ज्योतीले कार्यक्रम रोकेको जिकिर गर्दै दुर्गेशले भने : रणनीति गज्जबको रहेछ

मेला-महोत्सवहरुमा हेलिकोप्टरबाट इन्ट्री गर्ने गायक दुर्गेश थापाको एउटा कार्यक्रम दर्शकले 'बहिष्कार' गरेको घटनामा गायिका ज्योति मगर जोडिएकी छन् । उक्त कार्यक्रम लक्षित मगरको टिप्पणीमा दुर्गेशले कडा जवाफ फर्काएपछि चल्तीका यी दुई कलाकारको कलह सामाजिक सञ्जालमा छरप्रष्ट भएको छ ।
तुलसीपुरमा आयोजित दोश्रो कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापारिक महोत्सवमा शनिबार दुर्गेशले प्रस्तुति दिर्ने कार्यक्रम तय भएकोमा दर्शक नआएपछि भोलिपल्टलाई सारियाे । तर, आइतबार पनि त्यहि अवस्था दोहोरिँदा दुर्गेश त्यसै फर्किनुपर्यो ।
दाङमा दुर्गेशको कार्यक्रम बहिस्कृत हुनुमा ‘पल-समीक्षा फ्याक्टर’ मुख्य कारण रहेको अनुमान गरिएको थियो । तर, बिचमा टिप्पणी गर्न टुप्लुक्क आइपुगिन् गायिका मगर । उनले फेसबुकमार्फत 'दाङमा दुर्गेश थापाको हेलिकोप्टर उड्यो कि उडेन' भनी कटाक्ष गरेकी थिइन् ।
कार्यक्रम रोकिएपछि तनावमा रहेका दुर्गेशलाई त्यस्तो टिप्पणीलेले 'आलो घाऊमा नुनचुक छर्किए' झैँ हुने नै भयो । जवाफ फर्काउँदै उनले ज्योतिकै कारण कार्यक्रम रोकिएको दाबी गरेका छन् । ज्योतीलाई कार्यक्रम रोक्न सफल भएकोमा दुर्गेशले व्यंगात्मक शैलीमा धन्यवाद पनि दिएका छन् ।
कार्यक्रम रोकिएकै दिन ज्योतिले फेसकुबमा लेखेकी थिइन्, ‘आज दाङको तुलसीपुर महोत्सवमा चर्चित कलाकार दुर्गेश थापा भाइको हेलिकप्टर उड्यो कि उडेन ? हल्लाखल्ला सुनिएन त कतै । कमेन्टमा खबर गरुम त दङ्गाली सञ्चार माध्यमहरु । दुश्मन हेरेको हेर्यै होइन दुश्मन पर्खेको पख्र्यै थिए रे भन्ने हल्ला पो आयो त !’
दुर्गेशले चाहिँ ‘जबसम्म मेरो लागि दर्शकहरुको माया छ, तबसम्म मलाई कसैले हल्लाउन सक्दैन’ भन्दै ज्योतिलाई काउन्टर जवाफ लेखे । ‘केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल र नियोजित रणनीतिले मलाई हजुरहरू माझ उपस्थित हुन दिएन’, उनले लेखेका छन्, ‘कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेन भनेर लेख्न भ्याउनु भएछ। उहाँलाई मेरो बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो । रणनीति साँच्चै गज्जबको रहेछ ।’
दुर्गेशले विभिन्न मेला-महोत्सवबाट आफ्नो नाम काट्न ज्योतीहरु लागि परेको पनि जिकिर गरेका छन् । ‘मेलाहरूमा मेरो नाम काट्न लागिपरेका आदरणीय दिदी तथा मित्रहरू, हजुरहरू मेरो नाम काट्दै जानुस्, म मेरो नामको ब्रान्ड बनाउँदै जान्छु’, उनले थपेका छन् ।
स्मरण रहोस्, केही वर्ष अघिसम्म ज्योती र दुर्गेश असल साथी थिए । उनीहरुले कयौँ ठाउँमा सँगै गीतसमेत गायका छन् । तर, पल-समीक्षा प्रकरणपछि यी दुईको सम्बन्धमा तिक्तता आएको धेरैको अनुमान छ ।
टिप्पणीहरू