कारागारमा वर्षौं सड्ने निर्दोष कति कति

कारागारमा वर्षौं सड्ने निर्दोष कति कति सांकेतिक तस्विर

एउटा चर्चित कथन छ, ‘दोषी नउम्किऊन्, निर्दोष नफसुन् ।’ जिन्दगीको अमूल्य समय जेलमा बिताएपछि ‘क्लिन चिट’ पाउँदाको अनुभूति कति पीडादायी होला ? त्यस्तै भएको छ चितवनको भरतपुर महानगरपालिका–१६ का सञ्जय तामाङ्गलाई । पाँच वर्ष थुनामा बिताएर साढे दुई वर्ष मुद्दा लडेपछि उनले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । एकातिर घरबार बिग्रिएको छ, अर्कोतिर गुजारा चलाउनै मुश्किल परिरहेको छ । 

घटना झण्डै एक दशक अघिको हो । भर्खरभर्खर वैदेशिक रोजगारीबाट फर्किएका सञ्जय चितवनस्थित घर पुगेका थिए । २०७२ माघ ५ गते साथी दयाराज कँडेलले फोनमा तीन जना चेलीलाई बस चढाइदिन आग्रह गरे । आफूलाई अप्ठेरो पर्दा सहयोग गर्ने भएकाले नाइँ भन्न सकेनन् । दयाराजसँग नम्बर लिएर उनी र टोलाराम थापा एउटै मोटरसाइकलमा चितवन मेडिकल कलेजअगाडि पुगे । 

सिन्धुपाल्चोकका तीन जना चेली वैदेशिक रोजगारीमा जानका लागि एजेण्टले भनेअनुसार चितवन आएका थिए । तर, एजेण्ट सम्पर्कविहिन भएपछि अलपत्र परे । काठमाडौंको बस चढाइदिन पुगेका दुवैलाई प्रहरीले समात्यो । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढ्यो । प्रहरीले दयाराजलाई काठमाडौंबाट पक्राउ गर्‍यो भने धादिङका दयाराजमार्फत राजु गुरुङ समातिए । 

बयानका क्रममा चेलीहरूले ‘हामी उहाँहरूलाई चिन्दैनौं’ भन्दा पनि प्रहरीले सुनेनन् । चितवन जिल्ला अदालतले चारै जनालाई पुर्पक्षका लागि भरतपुर कारागार चलान गर्‍यो । पछि जिल्लाले चारै जनालाई १० वर्षको कैद सजायँ तोक्यो । सो फैसला चित्तबुझ्दो नलागेपछि उनीहरू तत्कालीन पुनरावेदन अदालत, हेटौंडा गए । पुनरावेदनले सञ्जयको सजायँ १० वर्षबाट पाँचमा झारिदियो । राजु र दयारामको हकमा भने जिल्लाकै फैसला सदर भयो । 

नवलपुरको कावासोतीका टोलारामलाई त्यहाँबाट भीमफेदी कारागार पठाइयो । उनी पुनरावेदन अदालत गएको साढे दुई वर्षपछि छुटे । चारै जनाले सर्वोच्च अदालतमा आफूहरूमाथि अन्याय भएको भन्दै निवेदन दिँदा २०७५ साउन २० गतेदेखि सफाइ पाउँदासम्म मुद्दा १६ पटक पेशी चढेको थियो । फैसला आउने आशमा बसेका सञ्जय तोकिएको सजायँ काटेर बाहिर आए । सर्वोच्चले चारै जनालाई सफाइ दियो । २०७९ चैत २० गते न्यायाधीशद्धय टंकबहादुर मोक्तान र डा.कुमार चुडालको इजलासले उनीहरूलाई निर्दोष ठहर गरेको हो । 

सफाइ पाए पनि कसैको अनुहारमा चमक छैन । कसैको जिन्दगी लयमा फर्किन सकेको छैन । जेल बस्दा भएको तनाव र मानसम्मानमा पुगेको आघातको पीडा बेग्लै छ । सञ्जयको घरबार बिग्रिएको छ । समाजले लगाउने लाञ्छनाको डरले गर्दा बाहिर आउनेबित्तिकै श्रीमतीले सम्बन्धविच्छेद मागिन् । अत्यन्तै मानसिक तनाव भएपछि उनी सम्बन्धविच्छेद गर्ने निश्कर्षमा पुगे ।  

