ह्वाइटहाउसको लफडापछि विश्व नयाँ ध्रुवीकरणमा

अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोदोमिर जेलेन्स्कीबीच अस्ति ह्वाइट हाउसमा भएको झोंकनोकपछि विश्व राजनीतिमा नयाँ ध्रुवीकरण शुरु भएको छ ।
अमेरिकी सहयोगमा रुससँग युद्ध लड्दै आएको युक्रेनको समर्थनमा यूरोपियन यूनियन एकगठ देखिएको छ । सदाबहार अमेरिकी पक्षधर क्यानडा, अष्ट्रेलियाजस्ता देशले समेत आफूलाई जेलेन्सकीको समर्थनमा उभ्याएका छन् । ह्वाइट हाउस घटनापछि बेलायत, जर्मनी, फ्रान्स, क्यानाडा, अष्ट्रेलिया, इटाली, आयरल्याण्डलगायत पश्चिमा राष्ट्रका नेताहरु युक्रेन र जेलेन्स्कीको पक्षमा खुलेर प्रकट भएका हुन् ।
यसबीच बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युरोपेली नेताहरूको आपतकालीन बैठक बोलाएका छन् । हिजो साँझ जेलेन्स्कीसँग लन्डनमा उनको भेटवार्ता भएको थियो । वार्तापछि २.८ अर्ब अमेरिकी डलर ऋण सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । बेलायतले उपलब्ध गराउने उक्त रकम युक्रेनले हतियार खरिदमा खर्च गर्नुपर्ने सहमति छ ।
धेरै युरोपेली संघका नेताहरुले जेलेन्स्कीलाई समर्थन जनाउन हतार गरिरहँदा हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले भने आफूलाई ट्रम्पको पक्षमा उभ्याएका छन् । शान्तिको पक्षमा अडान राखेकोमा अमेरिकी राष्ट्रपतिको खुलेर प्रशंसा गर्दै उनले भनेका छन्, ‘बलियो मानिसले शान्ति बनाउँछन्, कमजोर मानिसहरूले युद्ध गर्छन् ।’
यता, ट्रम्प र जेलेन्स्कीबीचको विवादले रुसलाई भने रणनीतिकरुपमा फाइदा पुगेको विश्लेषण भैरहेको छ । रुसी अधिकारीहरुले पनि त्यस्तै सन्तुष्टिको प्रतिक्रिया दिइरहेका छन् ।
रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले जेलेन्स्कीमाथि कटाक्ष गर्दै ट्रम्पको समर्थन गरेका छन् । ‘मलाई लाग्छ कि जेलेन्स्कीको झूटमध्ये सबैभन्दा ठूलो झूट भनेको ह्वाइट हाउसमा उनको भनाइ थियो कि २०२२ मा कीभ शासन एक्लो थियो, समर्थन बिना’, जाखारोभाले टेलिग्राममा लेखेका छन् ।
‘अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति भ्यान्स त्यो स्कम्ब्यागलाई प्रहार गर्नबाट पछि हट्नु भनेको संयमको चमत्कार हो’, कडा कटाक्ष गर्दै उनले थपे । जाखारोभाले जेलेन्स्कीलाई सबैसँग अप्ठ्यारो मान्छेको संज्ञासमेत दिएका छन् ।
रुसको सुरक्षा परिषद्का उपप्रमुख तथा पूर्व राष्ट्रपति दिमित्री मेदवेदेवले झन् कडा टिप्पणी गरेका छन् । जेलेन्स्कीलाई सुँगुर’ को दर्जा दिँदै उनले ‘ओभल अफिसमा उचित थप्पड’ पाएको भनी सन्तुष्टि जनाए ।
‘पहिलो पटक, ट्रम्पले कोकेन जोकरलाई सत्य भनेः कीभ शासन तेस्रो विश्व युद्धसँग खेलिरहेको छ । र कृतघ्न सुँगुरले आफ्नै मालिकबाट कडा थप्पड पायो’, मेदवेदेवले भने, ‘त्यसका लागि लायक उसलाई त्यो अझै यो पर्याप्त छैन । नाजी मेसिनलाई सैन्य सहायता रोक्नै पर्छ ।’
रूसी प्रत्यक्ष लगानी कोषका प्रमुख किरिल दिमित्रीभले शुक्रबारको घटनालाई ‘ऐतिहासिक’ भनी वर्णन गरेका छन् । साउदी अरबमा भएको रुस–अमेरिका वार्तामा मस्को प्रतिनिधिसमेत रहका उनले यो टकरावलाई अमेरिकी नीति परिवर्तनको सङ्केत भनेका छन् ।
राष्ट्रपति पुटिनले भने अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् । यद्यपि यस घटनाक्रमबाट उनी पनि सन्तुष्ट रहेको विश्वास गरिएको छ ।
युक्रेनी खनिज अमेरिकालाई जिम्मा लगाउने सम्बन्धी सम्झौताका लागि ह्वाइट हाउस पुगेका जेलेन्स्कीको राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग वार्ताकै क्रममा भनाभन भएको थियो । ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रुससँगको युद्ध दुई सातामा सकिने कठोर टिप्पणी गरेपछि जेलेन्स्की क्रुद्ध भएका थिए । विवाद बढ्दै जाँदा ट्रम्पले ह्वाइट हाउस छाड्न भनेपछि कुराकानी छोडेर उनी बाहिरिएका थिए ।
यो घटनापछि पश्चिमाहरुले जेलेन्स्कीप्रति दयाभाव प्रकट गरेपनि अमेरिका र ट्रम्पको विरोधमा भने बोलेका छैनन् । बरु ट्रम्पले कच्चा कूटनीति प्रदर्शन गरेको भन्दै अमेरिकामै उनको आलोचना भैरहेको छ । डेमोक्र्याटिक पार्टीका नेताहरु ट्रम्प नीतिको विपक्षमा खुलेका छन् ।
चौतर्फीरुपमा आइरहेको प्रतिकूल प्रतिक्रियाका बीच ट्रम्प भने युक्रेनमा शान्ति बहाली गराउने अडानबाट अलिकति पनि टसमस भएका छैनन् । शुक्रबारको घटनापछि ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले जेलेन्स्कीलाई युद्धप्रेमीको संज्ञासमेत दिए । युक्रेनले कुनै पनि हालतमा रुसविरुद्ध युद्ध जित्न नसक्ने दाबी पुरानै दोहोर्याएका छन् ।
टिप्पणीहरू