वैशाख पूर्णिमाको दिन कमलको बीउ रोपिएको स्थानमा स्वयम्भू महाचैत्य
काठमाडौं उपत्यकाको ऐतिहासिक तथा धार्मिक महत्वको सम्पदामध्येको एक हो, स्वयम्भू महाचैत्य । आफ्नै ऐतिहासिक र दार्शनिक पृष्ठभूमि भएको स्वयम्भू महाचैत्य स्थापनासँग मञ्जुश्रीको सम्बन्धका विषयमा जोडिएको एक महत्वपूर्ण स्मारक मानिन्छ ।
स्वयम्भू महाचैत्य बौद्ध धर्मसम्बन्धी सम्पदा एवम् आस्थाको थलो हो । उपत्यकाको पश्चिममा अवस्थित स्वयम्भूलाई प्रसिद्ध बौद्ध स्तूपा पनि भनिन्छ । यसको उत्पत्तिबारे चिवा चैत्यका प्रतिनिधि अमर तुलाधर भन्छन्, ‘स्वयम्भूको उत्पत्ति दहबाट भएको हो । वरपर नागको दह र कमलको फूलबीचबाट स्वयम्भू निस्किएको जनविश्वास छ ।’
उनका अनुसार उपत्यका पानी भरिएको तलाउ रहेको बेलामा यहाँ विपस्वी बुद्धले तीन पटक वरपरको पहाड घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्या गरेका थिए । त्यसपछि वैशाख पूर्णिमाको दिन मन्त्र गरेको कमलको बीउ दक्षिण फर्की दहमा रोपेका थिए ।
अर्को सालको वैशाख पूर्णिमाको दिन कमलको फूल उम्रेको थियो । जसमा पञ्चरश्मिसहित स्वयम्भू महाचैत्यको उत्पत्ति भएको मानिन्छ । स्वयम्भू महाचैत्यमा बौद्ध धर्मको झल्को बढी देखिने भएपनि यो सबै धर्म, संस्कृति र इतिहासँग जोडेको उनको भनाइ छ ।
‘स्वयम्भूसँग हाम्रो धेरै संस्कृति र धार्मिक आस्था जोडिएको छ । अहिले त आर्थिक विषय पनि योसँग जोडिएको छ । त्यसैले पनि काठमाडौंका अधिकांश स्थानमा यी चैत्यहरु राखिएको पाइन्छ,’ तुलाधरले भने ।
झण्डै दश वर्षअघि स्वयम्भू घुमफिर गर्ने क्रममा एउटा चैत्य बिगारिएको देखिएको स्मरण गर्दै उनले थपे, ‘यतिका महत्त्व बोकेका सम्पदा बिगार्नबाट जोगाउनुपर्छ भनेर हामीले ती सबै चैत्यको संरक्षणका निम्ति फोटो खिच्न थाल्यौं । भविष्यमा केही गरी बिग्रिहालेमा पनि पहिला यस्तो थियो भनेर थाहा हुन्छ र सोहीअनुरुप मर्मत पनि गर्न सकिन्छ ।’
स्वयम्भूले अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्न वा बढाउन पनि सहयोग पुर्याइरहेको उल्लेख गर्दै उनले सम्पदाहरुको संरक्षण गर्नु सबैको दायित्व रहेको बताए । ‘यो हाम्रो पुर्खाको सम्पदा हो । पुर्खाको सम्पदा नयाँ पुस्तामा हस्तान्तरण भइरहनुपर्छ । त्यसैले, यसको संरक्षण र प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हो,’ उनले भने ।
टिप्पणीहरू