साढे दुई वर्षसम्म सम्बन्धविच्छेदको मुद्दा लडिरहे । जेल पर्दा लाखौं रुपैयाँ सकिनुसँगै इज्जतमा कहिल्यै नपखालिने दाग लागेको गुनासो पोख्छन्, सञ्जय । भन्छन्, ‘नेपालको कानुन दैवले जानुन् भनेर यत्तिकै भनिएको रहेनछ । हामीले गल्ती गरेका छैनौं भन्दा पनि कसैले सुनेनन् । साढे सात वर्ष सकिएपछि अदालतले निर्दोष भनिदियो । जेल पर्दा पैसा त सकियो नै साथै डिभोर्स पनि भयो । अहिले छोराछोरी पालेर बसेको छु ।’

दिदीहरूसँग सापटी लिएर सानोतिनो व्यवसाय थालेका छन् । आर्थिक मन्दी लागेपछि व्यवसाय पनि डामाडोल बनेको भनाइ छ । दयाराज भने काठमाडौंतिर छन् । ‘प्रहरीको काम कोच्ने मात्र रहेछ । सिधासाधीलाई थुन्ने, पैसा हुनेलाई छोड्ने । नगरेको गल्तीमा अदालतले साढे सात वर्षपछि सफाइ दियो । यसलाई न्याय दिएको भन्ने कि अन्याय गरेको ?’, उनले दुःखेसो पोखे । सर्वोच्चले सफाइ दिए पनि समाजले हेर्ने दृष्टिकोण नफेरिएको उनी बताउँछन् । समाजको नजरमा आफूहरू अहिले पनि ‘अपराधी’ नै भएको उनको पीडा छ । 

निर्दोषहरूले भरिँदै जेल 

जबरजस्ती करणी आरोपमा डिल्लीबजार कारागार चलान भएका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएर निस्किने बेला भित्र रहेका निर्दोष कैदीबन्दीको रिहाइका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । उनले भनेअनुसार डिल्लीबजार कारागारमा ५० प्रतिशतभन्दा बढी निर्दोष कैदीबन्दी छन् । 

त्यहाँ मात्र होइन, हरेक कारागारको अवस्था त्यस्तै छ । प्रहरीले प्रभावकारी रुपमा अनुसन्धान नगर्दा निर्दोषहरूले जेल भरिन थालेको छ । सञ्जय भरतपुर कारागारमा रहेका झण्डै ६० प्रतिशत कैदीबन्दी निर्दोष रहेको बताउँछन् । भन्छन्, ‘म त्यहाँको आन्तरिक प्रशासनमा नाइके भएर बसें । उनीहरूलाई सम्झाउने, बुझाउने काम हुन्थ्यो मेरो । उनीहरूमध्ये धेरैको कुरा बुझ्दा गल्ती नै नगरिकन आएकोजस्तै लाग्थ्यो ।’

मुलुकी अपराध संहिता २०७४ को दफा ९९ ले बद्नियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने व्यवस्था गरेको छ । उपदफा (१) मा भनिएको छ,‘कानुनबमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी प्राप्त अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसूरलाई जोगाउने मनशायले बदनियतपूर्वक अनुसन्धान गर्न वा अभियोग लगाउनुहुँदैन ।’ त्यसरी फसेको व्यक्तिले कसूरदारबाट क्षतिपूर्ति लिन सक्नेछन् । तर, सञ्जयले क्षतिपूर्तिका लागि मुद्दा नलड्ने निर्णय गरेका छन् । मुद्दा लड्दालड्दै पहिल्यै धेरै वर्ष र पैसा खेर गइसकेको बताउँदै उनले आफूसँग अदालतको ढोका ढक्ढकाउन थप सामर्थ्ये नभएको दुःखेसो पोखे ।
 

टिप्पणीहरू