ट्रम्पको आँखाबाट नेपाल सुरक्षित छ !

ट्रम्पको आँखाबाट नेपाल सुरक्षित छ !

बेलायती मिडियामा एउटा नयाँ ‘ईस्यू’ले जन्म लिएको छ । क्यानाडालाई आफ्नो नयाँ भूभाग बनाउने डोनाल्ड ट्रम्पको मनशाय र यसका निम्ति आर्थिक शक्ति प्रयोग गर्ने सोचप्रति बेलायती राजा चाल्र्स तृतीयको धारणा किन बाहिर आएको छैन ? चाल्र्स अझै गोप्य राखिएको कुनै क्यान्सरले ग्रस्त छन् । औषधि लिँदै छन् । उनलाई सार्वजनिक कार्यक्रममा भरसक नजान सल्लाह दिइएको छ । तैपनि, ट्रम्पको विजयपछि राजाले उनलाई एक हस्तलिखित शुभकामना पठाए ।

पत्रमा बेलायत र अमेरिकाबीच ऐतिहासिक विशेष सम्बन्धको सुखद चर्चा थियो । राजा चाल्र्स क्यानाडाका औपचारिक राष्ट्र प्रमुख हुन् । बेलायती राजमुकुट अष्ट्रेलिया, न्युजिल्याण्ड, जमैकाबाहेक चौध क्यारिबियन राज्यहरूको प्रमुखका रुपमा शोभायमान छ । राष्ट्रपतिका रुपमा सन् २०१९ मा बकिङघम दरवारको राजकीय पाहुना हुँदा ट्रम्प राजपरिवारको चमकदमक देखेर चकित र प्रभावित भएका थिए । आतिथेय बेलायती महारानी र आफ्नो सम्बन्धको व्याख्या गर्दै त्यो बेला भनेका थिए, ‘हाम्रो केमिष्ट्री अटोम्याटिक छ ।’ तत्कालीन युवराज चाल्र्सबारे उनको टिप्पणी थियो, ‘राम्रो मान्छे ।’ निर्वाचित नेतालाई आफ्नो सोचअनुसार बोल्ने स्वतन्त्रता हुन्छ । तर, संवैधानिक दायरामा खुम्चिएको बेलायती दरबार बोल्दैन । यद्यपि, वर्तमान राजाको आफ्नै विवाहेत्तर प्रेम सम्बन्ध, पत्नीसँग छुट्टानाम, भाइको अन्तर्राष्ट्रिय यौन पिपाशुसँग गोप्य सम्बन्ध, बहिनीको मदिरामय जीवन आदिका कारण बेलायती राजपरिवार सधैँ चर्चामा रहेको छ । तर, राजकीय मुद्दामा बेलायती राजा वा रानीले ‘सोच्न’ मिल्दैन । क्यानेडेली राष्ट्रप्रमुखका रुपमा राजा चाल्र्सका लागि सोचिने काम सम्बन्धित देशको सरकारको हो । हालका क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रडोले बेलायती राजासँग यससम्बन्धमा छलफल गरे, नगरेको खबर सार्वजनिक जानकारीमा आएको छैन । तर, क्यानाडा र अमेरिकाबीच सामाजिक सञ्जालमा घोचपेच रोचक हुँदै छ । आफ्नो देशलाई अमेरिकाको एकाउन्नौं राज्यका रुपमा प्रस्ताव गरिएपछि अपमानित र आक्रोशित प्रधानमन्त्रीले एलन मस्ककै ‘एक्स’मा लेखेका थिए, ‘क्यानाडा नाराको आगोमा पग्लिने हिउँको डल्लो होइन ।’

जवाफमा मस्कको पोष्ट आयो, ‘तिमी अहिले क्यानाडाको गभर्नर हुन बाँकी छ । त्यसैले तिम्रो विचारले कुनै अर्थ राख्दैन ।’ क्यानाडाका नागरिक आक्रोशित छन् । यसको अभिव्यक्ति अमेरिकी उत्पादन बहिष्कार अभियानमा देखिन्छ । उनीहरू भन्छन्, ‘हाम्रो बहिष्कारले बाल्टिनको पानीमा एउटा थोपा जत्ति पनि अर्थ राखोस् वा नराखोस् तर हामीले गर्न सक्ने यत्ति हो । जो हामी गर्छौं ।’ अघिल्लो हप्ता उनीहरूले आफ्नो देशमा आयोजित एक बास्केटबल प्रतियोगितामा अमेरिकी राष्ट्रगान बज्दा हुटिङ गरेर विरोध जनाए । यता, ट्रम्प रोकिने छाँट छैन । सोलोडोलो २५ प्रतिशत कर लगाउने योजनालाई एक महिना पर सारेका ट्रम्पले क्यानाडामाथि समेत लागू हुनेगरी संसारका सबै देशका लागि स्टिल र अल्मुनियममा लाग्ने कर १० प्रतिशतबाट बढाएर २५ प्रतिशत बनाएका छन्् । यो क्यानाडा, ब्राजिल, मेक्सिको, दक्षिण कोरिया र भारतजस्ता मुलुकको लागि ठूलो झट्का हो । के बेलायती मिडियाले अरू कुनै समाचारको अभावमा राजा चाल्र्सको धारणाबारे चासो देखाएका हुन् ? अथवा यसले चाल्र्स र ट्रम्पबीच संवादको संकेत गरेको हो ? निहत्था जस्टिन ट्रुडोका निम्ति बेलायती राजपरिवार सौम्य तर अन्तिम शक्ति हो । राजा र अमेरिकी राष्ट्रपतिबीच मित्रताको सम्बन्धलाई क्यानेडेली स्वार्थमा प्रयोग गर्न सकिन्छ भने यो क्यानाडाका लागि एक सुखद अवस्था हुन सक्छ । तर प्रश्न छ, के भने क्यानाडाका निम्ति बेलायती राजसंस्था डोनाल्ड ट्रम्पको दम्भको पोका सुम्सुम्याउन तयार हुनेछ ? 

