भित्तामै लगेर नाम टाँस्नु पर्ने भएपछि.....

भित्तामै लगेर नाम टाँस्नु पर्ने भएपछि.....

केन्द्रमा विरोधीशून्य पार्टी चलाइरहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तल्लो तहबाट भने एकपछि अर्को चुनौती तेर्सिन थालेको छ । पार्टीको प्रदेश र जिल्ला अधिवेशनमा संस्थापन खेमालाई ठाउँ–ठाउँबाट धक्का लागेपछि अर्को एक कार्यकाल अध्यक्ष खाने तयारीमा रहनुभएका उहाँ संकटमा पर्नुभएको हो । पछिल्लो पटक मोरङबाट पनि सुखद खबर सुन्न पाउनुभएन । 

अध्यक्ष ओलीकै गृह प्रदेशको राजधानीसमेत रहेको मोरङको अधिवेशनलाई संस्थापन पक्षले प्रतिष्ठाको विषय बनाएको थियो । ओलीको दूत बनेर अधिवेशन उद्धघाटन गर्न पुगेका पूर्व माओवादी नेता रामबहादुर थापाले सर्वसम्मत नेतृत्व छान्न निर्देशन दिएका थिए । अध्यक्ष ओलीको रुचिअनुसार जिल्लामा नेतृत्व छान्न केन्द्रीय नेताहरूको ठूलो टीम घुँडा धसेर लागेको पनि हो । तर, सर्वसम्मत त भएन नै, अध्यक्षसहित पदाधिकारीमा त्यता एक जनाले पनि जितेनन् । 

अधिवेशनमा संस्थापन समूहले राजकुमार ओझाको नेतृत्वमा प्यानल खडा गर्दा इतर खेमाबाट अजम्बर राई उठेका थिए । ४४६ मतसहित राईले अध्यक्ष जित्दा ओझालाई ४०७ भोट प्राप्त भयो । राई प्यानलबाटै उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झा विजयी भए । संस्थापन समूहले उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा कार्की र इर्जालाल राजवंशीलाई प्रतिस्पर्धामा उतारेको थियो ।

कोशीमा उपलब्ध सबैजसो स्थापित नेता ओझालाई जिताउन खटिएका थिए । सुवास नेम्वाङको ठाउँमा उपाध्यक्ष बनाइएका गुरु बरालदेखि प्रदेश इञ्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राई, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, राजेन्द्र गौतम हुँदै मुख्यमन्त्री हिक्मत कार्की, केन्द्रीय सदस्य जीवन घिमिरे र प्रदेश अध्यक्ष घनश्याम खतिवडासम्म ओझाको पक्षमा लागेका थिए । 

राईलाई भने लो प्रोफाइलका नेता विनोद ढकाल र युवराज बाँस्कोटा यज्ञको मात्र साथ थियो । अध्यक्ष ओलीसहितका केन्द्रीय नेता सबै एकातिर उभिँदा पनि आफ्नो समूहलाई जिताउन सफल ढकाल पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्छन् । अघिल्लो वर्ष प्रदेश अध्यक्षमा उठेका उनलाई पाखा लगाउन अहिलेजस्तै केन्द्रीय नेताहरूको ठूलो टिम खटिएको थियो । अधिवेशनलगत्तै पत्रकार सम्मेलन गरी ढकालले अध्यक्ष ओलीको निर्देशनमा आफूलाई षड्यन्त्रपूर्वक हराइएको दाबीसमेत गरेका थिए । 

निर्वाचनमार्फत नेतृत्व चयन गरिएका अधिकांश प्रदेश र जिल्लामा अध्यक्ष ओलीले रोजेका पात्र पराजित भइरहँदा मोरङको यो नतिजालाई अझै अर्थपूर्ण मानिएको छ । पार्टीमा फर्किने उपयुक्त समयको पर्खाइमा रहनुभएकी पूर्व राष्ट्रपतिलाई यसले प्रेरित गर्ने एमाले नेताहरूको विश्वास छ । पूर्व राष्ट्रपतिनिकट एक नेताले मोरङको परिणामलाई कार्यकर्तामा ‘बा’ प्रवृत्तिप्रति अरुचि बढ्दै गएको अर्थमा बुझ्नुपर्ने बताए । 

