नेपाल आउलान् त जहाज खसाल्ने ड्रोन ?

नेपाल आउलान् त जहाज खसाल्ने ड्रोन ?
सुन्नुहोस्

राजनीतिक रूपमा नेपालसँग धेरै खुशी नभइरहेका बेला पनि भारतले यहाँ आफ्नो सामरिक उपस्थितिका लागि भने ठूलै प्रयत्न गरिरहेको पाइएको छ । समाचार स्रोतका अनुसार हालै सम्पन्न सेना प्रमुख अशोकराज सिग्देलको भारत भ्रमणका क्रममा उसले आफ्नो मुलुकबाट सैन्य प्रयोजनका लागि प्रयोग हुने ड्रोन खरिदका लागि निकै आकर्षक प्रस्ताव राखेको थियो । त्यहाँ भारतीय पक्षले बमवर्षक सैन्य विमानलाई तलमाथि पार्नसक्ने खालका ड्रोन खरिदका लागि हाम्रा सेनापतिलाई एउटा प्रस्तुतीकरणमार्फत कन्भिन्स पनि गर्न खोज्यो । त्यस्तो ड्रोनको फाइदा, त्यसको उपयोगिता र मूल्यसमेत सो प्रस्तुतिका क्रममा प्रष्ट पारिएको थियो । रक्षा मन्त्रालयसम्बद्ध एक उच्च अधिकारीका अनुसार सेनापतिले हाल नेपाललाई त्यसप्रकारको हतियार आवश्यक नरहेको र नेपालको अत्याधुनिक सैन्य उपकरण खरिद गर्ने आर्थिक क्षमतासमेत नरहेको बताएर आवश्यक परे सोचौंला भन्दै कुरा टारेका थिए । 

नेपालमा यसप्रकारका सामग्री प्रयोग गर्न सक्ने अवस्था रह्यो भने कुनै पनि बेला त्यो छिमेकीविरुद्ध परिचालन हुन सक्छ । त्यसैले पनि एउटा छिमेकीविरुद्ध मात्र प्रयोग हुन सक्ने हतियार अर्कोतिरबाट ल्याउनु सैन्य कूटनीतिका हिसाबले पनि ठीक नहुने निश्कर्ष रहेको बुझिएको छ । यसबारे टिप्पणी गर्दै एक उच्च अधिकारीले भने, ‘भारतबाट किनेको ड्रोन सञ्चालन गर्ने प्राविधिक क्षमता पनि हामीसँग छैन । यसो गर्दा ड्रोन मात्र होइन त्यो चलाउने व्यक्तिसमेत माग्नुपर्ने हुन्छ । अनि परिहालेको अवस्थामा ऊविरुद्ध आफ्नै नागरिकले सो ड्रोन चलाउने सम्भावना नै हुँदैन । त्यसैले अर्को छिमेकी लक्ष्यित यस्तो हतियार किन्नु हुँदैन ।’ त्यति मात्रै होइन, त्यो ड्रोनको परीक्षण उडान नै गर्ने हो भने पनि प्रशिक्षकले उत्तरी सिमाना वा हिमाली भेगतिर नै गर्ने सम्भावना धेरै रहन्छ । त्यसले अन्तर्राष्ट्रिय रूपमा नेपाल छिमेकीविरुद्धको सैन्य तयारीमा गएको सन्देश प्रवाह हुन सक्छ । 

यसबीच नयाँ सेना प्रमुख अशोक सिग्देलप्रति शिष्टाचार देखाउनका लागि नेपालले कोरियाबाट खरिद गरेका के टु सिरिजका हतियार नेपाल ल्याउने प्रक्रियालाई भारतले सहज गरिदिने भएको छ । ती हतियार ४०% नेपाल भित्रिसकेका छन् भने लगभग ६० प्रतिशत रोकिएको अवस्था छ । त्यसैगरी चीनबाट आएका कतिपय सैन्य सामग्री पनि अड्किएकै छ । त्यसो त कोरियन ती हतियारमा केही समस्या आएको र प्राविधिक रूपमा कमजोर रहेको गुनासो हतियारसम्बन्धी जानकारहरूले गर्न थालेका छन् । ती हतियारको परीक्षण फायरिङका क्रममा केही समस्या देखिएको गुनासोबारे प्रष्ट पार्दै एक उच्च अधिकारीले भने, ‘गम्भीर प्राविधिक समस्या होइन । तर, ती हतियार बारेको प्राविधिक ज्ञान र बिग्रिहालेको खण्डमा मर्मत सम्भारका विषयमा भने हामीमा खास विज्ञता छैन । त्यसैले विगतमा चलाउँदै आएका इजरायली गलिल र अमेरिकन एम सिक्स्टिन जस्ता सजिला हतियार यी नरहेको हाम्रो बुझाइ हो ।’

समाचार स्रोतका अनुसार कोरियाबाटै भित्रिएका केटिसी १ सिरिजको हतियार भने पहिले प्रयोग हुँदै आएको एसएमजी सटगनजस्तै हो । त्यो चलाउन धेरै गाह्रो छैन । तर, दोस्रो सिरिजका राइफल चलाउने प्राविधिक नेपालमा कम छन् । यी हतियार अहिले तालिममा प्रयोग गरिँदैनन् । कहीलेकाहीँ टेस्ट फायरिङमा मात्र यिनीहरूको प्रयोग हुँदै आएको छ । हतियारबारे जानकार र कोरिया नै पुगेर तालिम लिएका व्यक्तिहरू कतिपय सेवानिवृत्त बनिसकेको र जागिर छोडिसकेको हुनाले पनि समस्या सिर्जना भएको बताइन्छ ।
 

टिप्पणीहरू