हेगमा हंगामा ! 

अघिल्लो साता ह्वाइट हाउसमा देखिएको एउटा दृश्य र त्यसपछि व्यक्त विचार मानवताको जगै हल्लाउने भूकम्पभन्दा कम थिएनन् । तर, त्यसको परकम्प अपेक्षाकृत रुपमा अनुभव गरिएको महसुस भएन । वासिङटनबाट लगालग यति छिटो र यति धेरै विश्मयजनक समाचार आउन थालेका छन्् कि संसारले सम्हालिने मौकै पाएको छैन । पर्ख र हेरको विकल्प फेला पर्न बाँकी छ । एक साताअघि अन्तर्राष्ट्रिय अपराध अदालतले पक्राउ पुर्जी काटेको एक सरकार प्रमुख र तीन दर्जन स्वदेशी मुद्दाका अभियुक्त अर्का अमेरिकी राष्ट्रपति कुम जोरेर उभिए । अमेरिकी नेताले एक घोषणा गर्दै आफ्नो सपना सुनाए, ‘मध्यपूर्वको गाजा अब मान्छे बस्नलायक छैन । यसलाई पूरै भत्काएर नयाँ सिर्जना गर्नुपर्छ । त्यो ठाउँ व्यापारको स्वर्ग बन्न सक्छ । त्यहाँका मान्छेलाई छेउछाउका अन्य देशमा स्थानान्तरित गर्न सकिन्छ । आवश्यक परे हाम्रो सेना तयार छ ।’ उनको छेउमा जो इजरेली नेता उभिएका थिए, उनको नेतृत्वमा ‘त्यहाँका मान्छे’ अर्थात् प्यालेष्टिनीको नरसंहार हुन थालेको एक वर्षभन्दा बढी भयो । इजरेली वायुसेनाले गाजा शहरका विद्यालय, अस्पताल र आवासीय भवनमा ताकीताकी बम वर्षा गरेर शहर धुलिसात तुल्यायो । पानी, औषधि र खाद्यान्न आपूर्तिको बाटो खाली छैन । सन् २०२४ को अन्त्यसम्म ४८ हजार बयस्क र १५ हजार नाबालक मारिए, जसमध्ये २ हजारको उमेर एक वर्षभन्दा मुनि थियो। 

उनीहरू ‘हमास’ थिएनन् । निरपराध प्यालेष्टिनी जनता थिए । हमास प्यालेष्टिनी मुक्तिको नाममा इरानले खडा गरेको इजरेलविरोधी एक आतंककारी समूह थियो । बहुमत प्यालेष्टिनी हमासका क्रियाकलापविरोधी हुन् । उनीहरूको अवस्था पनि नेपाली माओवादी युद्धमा छापामारले आफ्नै घरको खसी काटेर पकाउन दिँदा आदेश पालन गर्नुपर्ने सामान्य पारिवारिक मान्छेको भन्दा फरक थिएन । नरसंहार, युद्ध अपराध र मानवताविरोधी गतिविधिविरुद्ध सुनुवाइ हुने अन्तिम अन्तर्राष्ट्रिय कानुनी संस्थाको उपहास पनि यसै प्रकरणमा भयो । डोनाल्ड ट्रम्पले नेदरल्याण्डको हेगस्थित आइसिसी नामक संस्थाको अस्तित्व नै अस्वीकार गरिदिए । यसले इजरेलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुमाथि नरसंहारको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । रोचक त भने इजरेलको आलोचना गरेकै कारण ट्रम्पका शक्तिशाली सल्लाहकार एलन मस्कको मातृभूमि दक्षिण अफ्रिकालाई अमेरिकाले दिने गरेको नियमित राहत पनि खारेज भएको छ ।

