बालुवाटारमा राति नेताहरु बमबम

बालुवाटारमा राति नेताहरु बमबम
सुन्नुहोस्

प्रधानमन्त्री केपी ओलीलाई भालुको कम्पट बन्दै गएका ६ वटामध्ये ५ वटा अध्यादेश आखिर कसरी र कुन शर्तका आधारमा पारित भए ? यो जिज्ञासा अहिले पनि धेरैलाई छ । त्यसनिम्ति भएका यावत कसरत सफल नबनेपछि फागुन १९ गते प्रधानमन्त्री केपी ओली, राजनीतिक सल्लाहकार विष्णु रिमाल, कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु देउवा र गृहमन्त्री रमेश लेखकसहितको उपस्थितिमा बालुवाटारमा एउटा छलफल भयो । सो छलफलमा अध्यादेशको चाबी हातमा बोकेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादवसमेत सहभागी थिए । संसद्को बैठक बसिरहेका बेला उनीहरूलाई साँझ ६ बजे निम्ता गरिएको थियो । 

समाचार स्रोतका अनुसार त्यहाँ एकअर्कालाई राम्रै घोचपेच भयो । विशेषगरी कांग्रेस र एमालेका नेता फकाउने कसरतमा थिए भने उपेन्द्र यादव निकै बम्किए । स्रोत भन्छ, ‘यादवले निकै राम्ररी तीतो पोखे । देउवालाई त ¥याख¥याख्ती नै पारे । तपाईंहरूको तरिका के हो ? हामीले भूमि विधेयकबाहेक अरु सबैमा समर्थन गर्छौं । नत्र सक्दैनौँ भनेर तपाईंको निवासबाट निस्क्या होइन ? हामी घर नपुग्दै मिडियालाई उपप्रधानमन्त्री मागे, गृहमन्त्री मागे, यो मागे, त्यो मागे भन्दै किन बदनाम गराउनुभएको ?’ 

उनको यस्तो रौद्ररुप देखेपछि देउवाले भने, ‘होइन, होइन त्यस्तो केही होइन । हामीले मिडियालाई केही कुरा भनेकै छैन । आफैँ अनुमान गरेर लेखे होलान् ।’ उनको यस्तो जवाफ सुनेपछि उपेन्द्र यादवले प्रमाण नै पेश गरेका थिए । उनले फेरि भने, ‘तपाईंका ती सचेतक घिमिरेले बोलेको भिडियो नै आइरहेको छ । तपाईंले होइन भन्दैमा हुन्छ ?’ यसलाई मत्थर पार्न रमेश लेखक अघि सरे, ‘ए, उहाँले न्युज हेरेर त्यस्तो बोल्नुभएको होला ।’ उपेन्द्रले फेरि जवाफ फर्काए, ‘तपाईंका सचेतक के हेरेर बोल्छन् त्यो तपाईंले नै जान्नुस् तर यसरी बदनाम गर्ने कामचाहिँ ठीक भएन, यस्तो काम नगर्नुस् ।’

बैठकको शुरुमै ओलीले यी अध्यादेश पारित गर्न तपाईंहरूको सहयोग चाहियो भन्दै नम्र भाषामा प्रस्ताव राखेका थिए । त्यसको जवाफमा जसपा नेताले, ‘भूमि आयोगबाहेक अन्य कुरा अगाडि बढाउनुस् । हामी पारित गराउन तयार छौँ ।’ भन्ने जवाफ दिएका थिए । ‘एउटा कार्यदल बनाऊँ, उसैलाई प्रतिस्थापन विधेयकमा समावेश गरिने कुराहरूको टुङ्गो लगाउने जिम्मा दिऊँ र अहिलेलाई पास गरौँ,’ रमेश लेखकको यस्तो प्रस्तावलाई भने भुइँमा झर्न नपाउँदै उपेन्द्र यादवले अस्वीकार गरे । उनले ‘भो, यस्ता उधारो कुरा नगरौँ । अहिले भूमि आयोगसम्बन्धी अध्यादेश फिर्ता लिनुस्, अरु पास गर्ने काममा हामी सहयोग गर्छौं’ भनेका थिए । अन्त्यमा मध्यमार्गी बाटो निकाल्दै कांग्रेस–एमालेका नेताले भने, ‘यदि तपाईंहरूले सहयोग गर्नुहुन्न भने त्यो फिर्ता गर्ने नै हो । अरु उपाय छैन, अहिलेलाई होल्ड गरौँ ।’

बाहिर हल्ला भएअनुसार जसपाले सरकारबाट समर्थन फिर्ता लिने भन्ने कुराचाहिँ अहिले अगाडि बढेको छैन । उनीहरूको बैठकमा यसबारे सामान्य चर्चासम्म भएको समाचार स्रोतले जनाएको छ ।
 

टिप्पणीहरू