गेसोका संस्थापक सभापतिले खोजे वर्तमान नेतृत्वको विकल्प

गेसोका संस्थापक सभापतिले खोजे वर्तमान नेतृत्वको विकल्प

गोर्खा आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को वर्तमान नेतृत्वमाथि प्रश्न उठेको छ । गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले सभापति कृष्णकुमार राईलाई नेतृत्व छाड्न अल्टिमेटम दिएका छन् । 

सभापति राईले संस्थालाई माओवादीको भ्रातृ संगठन बनाएको, आठ वर्षे कार्यकालमा सिन्को नभाँचेको, संगठनका संस्थापकहरुलाई नियतवशः निश्कासन गरेकोलगायत आरोप लगाएका छन् ।

जनवरी दोस्रो साता अल्डरसटमा आयोजित एक भेलामा गुरुङले राईलाई कि माओवादी केन्द्रीय सदस्यमात्र बनेर राजनीति गर्न नत्र त्यहाँ त्यागेर गेसोलाई सशक्त नेतृत्व गर्न चुनौति दिएका थिए । ‘म अब छिट्टै नेपाल गएर महाधिवेशन बोलाउन कृष्णकुमारलाई ३५ दिने अल्टिमेटम दिन्छु । मानेन भने नेतृत्वको विकल्प खोजिनेछ’, उनले चेतावनी दिए ।

ब्रिटिशसँग लड्न वर्तमान गेसो नेतृत्वसँग कुनै शक्ति नभएको समेत गुरुङले बताए । ‘लन्डनमा गेसोलाई बत्ति बालेर खोज्नु पर्ने अवस्था छ । कृष्णकुमार राईले न आन्दोलन हाँक्न सक्यो, न साल्मेडाँडाको मुद्दामा केही गर्यो’, उनले आक्रोश पोखे ।

आफूमाथि सभापति राईले भौतिक आक्रमण नै गरेको जिकिर गर्दै गुरुङले मार्नेसम्मको षड्यन्त्र र मानसिक तनाव दिएपछि आफ्नो जीवनरक्षा र साल्मेडाँडा प्रोजेक्टका खातिर सन् २०१६ सेप्टेम्बर १९ तारिख एम्पायर हलमा साधारणसभा गरेर विधिपूर्वक सभापति पद हस्तान्तरण गरेको उनको भनाइ छ ।

रेडिङ कमिटीको बैठकका बेला सभापति राईले मार्छु भनेर सिसाले हान्दा आफू रगताम्य भएको दाबी समेत गुरुङले गरेका छन् । ‘मैले साल्मेडाँडा समाप्त हुन्छ भनेर यो कुरा पहिले कहिल्यै बाहिर ल्याइन । नेपालमा भएका बेला मर्निङ वाकमा ‘गोर्खा भर्ती बन्द गर्नुपर्छ भन्ने तँ होइनस्’ भनेर ममाथि आक्रमण समेत भयो’, उनले सभामा सुनाए ।

गुरुङले गत नोभेम्बर २७ मा बेलायत र नेपाल सरकारलाई छ महिने अल्टिमेटम दिइएको स्मरण गर्दै अब बेलायतविरुद्ध सशक्त रुपमा लड्ने उद्घोष पनि गरे । ‘म ८२ वर्ष उमेरमा पनि ४० वर्षको जोश जाँगर निकालेर ब्रिटिशसँग लड्न अघि सरेको छु’, उनले भने, ‘आन्दोलन अगाडि बढाउन हामीले सात जना बुद्धिजिवीको कोर टिम बनाएका छौं । उक्त राष्ट्रिय सम्प्रभुता आन्दोलन समितिमा म सभापति छु । उपसभापति भक्तबहादुर गुरुङ, राम गुरुङ, प्राध्यापकहरु अमृत खरेल र रामकुमार राई, पत्रकार इन्द्र बानिया, वरिष्ठ अधिवक्ता वृन्दा पाण्डे लगायत छौं ।’

नेपाल बर्बादीको कारण बेलायत रहेकोसमेत उनको जिकिर थियो । नेपाललाई युक्रेन बनाउने षड्यन्त्र भइरहेको आरोप पनि लगाइएको छ । 

 साल्मेडाँडा योजना विफल बनाउन कीर्ते कागजातबाट आफूलाई ट्रष्टीबाट समेत हटाइएको बताउँदै गुरुङले त्यसविरुद्ध उच्च अदालतमा मुद्दा हालेर २०७४ सालदेखि आफ्नै पेन्सनबाट मुद्दा लडिरहेको पुनःस्मरण गराएका छन् ।

टिप्पणीहरू