तोडफोड र हातपात बढेपछि कारबाहीको चेतावनी

तोडफोड र हातपात बढेपछि कारबाहीको चेतावनी

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न क्याम्पसमा तोडफोड र हातपातको घटना बढेको छ । ती घटनाप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । 

मन्त्रालयले त्यस्ता घटनामा संलग्न विद्यार्थीलाई कारबाही गरिनेबारे सचेत गराएको छ । विश्वविद्यालय र क्याम्पसका सार्वजनिक संरचना तोडफोड तथा स्ववियु निर्वाचनमा खटिएका पदाधिकारीमाथि हातपात गर्नेलाई कानुनअनुसार कडा कारबाही गरिने विज्ञप्तिमार्फत् जानकारी गराइएको छ । 

मन्त्रालयका प्रवक्ता एंव सहसचिव शिवकुमार सापकोटाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘विश्वविद्यालय तथा क्याम्पसहरुका सार्वजनिक संरचना तोडफोड भएको र निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीहरुलाई विभिन्न किसिमका धम्की आइरहेको भन्ने समाचारप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

मन्त्रालयले कसैले स्ववियु निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गरेमा तत्काल कारवाही गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ । ‘निर्वाचन आचारसंहिता विपरितका कार्यहरू कानुनबमोजिम दण्डनीय हुने भएकोले त्यस्ता कार्य गर्ने गराउने उपर प्रचलित कानुन बमोजिम कारवाही गर्न गराउन मन्त्रालय प्रतिवद्ध रहेको छ,’ पत्रमा उल्लेख छ ।

टिप्पणीहरू