दरबारका तक्माहरु क–कसले पारे दम्पच ?

दरबारका तक्माहरु क–कसले पारे दम्पच ?
सुन्नुहोस्

राजपरिवारको नाममा रहेका करोडौं मूल्य पर्ने सयौं तक्मा अहिले कहाँ र कुन हालतमा होलान् ? सग्लै छन् कि कर्मचारीले मिलेर बेचिसके ? यसबारे सरकारी निकाय नै अनभिज्ञ छ ।

राजदरबारको नाममा रहेका जग्गा नेपाल ट्रष्टले हेर्दै आएको छ । ट्रष्टसँग यी तक्मा र विभूषणका विवरण हुने कुरै भएन । गृह मन्त्रालयमातहत विभुषण शाखा छ, त्यहाँ कार्यरत एक कर्मचारीका अनुसार २०६४ सालमा व्यवस्थापिका संसद्ले ऐन बनाएपछि बुझ्न बाँकी २८४ तक्मा मात्र गृहसँग छ । पुरातत्व विभागसँग पनि यी तक्मा छैनन् । त्यसो हो भने करोडौं मूल्य पर्ने सुन, हिरा, मोतीजडित हजारौं संख्याका यी र यस्ता सम्पत्ति कहाँ र कुन हालतमा होलान् ? 

जनआस्थाले सोधखोज गर्दै जाँदा यी सामग्री संघ सरकार मातहतका कुनै कार्यालयसँग नरहेको र बाग्मती प्रदेश मातहतको एउटा कार्यालयले राखेको भेटियो । दरबारको नाममा रहेका जति पनि तक्मा छन्, पाटन औद्योगिक क्षेत्रभित्र रहेको उद्योग तथा वाणिज्य कार्यालयमा पोका पारेर राखिएको पाइएको छ । 

प्राप्त विवरणअनुसार राजपरिवारको नाममा रहेका १८९ थरी तक्माका हजारौं परिमाण ०७१ साल साउन १४ देखि पाटन औद्योगिक क्षेत्रभित्र राखिएका छन् । जसमा महेन्द्रमाला १ थान, नेपाल प्रताप भाष्कर २ सेट, नेपाल प्रताप भाष्कर स्वल्पाकार १० सेट, नेपाल प्रताप भाष्कर ५ थान, महागौरव तेजश्वी त्रिभुवन श्रीपद पहिला २ थान, महागौरव तेजश्वी त्रिभुवन श्रीपद पहिला स्वल्पकार ४ लगायत उक्त कार्यालयका नयाँ, पुराना र भाँचिएका दराजमा पोका पारेर राखिएको छ । 

अहिले कसैको चासोमा नपरेका यी महत्वपूर्ण तक्मामा जडित सुन, चाँदी र हिरा निकालेर नक्कली तक्मा बनाई स्टोरमा सिल गरेर राखिएको भन्दै अख्तियारसम्म उजुरी पुगेको छ । राजपरिषद्को नाममा रहेको २२ थान ब्रेचपीनको सक्कली तामाबाट सुन–चाँदी निकाली करोेडौंको सम्पत्ति हिनामिना गरिएको र यो प्रकरणमा कार्यालय प्रमुख, लेखा र स्टोरका कर्मचारीको मिलेमतो रहेको उजुरमार्फत् जिकिर गरिएको छ । 

अख्तियारले भने यो विषयलाई तामेलीमा राखेको छ । कार्यालयकै तल्लो तहका केही कर्मचारीका अनुसार २२ थान मात्र होइन धेरै तक्माबाट यसैगरी सुन, हिरा निकालेर हिनामिना गरिएको छ । सिल गरिएका ती तक्माबाट १५ करोडभन्दा बढीको सुन निकालेर गोलमाल गरिएको कार्यालयका कर्मचारीले बताए ।

बाग्मती प्रदेशअन्तर्गत उद्योगका कर्मचारीको लागि यो कार्यालय भन्सारजस्तै हो । एक वर्षअघि उक्त कार्यालयको प्रमुख रहेका यादव आचार्यलाई त्रिपुरेश्वरतिर पठाएर उद्योगमन्त्री सुकमाया तामाङको नातेदार सन्तोष मोक्तानलाई कार्यालय प्रमुखमा खटाइएको छ । २१ कर्मचारीको दरबन्दी रहेको उक्त कार्यालयले अहिले विभूषण तथा तक्मा निर्माणको काम गरिरहेको छ । सुनको तक्मा बनाउँदा झण्डै २ प्रतिशत अर्थात् २५ ग्राम हिनामिना हुँदै आएको बताइन्छ । बिल २४ क्यारेटको बनाएर २२ क्यारेटको सुन हाल्ने काम त्यहीँ हुने गरेको कर्मचारीहरु जिकिर गर्छन् । 

विभुषणमा सुन, हिरा र चाँदीजडित हुन्छन् । सबैभन्दा उपल्लो पदक मानिने ‘नेपाल रत्न’ बनाउन करिब ४० लाख रुपैयाँ लाग्ने गृहका अधिकारीले बताए । सरकारले २०६८, २०७२, २०७४ मा तक्मा वितरण रोकेको थियो । अघिल्लो पटक नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा ०८० र २०८१ सालमा विभूषण वितरण गरिएन । यस वर्ष भने प्रक्रिया फेरि अगाडि बढाइएको छ । 
 

टिप्पणीहरू