महान् बन्न कहाँ सजिलो छ र मान्छेलाई

महान् बन्न कहाँ सजिलो छ र मान्छेलाई

मोनालिसा विश्वकै सबैभन्दा लोकप्रिय र प्रसिद्ध चित्रकला भएकोमा आजसम्म कसैले बिमति जनाएको छैन । चित्रकार लियोनार्दो दा भिन्चीले कोरेको यो चित्र किन यतिधेरै प्रसिद्ध भयो, कलाकारले यो कसको परिकल्पनामा कोर्न थालेका होलान् जस्ता यावत विषय भने आजपर्यन्त रहस्यको गर्भमै छ । भिन्चीले यो चित्र कोर्ने काम सन् १५०३ मा शुरु गरेको त सबैले मानेका छन् तर सकियो कहिले भन्नेबारे बहस छ, कसैले ४ वर्ष लगाएर तयार पारेको भन्ने गरेका छन् त कसैले १४ वर्ष । जे होस् सन् १५१८ सम्ममा यो तयार भइसकेको मान्नुपर्ने हुन्छ, किनभने यसैवर्ष फ्रान्सका तात्कालीन राजा फ्रान्सिस (प्रथम) ले भिन्चीबाट यो चित्र किनेको बताइन्छ ।

सन् १५१९ मा त उनको निधन नै भइसकेको थियो । त्यसो त यो चित्र भिन्चीले आफू जिवित हुन्जेल कसैलाई नबेची आफ्नै घरको भित्तामा झुण्ड्याउने गरेको, उनले यो चित्र अपुरो छाडेको र पछि शिष्यहरुले बल्ल पूरा गरेको दाबी गर्नेको पनि कमी छैन । यी सबै कुरा यसकारणले पनि रहस्यमय बन्न पुग्यो किनभने भिन्ची आफैं सिद्धहस्त लेखक थिए यसको बाबजुद आफ्नो लेखनमा यो चित्रबारे कहीं कतै उल्लेख गरेनन् । उनीद्वारा लिखित पुस्तक ‘कोडेक्स् लैसेस्टर’ को पाण्डुलिपि माइक्रोसफ्टका मालिक बिल गेट्सले सन् १९९४ मा ३ करोड १० हजार डलर तिरेर किनेका थिए ।

मोनालिसा इटलीको फ्लोरेन्स निवासी रेशम व्यापारी फ्रान्सिस्को डि बार्तोलोमेयो डेल गिओकोन्डोकी पत्नी लिसा डेल गिओकोन्डो हुन् भन्ने धेरैको मत छ । उनको बिहे सानै उमेरमा पाको उमेरका फ्रान्सिस्कोसित भएको थियो । ती व्यापारीले पत्नीको जन्मदिनमा उपहार दिन सो चित्र भिन्चीलाई तयार गर्न लगाएको मानिन्छ । यो चित्र लिसाकै हो भन्नेहरुका अनुसार त्यसबेला उनी ६ सन्तानको आमा बनिसकेकी थिइन्, जबकि चित्र कोर्न थाल्दा उनी मात्र २४ वर्षकी थिइन् । १५ वर्षको कलिलो उमेरमै बिहे गरेकी उनी फ्रान्सिस्कोकी दोश्री पत्नी थिइन् । चित्र कोर्न लगाउँदा गर्भवती थिइन्, त्यसैले उनको शरीरमा कुनै गहना छैन, हातमा औंठीसम्म पनि छैन ।

अमेरिकी येल युनिभर्सिटीको शरीर संरचना विभागका प्रोफेसर शेर्विन न्युल्यान्डका अनुसार गर्भावस्थाको कारण शरीर सुन्निन सक्ने भएकाले गहना उतारेर राखिदिएको हुनुपर्छ । नत्र धनी स्त्रीको शरीरमा गहना नहुने कुरै हुँदैन । शेर्विनको यो पनि दावी छ कि गर्भावस्थाको कारण नै मोनालिसाको दुवै हात र अनुहार सुन्निएको चित्रमा स्पष्ट देख्न सकिन्छ । उनले आफ्नो दुवै हात यसरी राखेकी छन् कि जसबाट गर्भावस्थामा बढेको पेटको आकार नदेखियोस् । यथार्थमा भिन्चीले यो चित्रको शीर्षक राखेका थिए– मोन्ना लिसा । यसको अर्थ इटालियन भाषामा ‘मेरी मेडम लिसा’ हुन्छ । तर पछि सबैले मोनालिसा उच्चारण गर्न थाले । यो चित्र कुनै स्त्रीको नभई चित्रकार भिन्चीको आफ्नै आत्मचित्र हो भन्ने मत पनि छ । यसो भन्नेहरुका अनुसार भिन्चीले आफू स्त्री भएको भए कस्तो देखिने रहेछु भन्ने कल्पना गरेर तयार पारेका हुन् ।