त्यहाँका दशौँ लाख बालबालिका र एड्स पीडितको जीवन अमेरिकी औषधि र खोपमा निर्भर छ । दक्षिण अफ्रिकामा सहायता कार्यक्रम बन्द गर्नुको देखावटी कारण झन् रोचक छ । ट्रम्पका अनुसार दक्षिण अफ्रिकी सरकारले त्यहाँका अल्पसंख्यक गोरामाथि जग्गा किनबेचमा भेदभाव गरेको छ । ‘अफ्रिकान्स’ भनिने यी युरोपेलीमूलका गोराको जनसंख्या ७ प्रतिशत छ । तर, ७० प्रतिशत भूमिको स्वामित्व यिनैका नाममा छ । सन् ९० को दशकमा नेल्सन मण्डेला नेतृत्वको आन्दोलनले विजय पाउनुअघि आधा शताब्दीसम्म त्यहाँ यिनै ७ प्रतिशतको रंगभेदी शासन थियो । डोनाल्ड ट्रम्प आफ्नो वैकल्पिक सत्यमा मात्रै विश्वास गर्ने एक आत्ममुग्ध शासक हुन् जो जनताको घर ह्वाइट हाउसलाई एक तानाशाहको दरवारमा परिणत गर्न उद्यत छन् । उनलाई मानवीय पक्षले उद्वेलित गर्दैन । 

नेपाली हर्ष बढाइँ 

अमेरिकाले (अमेरिकी सहायता नियोग) युएसएड बन्द गर्ने घोषणा गरेपछि एकथरी नेपाली हर्षित छन् । यो पक्षको मत छ, युएसएडमार्फत अमेरिकी इसाईको स्वार्थमा नेपालमा नास्तिकता फैलाएर हिन्दू धर्मविरोधी गतिविधि हुने गरेको छ । अमेरिकी सहयोग लिने पत्रकार, कलाकार र गैसस उद्यमीको नाम धमाधम सार्वजनिक हुँदै छन् । उनीहरूको सामाजिक ‘खुइलीकरण’ शुरु भएको छ । तर, यो आजको मुद्दा होइन । ०४८ सालपछि गठित हरेक पार्टीका सरकार, यसका नेता, सांसद र कमिसनखोर बिचौलिया यसबारे जानकार मात्रै थिएनन्, प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा संलग्न पनि थिए । तर, युएसएडको अर्को पाटो पनि छ, जसलाई बेवास्ता गर्नु अनुचित हुन्छ । यो संस्थाको नाममा नेपालमा सन् १९५१ देखि डेढ अर्ब डलर आएको छ । सन् २०२७ सम्मका लागि ७० करोड डलरका योजनामा सम्झौता भैसकेका थिए । स्वास्थ्य, शिक्षा, कृषि, भौतिक संरचना विकास, आर्थिक वृद्धि, मानवीय सहायता त महिला तथा बालबालिका सशक्तिकरणजस्ता शीर्षकमा आउने यो रकमको भविष्य अनिश्चित छ ।

सिआइएका नवनियुक्त निर्देशक जोन ¥याट्क्लिफको रणनीतिक नक्सामा नेपालको कुन स्थान रहनेछ ? परिदृश्य स्पष्ट हुन बाँकी छ । ट्रम्पको पहिलो प्रशासन खुफिया संस्थासँग मधुर सम्बन्धमा थिएन । ट्रम्प दैनिक खुफिया विश्लेषण सुन्ने कुरामा पनि धैर्य गर्दैनन् । नेपालको उत्तरी छिमेकी र अमेरिकाको प्रमुख व्यापारिक सामरिक प्रतिस्पर्धी चीनसँग कूटनीतिक कसरत गर्ने ट्रम्पको आफ्नै शैली छ । अष्ट्रेलिया र जापानजस्तै भारतसँगको सम्बन्धमा पनि ट्रम्पको भंगिमा त्यति आक्रामक छैन । ट्रम्पको पूर्ववर्ती सरकारका पालामा महाराजगञ्ज केन्द्रित अमेरिकी सूचना संकलन सञ्जाल र गुप्त चलखेलको क्रम अब पातलियो भने आश्चर्य हुनेछैन । भूराजनीतिक खेलकुदमा नेपाल र भुटानजस्ता देशको महत्व अब ट्रम्पले जिस्किएर ‘निप्पल’ र ‘बटन’ भन्नुमा सीमित हुन सक्छ । 

हालै एक सय वर्ष बाँचेर बितेका प्रख्यात अमेरिकी सुरक्षाविद् तथा कूटनीतिज्ञ हेन्सरी किसिन्जर भन्थे, ‘अमेरिकासँगको शत्रुता खतरनाक र सहयात्रा घातक हुन्छ ।’ नेपालमा शासकलाई अहिले हाइसञ्चो हुनुपर्छ । नेपालको न शत्रुता गर्ने क्षमता छ, न सहयात्रा ! नेपाल ट्रम्पको आँखाबाट सुरक्षित छ । जाँदाजाँदै एउटा प्रश्न, ‘आज नेपालका दुई तिहाइ मतका धनी प्रधानमन्त्रीले कतिवटा उद्घाटन समारोहलाई संबोधन गरे ? अनि उनले यो सरकार पूरा अवधि जान्छ, ढल्दैन र १६ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने पक्का छ, ’ भन्न छुटाए कि छुटाएनन् ? 
 

टिप्पणीहरू