भुइँ मान्छेहरूका पक्षमा लेख्न चाकरीमै रमाउने ?

भुइँ मान्छेहरूका पक्षमा लेख्न चाकरीमै रमाउने ?
सुन्नुहोस्

सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारलाई संगठित गर्ने, उनीहरूको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनको पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्नेलगायत प्रमुख उद्देश्य राखेर ०६१ पुसमा रोल्पाको इरिबाङमा युद्ध पत्रकारको रूपमा क्रियाशील जनपक्षीयहरूको राष्ट्रिय भेला आयोजना भएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलाले जनपक्षीय पत्रकारितालाई आन्दोलनात्मक ढंगले अघि लैजाने निर्णय गर्दै क्रान्तिकारी पत्रकारहरूको अलग्गै संगठन निर्माण गर्नुपर्ने आवश्यकता बोध गर्‍यो ।

सो भेलालगत्तै माघ १५ गते रुकुमको लाबाङमा महेश्वर दाहालको संयोजकत्वमा २१ सदस्यीय अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ, नेपाल आयोजक समिति स्थापना भएको थियो । स्थापनापछि संघले जनताको आन्दोलनका पक्षमा जनयुद्धको एक सशक्त मोर्चाको भूमिका निर्वाह गर्‍यो । जसमा एउटा हातमा कलम र अर्को हातमा बन्दुक बोकेर युद्धको मैदानमा लड्दै गरेका युद्ध संवाददाताहरूको सहभागिता थियो ।

०६२/६३ को दोस्रो जनआन्दोलनपश्चात् शान्ति प्रक्रियामार्फत देशको राजनीति नयाँ बाटोमा अघि बढेपछि ०६३ फागुन २९ र ३० गते संघको काठमाडौंमा प्रथम राष्ट्रिय भेला सम्पन्न भयो । भेलाले संगठनको नाम अखिल नेपाल क्रान्तिकारी पत्रकार संघबाट परिमार्जित गरेर ‘क्रान्तिकारी पत्रकार संघ’ बनायो । सो भेलाले संघको विधान र प्रतिवेदन पारित गर्नुका साथै महेश्वर दाहालको नेतृत्वमा ३३ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । ०६७ फागुन १७ गते क्रान्तिकारी पत्रकार संघको केन्द्रीय एकता भेला सम्पन्न भयो । भेलाले संगठनको विधान संशोधन गर्नुका साथै १०१ सदस्यीय दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको थियो । ०७३ जेठ १९ गते क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघसहित विभिन्न संगठन र व्यक्तिगत ढंगलेसमेत अलग अवस्थामा रहेका क्रान्तिकारी पत्रकारहरूको राष्ट्रिय एकता भेला बस्यो । भेलाले एकीकृत संगठनको नाम प्रेस सेन्टर राख्ने निर्णय गरेको थियो ।

अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार संघ र महासंघको निरन्तरतामै प्रेस सेन्टर नेपाल बनेको हो । उक्त भेलाले गोविन्द आचार्यको संयोजकत्वमा ४९९ सदस्यीय राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्‍यो । भेलाले विधानलाई संघीय संरचनाबमोजिम संशोधन गर्‍यो । भेलापश्चात् सात वटा भौगोलिक प्रदेशमा अधिवेशनमार्फत प्रेस सेन्टर नेपालको निर्वाचित कार्यसमिति गठन भए । यो संगठन संघीयताअनुसार प्रादेशिक संरचनामा जाने पत्रकारहरूको पहिलो संगठन बन्यो । सोही भेलाबाट पारित विधानले राज्यको पुनःसंरचनालाई बलियो बनाउने गरी संगठनको संरचनालाई स्थानीय तहसम्म लैजाने महत्वपूर्ण निर्णय गर्‍यो । यस निर्णयबाट स्थानीय तहमा पत्रकारहरूको संगठन बनाउने पहिलो संगठन बन्यो । ०७३ असोज १३ र १४ गते काठमाडौंमा प्रेस सेन्टर नेपालको एकताको राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । संगठनका संयोजक गोविन्द आचार्यको अध्यक्षता र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा भएको एकता महाधिवेशनले महेश्वर दाहालको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय समिति चयन ग¥यो । उक्त महाधिवेशनलाई प्रेस सेन्टर नेपालको दोस्रो महाधिवेशन मानिएको छ ।

०७६ पुस १२ गते प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालबीच एकता भेला भयो । दुई संगठनको एकतापछि संगठनको नाम प्रेस संगठन नेपाल रह्यो । प्रथम राष्ट्रिय भेलाबाट प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालको संयोजकत्वमा २४९ सदस्यीय केन्द्रीय समिति र लेखा तथा अनुशासन आयोग गठन भयो । सहसंयोजकमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत थिए ।