उता जर्मन कलासम्बन्धी इतिहासकार सुश्री माइक बोग्ट–लयरेसनका अनुसार चित्रमा देखिएकी महिला इटलीको अरांगो प्रान्तका ड्युककी पत्नी इशाबेल हुन् । इशाबेलको मुखमा दुःख यसकारणले झल्किएको छ किनकि भिन्चीले उक्त चित्र कोर्नु केही समयअघि मात्र उनकी आमाको निधन भएको थियो । उनका अनुसार लोग्नेले मदिरा पिएर उनीमाथि कुटपिट गर्थे । आफ्नो पुस्तक ‘हु इज मोनालिसा’ मा उनले भिन्ची त्यसबेला ड्युकको दरबारमा शाही कलाकारको रुपमा कार्यरत भएको र इशाबेलसित नजिकको सम्बन्ध रहेको उल्लेख गरेकी छन् । त्यसरी नै ८ वर्षअघि एकजना जापानी दन्त चिकित्सकले मोनालिसाको मुस्कानको रहस्य अगाडिका दुइटा दाँत भाँचिएको र त्यसैले माथिल्लो ओंठ एकतर्फ अलिकति दबिएको जस्तो देखिएको उल्लेख गरेका थिए । झट्ट हेर्दा मोनालिसा मुसुक्क हाँसिराखेको देखिने तर यथार्थमा त्यो मुस्कान नभई भाँचिएको दाँतको कारण रिक्त स्थानलाई लुकाउन माथिल्लो ओठलाई घचेट्ने प्रयास हो भन्ने उनको दाबी छ ।

यो चित्र यतिधेरै किन प्रसिद्ध भयो भन्नेमा पनि सबैको मत समान देखिंदैन तर धेरैको भनाइअनुसार यो चित्र महिलाको मन्द हाँसोले यसलाई प्रसिद्धिमा पु¥याएको हो । चित्रको विशेषता पनि यही हो कि फरकफरक कोणबाट नियाल्दा भिन्न मुस्कान देखिन्छ । झट्ट हेर्दा धेरै हाँसेको र हेर्दै जाँदा हाँसो कम हुनुका साथै अन्त्यमा हाँसो नै देखिन्न । भिन्ची सबैभन्दा बढी ओंठमा केन्द्रित हुने गरेका थिए, जसको कारण मुस्कानयुक्त ओंठ बनाउन मात्र १२ वर्ष लगाए । तर, हार्वर्ड विश्वविद्यालयका न्युरोलोजिस्ट डा. मार्गरेटले सन् २००० मा गरेको शोधपछि भनेकी छन्– मोनालिसाको मुस्कान फेरिंदैन, यो स्थिर नै छ, यो चित्र यसरी बनेको छ कि हेर्नेले जस्तो हेराइ खोजेको छ त्यस्तै देखिन्छ । यो चित्रको विशेषता नै यही हो । विश्वप्रसिद्ध यो चित्र आकारमा ठूलो पनि छैन, ३० इन्च लम्बाइ र २१ इन्च चौडाइको छ । भनिन्छ यसमा भिन्चीले ३० भन्दा बढी पत्र रंग हालेका छन् त्यसैले यति सानो चित्रकला पनि ८ किलो गह्रुँगो हुन पुग्यो । फेरि यो चित्र उनले कागजमा कोरेको नभई काठको बोर्डमा बनाएका हुन् ।

यो चित्र आफैंमा रहस्यपूर्ण त छ नै झन् सन् १९११ मा पेरिसको संग्रहालयबाट चोरी भएपछि यसको प्रसिद्धिले आकाश छुन पुग्यो । शुरुमा चोरीको आरोप अर्का विश्व प्रसिद्ध स्पेनिस चित्रकार पाब्लो पिकासोमाथि लाग्यो । त्यसबेला पिकासो पेरिसमै थिए ।कुनै बेला नेपोलियन बोनापार्टले आफ्नो शयनकक्षको भित्तोमा झुण्ड्याएको यो चित्रकला सन् १७९७ देखि लुभ्रे संग्रहालयमा राख्ने गरिएको हो । कलाकृति हराएको खबरले ठूलो स्थान पायो । प्रायः सबै अखबारले मोनलिसाको तस्बिरसहितको समाचार छापे । नागरिक मोनालिसा राखिएको खालि भित्ता हेर्न तँछाडमछाड गर्दै संग्रहालय पुग्न थाले । भीड यति बढ्यो कि सरकारलाई अरु कलाकृति हराउने डर भयो, नतिजा, संग्रहालय नै बन्द गर्न आदेश दिइयो ।

