डिजिटल कारोबारमा ‘फ्रि वाईफाई’ को प्रयोग ‘खतरा’

सार्वजनिक स्थानका नेटवर्क (फ्रि वाईफाई) प्रयोग गरेर डिजिटल कारोबार नगर्न नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत गराएको छ । यस्ता नेटवर्कमार्फत अनलाइन बैंकिङ्ग कारोबार गर्दा व्यक्तिगत र बैंकिङ्ग विवरणमा ह्याकरले पहुँच पुर्याउन सक्ने भन्दै केन्द्रीय बैंकले सतर्क गराएको छ ।
बैंकले सुरक्षित र विश्वसनीय नेटवर्कमार्फत मात्र अनलाइन बैंकिङ्ग कारोबार गर्न आग्रह गरेको छ । आफ्नो व्यक्तिगत तथा बैंकिङ्ग विवरणको सुरक्षा सुनिश्चित हुने गरी सुरक्षित र विश्वसनीय नेटवर्कमार्फत मात्र डिजिटल कारोबार गर्नुपर्ने बैंकको सुझाव छ ।
‘डिजिटल बैंकिङ्ग कारोबारको लागि सार्वजनिक, निःशुल्क वा अन्य कुनै पनि असुरक्षित नेटवर्क प्रयोग गर्दा तपाईंको बैंकिङ्ग विवरणमा अनाधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ,’ सूचनामा उल्लेख छ, ‘यस्ता नेटवर्कमा विभिन्न ह्याकर र वित्तिय अपराधीहरुसमेत जोडिएका हुन सक्छन्, जसले तपाईंको महत्वपूर्ण वित्तिय विवरणमा पहुँच पुर्याई सोको दुरुपयोग गर्न सक्छन् ।’
तसर्थ, डिजिटल कारोबार गर्दा बैंकको आधिकारिक वेबसाइट र एप्लिकेसनको प्रयोग गरी, कारोबार गर्ने पासवर्ड र पिन कोड समयसमयमा परिवर्तन गर्न पनि बैंकले सुझाएको छ ।
टिप्पणीहरू