उक्त भेलालाई प्रेस सेन्टर नेपालको तेस्रो महाधिवेशनको रूपमा लिइएको छ । संगठनको महाधिवेशन तयारीका सम्बन्धमा प्रेस संगठन नेपालको केन्द्रीय समितिको बैठक २०७८ असोज १६ गते काठमाडौंमा बस्यो । बैठकले केन्द्रीय समितिलाई चौथो महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्दै प्रेस संगठन नेपालको नामलाई परिवर्तित गरी पुनः प्रेस सेन्टर नेपाल रहने गरी अन्तरिम विधान पारित गर्‍यो । महेश्वर दाहालको संयोजकत्वमा आयोजक समिति गठन भयो ।

संगठनको चौथो महाधिवेशन २०७८ मंसिर १८ देखि १९ सम्म चितवनको भरतपुरमा सम्पन्न भयो । महाधिवेशनले विष्णु सापकोटा जुगलको नेतृत्वमा १ सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्‍यो । त्यसैगरी, २०७९ साउन १३ र १४ गते काठमाडौंमा सम्पन दोस्रो पूर्ण बैठकबाट महासचिवमा सन्तोष पौडेलसहित १ वरिष्ठ उपाध्यक्ष, १९ उपाध्यक्ष, १० उपमहासचिव, २६ सचिव, १ कोषाध्यक्ष र एक सहकोषाध्यक्ष रहेको ६१ सदस्यीय पदाधिकारी चयन भयो ।

यतिबेला प्रेस सेन्टर पाँचौँ राष्ट्रिय महाधिवेशनको संघारमा उभिएको छ आज । माघ १५ गते स्थापना दिवसको अवसरमा आयोजना गर्न मिति तोकिए पनि तयारी नपुगेको भन्दै चैतका लागि सारिएको संगठनका महासचिव सन्तोष पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । संगठनका केन्द्रीय अध्यक्ष यतिबेला राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको स्वकीय सचिवालयमा जागिर खान जाँदा महाधिवेशन निर्धारित मितिमा गर्न नसकिएको संगठनकै जिम्मेवार पदाधिकारीहरूले भन्ने गरेका छन् । हुन पनि अध्यक्ष जुगलले राष्ट्रिय सभाका अध्यक्षको स्वकीय सचिवालयमा जागिर खान गएको करिब एक वर्ष हुनै लाग्दा कार्यवाहक अध्यक्षको जिम्मेवारी कसैलाई पनि आधिकारिक रूपमा नतोक्दा, संगठनको प्रदेश र जिल्ला अधिवेशनहरू समयमै सम्पन्न हुन नसक्दा महाधिवेशनको मिति चैतका लागि धकेलिएको हो । अध्यक्षको यही रवैया रहिरहने हो भने चैतमा पनि महाधिवेशन हुने हो कि हैन अझै अनिश्चित छ । नेपाल पत्रकार महासंघको पटक–पटक मिति तोकेर पनि निर्वाचन हुन नसकेको रोग सेन्टरले पनि सिकेको भान सबैमा परेको छ ।

गौरवमय इतिहास बोकेको प्रेस सेन्टरका जिम्मेवार पदाधिकारी नै पत्रकारिता गर्नुभन्दा कुनै नेताको सचिवालयमा जागिरका लागि धाउने, अध्ययन नगर्ने, सुझावसहितको आलोचना नपचाउने, नेताको चाकरी–चाप्लुसीमै रमाइरहने, गुटबन्दी गर्ने, सहमतिका नाममा कुनै नेताको चाकरी, चाप्लुसी गरेर पद हत्याउने प्रवृत्ति प्रेस सेन्टरमा पछिल्लो समय मौलाएको छ । आन्तरिक लोकतन्त्र मर्दै गएको छ । विसंगतिविरुद्ध र सुधारका पक्षमा फरक मत राख्नेहरूलाई गलहत्याउने प्रवृत्ति वर्तमान नेतृत्व आएपछि फस्टाएको छ ।

त्यसैले समर्पणले भरिएको गौरवमय इतिहासको रक्षा गर्ने जिम्मेवारी हामीसामु छ । विजातीय प्रवृत्तिविरूद्ध निरन्तर संघर्ष गर्न, दबिएका र पीडित भएका भुइँमान्छेका पक्षमा लेख्ने र बोल्ने कलम झन् तिखार्न जरुरी छ । प्रविधिले निम्त्याएको चुनौतीपूर्ण वर्तमानको सामना गर्दै जनपक्षीय पत्रकारिताको नयाँ धार निर्माण गर्ने बेला आएको छ । अब उज्यालो भविष्यका लागि नयाँ कार्यशैलीको विकास गर्न र सूचना र प्रविधिमाथिको पुँजीवादी वर्चस्व अन्त्य गर्न पनि प्रेस सेन्टरको नयाँ नेतृत्व तयार भएर एजेण्डासहित मैदानमा आउनुपर्ने बेला भएको छ ।

टिप्पणीहरू