अनुसन्धानकै क्रममा पिकासोसँग पनि सोधपुछ गरियो तर चोर संग्रहालयकै एक कर्मचारी विन्सेन्जो पेरुगिया निस्किए । उनले उक्त चित्रकारिता निकै मन पराएको र त्यसलाई चित्रकार भिन्चीको देश इटलीमै लान खोजेको बयान दिए । ३२ वर्षीय उनले ६ महिनाको सजायँ पाए । इटलीले भने उनलाई सच्चा देशभक्त घोषणा गर्‍यो । हराएको २ वर्षपछि भेट्टाइएको उक्त कलाकृति पेरिस ल्याइपुर्‍याएपछि मोनालिसाको चर्चा एकाएक चुलियो । त्यसपछि उक्त कलाकृति हेर्न वर्षौं लाखौं मानिस लुभ्रे संग्रहालय् पुग्न थाले । यसको प्रसिद्धिको अनुमान यसरी पनि लगाउन मिल्छ, लुभ्रे संग्रहालयमा गत वर्ष ८७ लाख र सन् २०२३ मा ८९ लाख प्रवेश गर्दा तीमध्येका ८० प्रतिशत मोनालिसाको तस्बिर अवलोकन गर्न मात्र पुगेका थिए । मोनालिसाको चित्रकला बिक्रीका लागि राखिएको छैन तर पनि यसको मूल्य साढे २ अर्ब डलर अनुमान गरिएको छ ।

यो चित्रलाई लोकप्रिय बनाउनमा अरु घट्ना पनि जिम्मेवार छन् जस्तो एकजना फ्रान्सिसी कलाकार लुक मास्पेरोले सन् १८५२ को जुन २३ मा पेरिसको एउटा होटलको छतबाट हाम्फालेर आत्महत्या गरे । सुसाइड नोटमा लेखिएको थियो– म मोनालिसाको प्रेममा पागल भइसकें । यतिमात्र होइन, संग्रहालयमा मोनालिसाको चित्रमुनि कैयौं प्रेमपत्र र गुलाफको फूल राखिएको हुन्छ । सबै पत्र मोनालिसाकै नाउँमा हुन्छ । त्यसबाहेक कैयौं पटक यो चित्रकला बिगार्ने कोसिस गरिएको खबर पनि निस्किरहन्छ । कसैले मसी छ्यापेको हुन्छ भने कसैले चक्कु प्रहार गरेको, एकजनाले ढुंगाले हानेको, अर्कोले एसिड र अर्कोले लाठी फालेको । यो चित्रकला कति धेरै बहुमूल्य छ भने दोश्रो विश्वयुद्धताका यसलाई ६ स्थानमा सारिएको थियो ताकि यो कृति जर्मनहरुको हातमा नपरोस् ।

लियोनार्दो दा भिन्ची एक महान चित्रकार मात्र थिएनन्, वैज्ञानिक, गणितज्ञ, वास्तुकार, मूर्तिकार, अन्वेषक, इञ्जिनियर, लेखक र दक्ष मेकानिस्ट पनि थिए, हार्मोनियम बजाउँथे । साथै शरीर रचना, भूगर्भ शास्त्र, खगोल विज्ञान, वनस्पति विज्ञान, इतिहास विषयमा पनि राम्रो जानकार थिए । कैंचीको आविस्कार उनैले गरेका हुन् । उनले १६ औं शताब्दीमै प्यारासुट, हेलिकप्टर, हवाइजहाज र टैंकको डिजाइन तयार पारिसकेका थिए । जुन पछिका वैज्ञानिकहरुलाई काम लाग्यो । कोही एकजना व्यक्तिमा यति धेरै विषयको ज्ञान विरलै हुन्छ । त्यसैले उनलाई इतिहासकै महान व्यक्ति भन्ने गरिएको छ ।

यसबाहेक उनी दुवै हातले लेख्न सक्थे, एकैपटक एउटा हातले लेख्ने र अर्को हातले चित्र कोर्न सक्थे । उल्टोबाट पनि सजिलै अक्षर लेख्थे, उनको यो लेखाइ पढ्नु परे ऐनाको सहयोग नलिई सुख हुन्नथ्यो । गोप्य राख्न चाहेको कुरो उनी यसरी लेख्थे । जबकि उनले स्कुलमा कहिल्यै पाइलासम्म टेकेका थिएनन् । यसबाहेक उनले हतियार, युद्धमा प्रयोग हुने वाहनको स्केच, शहरको नक्सांकन त्यतिबेलै बनाएका थिए । सन् १५१९ मा निधन हुँदा ६७ वर्षका थिए । मोनालिसाबाहेक उनका प्रमुख कृतिमा भर्जिन अफ रक्स, लेडी विद एन एर्मिन, भच्र्युभियन म्यान र लास्ट सुपर आदि छन् ।
 

टिप्पणीहरू