शुक्रवारको प्रेमिल भेट, भोलिपल्टै जिन्दगी नामेट

शुक्रवार प्रेमीसङ्गै बसेर भोलिपल्ट वार्षिकोत्सवको रमझममा सामेल भई राति नै जीवनदेखि हार मान्नुपर्ने ? के बाध्यता आइपर्यो होला उनलाई ! तालिमरत रहेकै बेला ब्यारेकभित्र शौचालयमा गत शनिबार सशस्त्र इन्स्पेक्टर सन्तोषी महत मृत भेटिएको घटनाले नयाँ मोड लिँदैछ ।
यस प्रकरणमा मनकामना गण, भानु (तनहुँ) दरवन्दीका पोखरामा कार्यरत सुदूर पश्चिमेली इन्स्पेक्टर बिबेक जोशी समातिएका छन् भने राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान, मातातीर्थका डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइएको छ । सिंह कैलालीमा टिकापुर नरसंहार काण्ड हुँदा एसपी थिए । उक्त समितिमा हेडक्वार्टरको कानुन शाखाका एसपी छवि पाण्डेय र पोखराको विभिन्न युनिटका तीन जना सदस्य छन् ।
लामपाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा जारी तालिमका कमाण्डर एसएसपी सुधिरजंग थापा र प्रमुख प्रशिक्षक एसएसपी तेज पोखरेल हुन् । घटना भएको दिन प्रमुख प्रशिक्षक पोखरामा नरहेको बुझिएको छ । दुई महिनाअघि आइजिपी राजु अर्यालले प्रथम प्रवचन दिएको सिसं.१७ का इन्सपेक्टरहरुको तालिमका मुख्य प्रशिक्षक पोखरेल गत शनिबार काठमाडौंमा रहेको स्रोतको दाबी छ । प्रमुख प्रशिक्षकबिना तालिम भइरहनुलाई सुरक्षा फौजमा लापरबाहीको हद मान्ने गरिन्छ । तालिमेहरुको व्यावहारिक समस्या सहजीकरण र नियमानुसारका अभाव तत्काल पुरा गरिदिनु उनीहरुको अनिवार्य दायित्वभित्र पर्छ । उक्त शिक्षालयमा यसअघि सिसं.१६ को तालिम भएको थियो जसमा हाल कास्की प्रहरी हिरासतमा रहेका विवेक जोशी पनि सामेल थिए । शुक्रवार सङ्गै बस्ने क्रममा बिहेको कुरालाई लिएर यी दुईवीच झगडा भई सोको तनावमा सन्तोषीले त्यस्तो अप्रिय निर्णय लिएको हुनुपर्ने परिवारको ठम्याइ छ । मृतकका बाबुआमा अष्ट्रेलियाबाट आउँदै गरेको बुझिएको छ ।
शनिवार राति पासो लगाउनु अघिल्लो रात दुई इन्सपेक्टर सङ्गै बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्रोत भन्छ, ‘शुक्रबारको तालिम सकेर सन्तोषी बाहिर गएकी र शनिबार मात्र फर्केकी थिइन् । भेटका क्रममा जोशीले महतोलाई केही कुरा ढाँटेको हुनुपर्छ ।’ जोशी सुदूर पश्चिमका स्थायी बासिन्दा हुन् भने मृतक महत सिन्धुपाल्चोककी।
यता प्रेम सम्वन्धमा रहेका दुबै जनाको अरुसङ्गको अन्तरङ्ग सम्बन्ध पनि केलाउन थालिएको छ । जिप्रका, कास्कीस्थित स्रोत भन्छ, ‘अरु केटा– केटीसमेत अनुसन्धानमा तानिएलान् जस्तो छ ।’ मृतक युवती र आरोपित जोशी दुबै अविवाहित हुन् । हालसम्म सुसाइड नोट फेला नपरेको तर दुबै जनाको ल्यापटप र कम्प्युटर प्रहरीले कब्जामा लिएको छ ।
०७२ सालमा महतले सिपाहीमा खुल्ला प्रतिस्पर्धाबाट सेवा प्रवेश गरेर खुल्लाबाटै ०७८ मा असई हुँदै यसै सालदेखि इन्सपेक्टरमा नाम निकालेकी थिइन् । एउटा सामान्य कर्मचारीलाई राज्यले पाइला पाइलामा तालिमका लागि धेरै खर्चेर दक्ष जनशक्ति बनाएको हुन्छ र त्यसमा प्रशिक्षकहरुको ठूलो भूमिका रहन्छ । १० वर्षअघि इन्सपेक्टरको यस्तै तालिममा लामपाटनमै एक जना डुबेर मरेका थिए भने त्यहीँका एसएसपी राजेन्द्र अधिकारी ०७७ असारमा चितवनबाट स्कुटर चढेर भेट्न गएकी २७ बर्षिया ‘भाञ्जी’ सँग विशेष सम्बन्धको विवाद बाहिर आएपछि जेल गएका र जागिरबाट निकालिएका थिए । उनी पूर्व एआइजी सुवोध अधिकारीका भाइ हुन् ।
यसअघि ककनीको तालिमबाट मोटरसाइकलमा काठमाडौं आउँदै गरेका दुई जना बाटैमा बिते । उक्त तालिमका कमाण्डर राजेन्द्र खड्का अझै त्यहीँ छन् । चार महिनाअघि बाँकेको नौबस्तामा आयोजित तालिममा सहभागी एक जनाको पनि यस्तै दुःखद निधन भयो ।
संगठनमा आत्महत्याको क्रम बढेपछि एक वर्षदेखि आइजिपी राजु अर्यालले डिएसपी संगम श्रेष्ठको टिमलाई काउन्सिलिंगमा खटाए । जसले गर्दा पछिल्लो नौ महिनामा उक्त फौजभित्र आत्महत्याको दर शून्य रहन गएको थियो । तर, प्रेममा चुर्लुम्म डुबेकाहरुको हकमा घात प्रतिघातको कुरा तेर्सिंदा काउन्सिलिंगले खासै असर नगर्ने छानबिन समितिका एक सदस्यले बताए ।
टिप्पणीहरू