न्यायकर्मीको पीडा न्यायाधीशले नबुझिदिएपछि....

न्यायकर्मीको पीडा न्यायाधीशले नबुझिदिएपछि....
सुन्नुहोस्

न्यायाधीश समाजले जारी गरेको विज्ञप्तिले आफूलाई मर्माहत बनाएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका छन् । दोषीलाई कारबाही गर्नुको साटो पीडितलाई थप पीडा दिनेगरी विज्ञप्ति निकालेको उल्लेख गर्दै उनले समाजले न्यायकर्मीको पीडा नबुझिदिएको गुनासो गरेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने प्रतिवादी रहेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा पीडितको पक्षबाट वकालत गरिरहेका उनले आज विज्ञप्ति निकालेर न्यायाधीश समाजको विज्ञप्तिमाथि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । 

‘संसारभरि नै व्यवसायिक कर्मको निर्वाहका लागि कानुन व्यवसायीमाथिको आक्रमणलाई न्याय विरुद्धको कसूर मानिन्छ एवं अदालत आफैंले स्वज्ञानका आधारमा कारबाहीको प्रक्रिया अघि बढाउने प्रचलन स्थापित छ । तर, हालसम्म ममाथि भएको आक्रमणका सम्बन्धमा अदालतद्वारा दोषीमाथि कारबाहीको कुनैपनि प्रक्रिया अघि बढाइएको छैन, यसका विपरीत एउटा विडम्बनायुक्त तथ्य के छ भने मविरुद्ध नै अदालतको अवहेलनाको मुद्दा कठोर दृष्टिकोणका साथ दर्ता गरी यससम्बन्धी प्रक्रिया अघि बढाइएको छ’,विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी, उनले आफूले कुनै न्यायाधीश वा अदालतविरुद्ध कुनै देवानी वा फौजदारी अवहेलनाजनक कार्य नगरेको दाबी गरेका छन् । अगाडि थपेका छन्,‘म यस नोटमार्फत स्पष्ट गर्न चाहन्छु भने मैले कुनै न्यायाधीश वा अदालतविरुद्ध कुनै देवानी वा फौजदारी अवहेलनाजनक क्रियाकलाप गरे–गराएको छैन् । यस्तो कुकर्म त त्यसबाट भएको छ, जसले न्यायिक कर्तव्य पालनको प्रक्रियामा रहेको निहत्था कानुन व्यवसायीमाथि हिंसाको प्रयोग गरेको छ । यस तथ्यले एउटा न्यायकर्मी मर्माहत हुनुको पीडा कसले बुझ्ने ?’

लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको थियो । अधिवक्ता त्रिपाठीले न्यायाधीश राईको आलोचना गर्दै सञ्चारमाध्यममा अभिव्यक्ति दिएका थिए । यता, रविविरुद्धकै मुद्दामा काठमाडौं जिल्ला अदालतमा पीडितको तर्फबाट वकालत गर्न पुगेका त्रिपाठीमाथि गत माघ २ गते कुटपिट भएको थियो । अदालतले रविलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गरेपछि पनि उनी आदेश गर्ने न्यायाधीशमाथि खनिएका थिए । उनको अभिव्यक्तिको विरोध गर्दै न्यायाधीश समाजले माघ १० गते विज्ञप्ति जारी गर्यो । 

महासचिव टेकनारायण कुँवरले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘वरिष्ठ अधिवक्ताजस्तो जिम्मेवार व्यक्तिले आफूले बहस गरेबमोजिमको परिणाम नआएको भन्ने आधारमा कानुन व्यवसायीको आचरणविपरीत हुने गरी आदेश गर्ने न्यायाधीशउपर नै बदनियतपूर्वक कार्य गरेको भनि सार्वजनिक सञ्चारमाध्यममा अन्तरवार्ता दिएको देखियो । वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिकाप्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरुप्रति खेद व्यक्त गर्दछ ।’ 

त्यसपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको हो । न्यायाधीश समाज आफूविरुद्ध रहेकोमा सो मुद्दामाथि निष्पक्ष सुनुवाई हुनेमा त्रिपाठीले आशंका गरेका छन् । आफूविरुद्ध सार्वजनिक अभिव्यक्ति दिइसकेका न्यायाधीशबाट निष्पक्ष सुनुवाईको अपेक्षा गर्न नसकिने उनको जिकिर छ । 

‘न्यायाधीश समाजद्वारा मेरो अभिव्यक्तिप्रति खेद प्रकट गरी आफ्नो स्पष्ट सोच सार्वजनिक भइसकेको अवस्थामा मविरुद्धको अवहेलना मुद्दाको सुनुवाई प्रक्रिया कसरी अघि बढ्ने हो ? के न्यायाधीशज्यूहरुले विवाहका विषयहरुमा इजलासबाहिर सार्वजनिक ठहर गर्न पाइन्छ ? मानीय न्यायाधीशज्यूहरुको अवधारणाअगावै सार्वजनिक भइसकेको स्थितिमा मेरो सुनुवाईको हक कसरी सुनिश्चित हुने हो ? दुनियाँ न्यायका लागि अदालत धाउँदै गरेको मैले आफ्ना लागि मैले निष्पक्ष सुनुवाईको अपेक्षा गरुँ ?’,उनले प्रश्न गरेका छन् ।

 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...

टिप्पणीहरू