दाजुसँग बहिनी डराउने दिन आयो

दाजुसँग बहिनी डराउने दिन आयो

काभ्रेपलाञ्चोक जिल्लामा हुँदा साउनदेखि पुस मसान्तसम्म ३ सय १ वटा घटना हुँदा २ सय ५२ जना अभियुक्त पक्राउ परेका छन् । 

हाकिमहरूका घर निर्माणमा लैजाने टिपरलाई चुली–चुली बोक्न दिइएको छ भने सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १० रहेको छ । दुर्घटनामा परेर ७८ जना घाइते भएका छन् । ३ जनाको हत्या भएको छ । ५७ जनाले आफैँ प्राण त्यागेका छन् । प्राकृतिक प्रकोपका ४९ घटनामा परी ज्यान गुमाउनेको संख्या ८१ रहेको छ । ९७ जना घाइते छन् । १०३ जना विशिष्ट व्यक्तिले जिल्ला भ्रमण गरेका छन् ।

यो अवधिमा ३ सय २५ वटा पसल अनुगमन गरिएको छ । ६ वटा फर्मलाई जरिवाना तिराइएको छ । १ सय ३२ वटा पसलबाट सामान जफत गरी ५५ हजार दण्ड असुलिएको छ । जिल्ला प्रशासन कार्यालयमा चालु वर्षको ६ महिनामा १० करोड ८३ लाख राजश्व संकलन भएको छ । द्वन्द्व, शहीद परिवारका लागि ७६ लाख ८० हजार भुक्तानी गरिएको छ ।

२३ करोड ८० लाख रूपैयाँ विपदमा परेका परिवारका सदस्यलाई राहत वितरण गरिएको छ । चालु वर्ष ५२ वटा मुद्दा दर्ता भएका छन् । १९ वटा फस्र्याेट भएका छन् । २ सय २६ वटा ठाडो उजुरी परेको छ । २ सय १४ वटा फस्र्याेट भएका छन् । 

१२ वर्षमै गर्भवती

बनेपा नगरपालिका–५, स्थायी घर भएकी १२ वर्ष ८ महिना २ दिनकी बालिका गर्भवती भएको केही साता नबित्दै पनौतीमा १३ वर्ष एक महिनाका नाबालिका गर्भवती भएको अर्को खबर छ । चटपटे खाँदा भएको चिनजानले बालिका गर्भवती बन्न पुगेकी हुन् ।

आफन्त अर्थात् परिवारभित्रका सदस्य, नजिकका नातेदार तथा चिनेजानेकाहरूबाटै बालिका जबर्जस्ती करणीमा पर्न र गर्भवतीसमेत हुन थालेका छन् । पनौती नगरपालिकामा लाग्ने हिले अर्थात् घुम पूर्णिमाको अवसरमा हुने जात्रा हेर्न गएकी बालिकालाई २०८१ असार ८ गते पनौतीस्थित एक सामुदायिक विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने १३ वर्ष १ महिनाकी नाबालिकालाई एक ग्यारेजभित्र लगी विकास निशाद भन्ने व्यक्तिले जबर्जस्ती करणी गरेका थिए । 

भारत बिहार प्रदेश पूर्वी चम्पारण जिल्ला थाना रक्सौल, पोस्ट कौडिहार ग्राम स्थायी घर भई बनेपा नगरपालिका–७ बस्ने २० वर्षीय विकास निशाद भन्ने विकास कुमारलाई प्रहरीले पक्राउ गरेको छ । ग्यारेजमा काम गर्ने क्रममा त्यही बाटो हुँदै जाने–आउने गर्ने बालिकासँग चिनजान भएको थियो । बालिकाको परिवारले पनौती–७ डबली बजार आसपास सिरक डस्ना तथा अन्य मजदुरी गर्दै आएको छ । उनको पेटमा २५ हप्ता ४ दिनको बच्चा रहेको खुलेको छ । एक अर्काेलाई मन परेकाले विवाह गर्ने गरी सम्बन्ध बढाएको स्विकारेका छन् ।

त्यस्तै २०८१ जेठ ६ गते दिउँसो घरमा कोही नभएको बेला नाताले आफ्नै बहिनीलाई दाजुले ललाई फकाई करणी गरेका थिए । राम्रो कपडा किनिदिने प्रलोभनमा बालिकालाई दाजुले पटक–पटक करणी गरेको र २८ हप्ता ४ दिनको गर्भ भएपछि बालिका विद्यालय जान नसकेका कारण बाबु आमाले अस्पताल पुर्‍याउँदा मात्रै पेटमा दाजुको गर्भ रहेको जानकारी भएको थियो । दाजु पुर्पक्षका लागि थुनामा छन् । उनीविरुद्ध इलाका प्रहरी कार्यालय बनेपाले सरकारी वकिल कार्यालय धुलिखेलमार्फत हाडनातामा जर्बजस्ती करणी अभियोगअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

माघ ३ गते उक्त मुद्दा जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएको थियो । दाजु–बहिनी दुबैले उक्त घटना स्विकारेका छन् । उनले अन्तिम पटक पुस ४ गतेसम्म करणी गरेका थिए । जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले उक्त मुद्दा अदालतमा दर्ता गराएकी हुन् । हरेक महिना यस्ता २/४ वटा घटना प्रहरीकोमा दर्ता हुन थालेका छन् ।
 

टिप्पणीहरू