तासको पैसा नदिएको निहुँमा तीनजना मिलेर साथीको हत्या

कर्तव्य ज्यानसम्बन्धी कसूरका ३ जना आरोपित समातिएका छन् । आफ्नै साथीको हत्या गरेको अभियोगमा प्रहरीले वीरगञ्ज महानगरपालिका- २७ का १९ वर्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारीलाई पक्रेको हो ।
तीनैजना इशालप्रसाद कुर्मीको हत्यामा संलग्न देखिएको पर्सा प्रहरीले खुलासा गरेको छ । घटना विवरणअनुसार आरोपित र मृतक छिमेकी र साथी पनि हुन् । फागुन ७ गते उनीहरुबीच तास खेल्न गएका बेला पैसाको निहुँमा विवाद भएको थियो । विवादकै क्रममा आफूहरुले मिलेर इशालप्रसादको हत्या गरी भेडाहा खोलामा फालेको मुकेशप्रसाद, अरुणकुमार र मुनाले प्रहरीलाई बयान दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताएअनुसार वीरगञ्ज- २७ उदयपुर घुर्मी बस्ने जोगिन्द्रप्रसाद कुर्मीको १९ वर्षीय छोरा इशालप्रसाद फागुन ७ गते काममा जाने भन्दै घरबाट निस्किएका थिए । तर, अबेर रातिसम्म पनि घर नफर्किएपछि परिवारले भोलिपल्ट फागुन ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए ।
निवेदन दर्ता भएपछि प्रहरीले खोजतलास गर्दा फागुन ११ गते भेडाहा खोलामा तैरिरहेको अवस्थामा शव फेला पारेको थियो । अनुसन्धान क्रममा फागुन ७ गते नै इशालप्रसाद र उनका साथीहरू तास खेल्न गएका बेला ३५ सय रुपैयाँको विषयमा विवाद भएको र यसैको कारणले उनको हत्या भएको खुलेको हो ।
पक्राउ परेका तीनै जनालाई ज्यानसम्बन्धी कसूरमा ६ दिनको म्याद थपगरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप जानकारी र अनुसन्धानको प्रगतिबारे जानकारी दिने बताएको छ ।
टिप्पणीहरू