सरकारले आफूहरुलाई विस्थापित गर्न खोजेको मधेशवादी दलहरुको ठहर

सरकारले आफूहरुलाई विस्थापित गर्न खोजेको मधेशवादी दलहरुको ठहर

मधेसवादी आठ राजनीतिक दलको मोर्चाले आपसी सहकार्य र एकताका लागि कार्यदल बनाएका छन् । सिंहदरबारमा आज बसेको मोर्चाको बैठकले आठ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए । 

कार्यदलमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट लक्ष्मणलाल कर्ण, जनमत पार्टीका शरदसिंह यादव, जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीका शिवजी यादव र तराई मधेस लोकतान्त्रिक पार्टीबाट श्रीबज्र किशोर सिंहलाई राखिएको छ ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्तिबाट नाम आउन बाँकी रहेको जसपा नेता सुमनले बताए । संविधान संशोधनलगायत राष्ट्रिय मुद्दाहरुमा समान धारणा बनाउन, सहकार्य गर्न कार्यदल गठन गरिएको उनले प्रष्ट पारे ।

सरकारले हालै जारी गरेको भूमिसम्बन्धी अध्यादेशको विरोध गर्ने निर्णय गरेको मोर्चाले अध्यादेशमार्फत मधेसी, जनजाती र आदिवासी समुदायलाई विस्थापित गर्न खोजेको ठहर गरेको छ । सरकारले एकतन्त्रीय प्रणाली अपनाएको उल्लेख गर्दै त्यसप्रति मधेसवादी दलहरु सकारात्मक हुन नसक्ने सुमनले प्रष्ट्याए ।

बैठकमा दुबै जसपा, जनमत, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय मुक्ति पार्टी, प्रगतिशिल पार्टी र तमलोपाका नेता सहभागी थिए । कांग्रेस–एमाले गठबन्धन सरकारले संविधान संशोधनको विषय उठाएसँगै पहिचान र मधेसका मुद्दामा मोर्चा कस्ने उनीहरुको  प्रयास छ ।

टिप्पणीहरू