माओवादी नेताका पुत्र खानमै मस्त

बुवा तत्कालीन मुख्यमन्त्री, छोराको कामचाँहि ठगी ! माओवादी केन्द्रका एक भिआइपी पुत्रले आफ्नै गाउँ ठाउँका मानिसलाई रुवाएको पाइएको छ । रोल्पाली नेता जोखबहादुर महरा जो लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत हुन्, उनैका छोरा तुकमानले धेरै स्थानीयबाट पैसा लिएर फिर्ता नदिई भागिभागी हिँड्ने गरेको उजुरी परेको छ ।
तुकमानबाट ठगिने सूचीमा एक जना पत्रकार पनि छन् । मोटरसाइकल बेचेको पैसा माग्दामाग्दै बिसी थरका पत्रकार हत्तु भइसकेका छन् । रोल्पाकै उनले २०७९ मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनताका आफ्नो मोटरसाइकल तुकमानलाई चार लाख रुपैयाँमा बेचेका थिए ।
अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष तथा हाल पार्टीको लुम्बिनी प्रदेशका सदस्य तुकमानले केही समयमै पैसा चुक्ता गरिदिने प्रतिबद्धता जनाए । स्थानीय भएको हुँदा उनले नकार्न सकेनन् । यद्यपि, दुई वर्ष बितिसक्दा पनि उनको हातमा पैसा परेको छैन । तुकमानले मोटरसाइकल चलाएर थोत्रो बनाइसके, उनीचाँहि पैसाकै पर्खाइमा छन् । उनका अनुसार तुकमानले फोन नै उठाउँदैनन् । अति नै भएपछि जोखबहादुरसामु गुनासो पोखेका थिए ।
जोखबहादुरले केही दिनमा रकम फिर्ता गर्ने वचन दिएको उनको जिकिर छ । भन्छन्, ‘तुकमानले त फोन नै उठाउँदैनन् । त्यसैले मैले बुवासँग कुरा गरेँ । केही समयमा रकम फिर्ता गर्छु भन्नुभएको छ । गर्नुभएन भने कानुनी प्रक्रियामा जान्छु । यत्तिका समय भइसक्यो, मैले त साथी भनेर पो दिएको !’ उनीबाट ठगिने अर्का पात्र हुन्, स्थानीय भीमसेन डाँगी । उनले सामाजिक सञ्जालमार्फत आफ्नो वेदना पोखेका छन् ।
भीमसेन कुनै समय रंगको कारोबार गर्थे । कारोबार एकदमै राम्रो चलिरहेको थियो । तर, दुई वर्षदेखि पैसाकै लागि भौंतारिरहेका छन् । आफ्नै व्यवसायमा रमाइरहेका उनलाई तुकमानले अमेरिका पठाउने सुनौंलो सपना देखाए । नेताको छोराले भनेपछि नपत्याउने कुरै भएन ।
रोल्पाको सुनिल स्मृति गाउँपालिका अध्यक्षमा उठ्न आतुर तुकमानले एक सातामै अमेरिका पठाइदिने र त्यसका लागि २० लाख रुपैयाँ लाग्ने बताएका थिए । हतारोमा पैसा मागेपछि भीमसेनले अघिल्लो वर्षको भदौ १५ र १६ गते १०–१० लाख गरेर २० लाख रुपैयाँ बुझाए । ऋण काढेर बुझाएका उनले अमेरिका जाने भएपछि चलिरहेको पसल बेचे ।
तुकमानले फोन गरेर भिसा आएको र अमेरिका उड्ने तयारी थाल्नु भनेपछि काठमाडौं आए । भीमसेनका अनुसार, उनले श्रम मन्त्रालयका एक कर्मचारीलाई भेट्न भनेका थिए । त्यहाँ पुगेपछि झसंग भए । ती कर्मचारीले उनी ठगिएको बताए । उनले पटकपटक तुकमानलाई सम्पर्क गरे । तर, फोन उठेन ।
त्यसपछि गाउँ फर्किएका उनले तुकमानले धेरैलाई ठगेको जानकारी पाए । आफू कानुनी प्रक्रियामा जाने भनेपछि केही रकम फिर्ता पाएको बताउँछन् । अझै १७ लाख बराबर लिन बाँकी रहेको सुनाए । त्यो रकम पनि पाँच हजार–१० हजार गरेर फिर्ता दिएको भीमसेन बताउँछन् । जनआस्थासँग भने, ‘मैले एकमुष्ट रकम दिएको हुँ । तर, कहिले पाँच हजार दिन्छन्, कहिले १० हजार । मलाई साह्रै समस्या भएको छ । उता ऋणको किस्ता तिर्नुपर्छ । त्यो तिर्दातिर्दै आजित भइसकें । मेरो आर्थिक अवस्था पनि डामाडोल बन्यो । त्यस्तो राम्रो चलिरहेको पसल थियो ।’
सँधै आज–भोलि भन्दै झुलाएपछि उनले केही दिनअघि फेसबुकमा एउटा स्ट्याट्स लेखेरै पैसा फिर्ता मागे । लुङबहादुर महराले फोन गरेर पैसा फिर्ता माग्दा केही समय कुर्न आग्रह गरिएपछि स्ट्याट्स हटाएका छन् । तोकिएको समयमा पैसा नपाए पुनः स्ट्याट्स लेख्ने उनको चेतावनी छ । हाल काठमाडौंको टोखा बस्दै आएका तुकमानले शान्तिसेनामा पठाइदिन्छु, असईमा बढुवा गरिदिन्छु भन्दै थुप्रोसँग पैसा असुलेको बताइन्छ । तुकमानसँग यस विषयमा बुझ्न पटकपटक फोन गर्दा पनि उठाएनन् ।
टिप्पणीहरू