हाकिमद्वारा आफ्नै अड्डामा हातपात

हाकिमद्वारा आफ्नै अड्डामा हातपात
सुन्नुहोस्

एक जना कार्यालय प्रमुखले जनआस्थालाई सूचना चुहाएको भन्दै आफ्ना सेकेण्ड म्यानको घाँटी निमोठ्न खोजेका छन् । घटना ललितपुरस्थित, पाटन औद्योगिक क्षेत्रको हो र प्रसङ्ग भने हप्ता दिन अगाडिको ।

राजपरिवारको नाममा रहेका करोडौं मूल्य पर्ने सुन, हिरा, मोतीजडित सयौं तक्माबाट असली धातु निकालेर नक्कली धातु जडान गरिएको बारे जनआस्थामा समाचार प्रकाशन भएको थियो । उक्त समाचार आएसँगै गृह, प्रदेश मातहतको उद्योग मन्त्रालयमात्र होइन, सोही कार्यालयमा समेत हलचल भयो र त्यहाँका कार्यालय प्रमुखले सूचना चुहाएको भन्दै आफूपछिका कर्मचारीको घाँटी ङ्याकिदिए । सुरक्षाकर्मीले छेकेका कारण त्यस दिन थप अप्रिय घटना भने हुन नपाएको बुझिएको छ ।

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा भएको अनियमितताभन्दा ठूलो सो प्रकरणमा बाग्मती प्रदेश उद्योग तथा वाणिज्य कार्यालय सोझै जोडिन्छ । राजपरिवारको नाममा रहेका १८९ थरी तक्माका हजारौं परिमाण ०७१ साल साउन १४ देखि पाटन औद्योगिक क्षेत्रभित्र राखिएका छन् । जसमा महेन्द्रमाला १ थान, नेपाल प्रताप भाष्कर २ सेट, नेपाल प्रताप भाष्कर स्वल्पाकार १० सेट, नेपाल प्रताप भाष्कर ५ थान, महागौरव तेजश्वी त्रिभुवन श्रीपद पहिला २ थान, महागौरव तेजश्वी त्रिभुवन श्रीपद पहिला स्वल्पकार ४ लगायत उक्त कार्यालयका नयाँ, पुराना र भाँचिएका दराजमा पोको पारेर राखिएको छ । राजपरिषद्को नाममा रहेको २२ थान ब्रेचपीनको सक्कली तामाबाट सुन–चाँदी निकाली करोेडौं हिनामिना गरिएको र यसमा कार्यालय प्रमुख, लेखा र स्टोरका कर्मचारीको मिलेमतो रहेको समाचार प्रकाशन भएपछि कार्यालय प्रमुख सन्तोष मोक्तानले एक तहमुनिका गणेश राउतको घाँटी समातेका हुन् । सुरक्षाकर्मी नजिकै भएका कारण त्यस दिन ठूलो घटना हुन नपाएको उक्त कार्यालयका कर्मचारीहरुले जनाएका छन् । सन्तोष बागमती प्रदेशकी उद्योगमन्त्री सुकमाया तामाङका भाञ्जा हुन् ।

यता जनआस्थाले समाचार लेखेसँगै कार्यालयमा पोको पारेर राखिएका तक्माहरुको सिल खोलेर हेरिएको छ । राजपरिवारको नाममा रहेका यस्ता तक्मा बाग्मती प्रदेश मातहत पाटन औद्योगिक क्षेत्रभित्र रहेको उद्योग तथा वाणिज्य कार्यालयमा राखिँदै आएको थियो । १८९ थरी तक्माका हजारौं परिमाण ०७१ साल साउन १४ देखि त्यहाँ भण्डारण गरिएको छ । यो विषयमा समाचार पढेर बाग्मती प्रदेशका प्रमुख सचिव महादेव पन्थ नै त्यहाँ गएको बारे जिज्ञासा राख्दा आफू उक्त कार्यालयमा एक घण्टा घुमेर फर्किए पनि निरीक्षण प्रयोजनका लागि भने नगएको बताए । उनले भने, ‘म पहिला गृहमा बस्दा तक्मा बनाउन यही कार्यालयलाई दिइन्थ्यो, घरेलु हुँदै अहिले प्रदेश मातहत पुगेको रहेछ । कार्यालयले अहिले के कसरी काम गरिरहेको छ जान्न मन लागेर हेर्न गएको हुँ ।’ 

यता, कार्यालयको सूचना चुहिएपछि कार्यालय प्रमुख मोक्तानले गणेश राउतविरुद्ध सम्पत्ति शुद्धीकरण र अख्तियारमा उजुर हाल्ने चेतावनीसमेत दिएका छन् ।
 

टिप्पणीहरू