

‘आवासीय चिकित्सकलाई अत्यन्तै अवैज्ञानिक तवरले काममा लगाइनु, दैनिक ड्युटी आवरको निर्क्यौल नगरिनु, सार्वजनिक र अन्य सहुलियत बिदाका सवालहरुमा मौन रहनु, निर्वाह भत्ताको यथोचित रेखाङ्कन नहुनु र अध्ययन शुल्कको वैज्ञानिक मानंक स्थापित गर्न नसक्नुले हाम्रो देशको चिकित्सा शिक्षा खस्कँदै गएको र विश्व समाजको दृष्टिमा समेत आलोच्य भएकोले यी सबै सवालहरुको समाधान लागू हुन गएको नयाँ व्यवस्थामा समावेश हुनैपर्छ,’ विज्ञप्तिमा उल्लेख छ । 

नयाँ व्यवस्थामा निजी स्तरबाट सञ्चालित कलेजमा निःशुल्क अध्ययन, सरकारी सेवासरह निर्वाह भत्ता र दुई वर्षको सरकारी तलब स्केल र भत्तासहितको सोही संस्थामा अनिवार्य काम दिनुपर्ने विषय समेट्न माग गरिएको छ । यस्तै, स्वास्थ्य मन्त्रालयअन्तर्गत बनेका दुई भिन्न समितिले सुझाएअनुरुप चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क तिरेर अध्ययन गर्न र तीन वर्ष आवासीय चिकित्सक भएर काम गरेबापत सरकारी सेवामा प्राप्त हुने निर्वाह भत्ता पाउनुपर्ने पनि संघले उल्लेख गरेको छ । 

संघले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका र भविष्यमा लागू गर्न चाहने मेडिकल कलेजले अनिवार्य रुपमा यी निर्वाह भत्ता र अध्ययन शुल्कको नियम मान्नुपर्ने शर्त समेत राखेको छ । निजी मेडिकल कलेजले श्रम ऐनबमोजिम काम लगाउन पाउने, अवकाश कोष र उपदानको व्यवस्था गर्नुपर्ने, निजी र सरकारी दुवै सेवा अवधिमा थप अध्ययन गर्ने मौका पाए कुनै किसिमको बाधा नपर्ने, प्रसुति र क्रिया बिदा दिनुपर्नेलगायत व्यवस्था गर्नुपर्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

टिप्पणीहरू