केन्द्रमा अध्यक्ष ओली र उहाँको कोर टिम शक्तिशाली भइरहँदा प्रदेश र जिल्लामा अर्कै चित्र देखिँदै छ । नेतृत्व चयनका क्रममा जहाँ–जहाँ निर्वाचन भएका छन्, त्यहाँ ओली–शंकर समूह पराजित भएको छ । गत वर्ष सम्पन्न लुम्बिनी प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व छान्न अध्यक्ष ओलीले दिएको निर्देशन कार्यकर्ताले टेरेनन् । उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पक्ष प्यानलबद्ध प्रतिस्पर्धामा उत्रियो ।

शंकरका उम्मेदवार हरिप्रसाद रिजाललाई हराउँदै विष्णुका राधाकृष्ण कँडेलले अध्यक्ष जिते । हरिलाई अध्यक्ष ओलीको पनि धाप थियो । कर्णाली अध्यक्ष गुलावजंग शाह पनि ओलीको रोजाइका पात्र होइनन् । अधिवेशनका दौरान फिल्डमा खटिएका कर्णाली तत्कालीन इञ्चार्ज लेखराज भट्टलाई फोन गरेर ओलीले गुलाबलाई जसरी पनि हराउन निर्देशन दिएको त्यतिबेलै चर्चा थियो । ओली–शंकरले अध्यक्ष जितेको बाग्मती र गण्डकीमा पनि इतर खेमा कमजोर देखिएन । 

काभ्रेको जिल्ला अधिवेशनमा गोकुल बाँस्कोटालाई गाली गर्दै चन्द्र लामाको समर्थनमा ओलीले डेढ घण्टा भाषण गर्नुभएको थियो । तर, गोकुल निकट राजन भुर्तेल अध्यक्ष निर्वाचित भए । धनकुटा, ओखलढुंगा, बाँके, बर्दियालगायतका जिल्लामा पनि माथिको निर्देशन तलका कार्यकर्ताले स्वीकार गरेनन् । प्रदेशको राजधानी शहरसमेत रहेकाले रणनीतिक हिसाबले महत्वपूर्ण मानिने मकवानपुर, कास्की, सुर्खेत र दाङमा संस्थापन पक्षीय उम्मेदवारले हारको सामना गर्नुपर्‍यो । झापामै चुनाव गरेको भए ओली पक्ष हार्ने स्थिति थियो, भनिन्छ । त्यसैले त्यहाँ सात दिन लगाएर बलजफ्ती कमिटी घोषणा गरिएको नेताहरू बताउँछन् । चितवनमा पनि एक महिनासम्म थकाएर, गलाएर अन्तिममा माथिको चाहनामुताबिक जिल्ला कार्यालयमा नाम लिष्ट टाँसिएको थियो । 

१० भाइ समूहका एक नेताको बुझाइमा यही कारण ओली र शंकरमा इलेक्सन होइन, सेलेक्सनतिर रुचि बढेको हो । त्यसलाई ‘भित्तेटाँस’ पार्टीको संज्ञा दिने उनी खुलाउँदै भन्छन्, ‘पञ्चायतका बेला मदनकृष्ण र हरिवंशले जोगमेयरलाई व्यंग्य गर्दै ‘भित्ते नमस्कार’ भन्ने नाटक देखाउँथे । राजासँग ङिच्च हाँसेको फोटो भित्तामा लगेर टाँस्ने भएकाले त्यसो भनिएको थियो । अहिले हाम्रो पार्टीमा नेताले चाहेका मान्छेको नाम भित्तामा टाँस्ने अभ्यास शुरु गरिएको छ ।’ 

सौराहा महाधिवेशनपछि एकलौटी नेतृत्व गरिरहनुभएका अध्यक्ष ओलीमाथि पार्टीलाई निजी क्लब बनाउन खोजेको आरोप लाग्दै आएको छ । १० भाइ समूह र पूर्वमाओवादीले मात्र हैन, ‘रैथाने’ एमाले पंक्तिसमेत रुष्ट हुँदै गएको मोरङको परिणामले छर्लंग भैसकेको छ । ‘जिल्ला र प्रदेशका अधिवेशनले के देखाउँछ भने पार्टीलाई व्यक्तिको क्लब बनाउने नेतृत्वको चाहनामा कार्यकर्ता सहमत छैनन्, एक जना सचिव भन्छन्, ‘अहिले एमालेभित्रको मुख्य अन्तरविरोध यही हो । यो लडाइँ कहाँ गएर टुंगिन्छ ठेगान छैन ।’
 

टिप्पणीहरू