शहीद परिवारसँग प्रचण्डको यस्तो वाचा
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदको सपना पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्र गोरखा नगरपालिका-१४ गोप्लिङ पुगेर उहाँले शहीद परिवारसँग यस्तो वाचा गर्नुभएको हो । स्थानीय नरबहादुर नहर्की र लक्ष्मी नहर्कीको घरमै पुगेर उहाँले आफू नमर्दासम्म शहीदको बलिदानलाई अर्थपूर्ण सावित गर्न लागिपर्ने बताउनुभयो ।

नहर्की दम्पतिको तीन सन्तानले जनयुद्धमा ज्यान गुमाएका थिए । छोरा गुप्तबहादुर ‘ज्वाला’ (०५५ पुस १३), छोरीहरु सरस्वती ‘विपना’ (०५६ वैशाख ८) र कल्पना ‘नमूनाले (०५८ असार २३) युद्धकै क्रममा सहादत प्रप्त गरेका हुन् ।
तीन शहीदका बाबुआमासँगको भेटमा प्रचण्डले भन्नुभयो, ‘महान जनयुद्धमा बलिदान दिने हजारौँ शहिदको कारण आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भयौँ, अझै पनि शहिदका कतिपय सपना पुरा गर्न बाँकी छ, मेरो जीवनको अन्तिम क्षणसम्म पनि ती सपनाको लागि म लडिरहन्छु ।’

सत्ता राजनीतिले माओवादी केही समय लयबाहिर गएपनि अहिले ट्रयाकमा आइरहेको प्रचण्डको भनाई छ । ‘बिचमा हामीले बाटो बिराउन खोजेकै हौँ, तर समयमै हामीले आफूलाई लयमा ल्याउने प्रयास गयौँँ’, उहाँले थप्नुभयो ।
अध्यक्ष प्रचण्डले नहर्की दम्पतिसँग भेटेलगत्तै सोही नगरपालिका- ८ स्थित अर्का शहीद विरेन ओलियाका विराबी बुबा देवराज ओलियालाई पनि भेट्नुभएको छ । उहाँले ओलीयाको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।
टिप्पणीहरू