थुप्रै जर्नेलको जिम्मेवारी हेरफेर

नेपाली सेनाले एक दर्जनभन्दा बढी जर्नेल (सहायक रथी) को सरुवा गरेको छ । आजैदेखि लागु हुनेगरी १३ जना जर्नेल र दुई जना कर्णेल (महासेनानी) लाई यताउता पारिएको छ ।
प्राप्त विवरणअनुसार भर्ना छनौट निर्देशनालयका सहायक रथी शक्तिजंग बस्नेतलाई निमित्त चिफ अफ स्टाफ, मध्यपश्चिम पृतना हेडक्वार्टर लगिएको छ । राष्ट्रिय सेवा दलका महेशकुमार थापालाई सैनिक तालिम महानिर्देशनालय र उक्त महानिर्देशनालयका लीलाबहादुर खनाल क्षेत्रीलाई निमित्त प्रशासन रजिष्ट्रारको हैसियतमा वीरेन्द्र अस्पताल पुर्याइएको छ ।
अन्य जर्नेलमा नम्बर ४ बाहिनी अड्डाका रोशनसमशेर जबरालाई राष्ट्रिय सेवा दलको निमित्त निर्देशक,सैनिक इन्टेलिजेन्स निर्देशनालयको निमित्त निर्देशकमा नम्बर २३ बाहिनी अड्डा,बागलुङका जगतबहादुर पौडेल तोकिएका छन् ।
त्यस्तै मध्यपृतना हेडक्वार्टरमा निमित्त चिफ अफ स्टाफ नम्बर ३ बाहिनी अड्डाका नरेन्द्र मल्ललाई लगिएको छ । नम्बर २३ बाहिनी अड्डामा निमित्त बाहिनीपति पश्चिम पृतना हेडक्वार्टरका अर्जुन खड्का तोकिएका छन् ।
सरुवामा मध्यपृतना हेडक्वार्टरका सहायक रथी सुवासजंग थापालाई निमित्त बाहिनीपतिको हैसियतमा नम्बर ६ बाहिनी अड्डा,बैरेनी लगिएको छ । सैनिक इन्टेलिजेन्स निर्देशनालयका अमृतकाजी गुरुङ नम्बर ३ बाहिनी अड्डा,पोखराको जिम्मेवारीमा पुगेका छन् । मध्यपश्चिम पृतना हेडक्वार्टरका निर्जलबहादुर अधिकारीलाई नम्बर २६ बाहिनी अड्डामा सरुवा गरिएको छ ।
कर्णेलहरुमध्ये सैनिक सचिव विभागको अतिरिक्त समूहमा रहेका प्रशान्तविक्रम राणालाई नम्बर ४ बाहिनी अड्डामा निमित्त बाहिनीपति र उपत्यका पृतना हेडक्वार्टरका मनोज थापालाई निमित्त बाहिनीपतिको जिम्मेवारीसहित नम्बर १४ बाहिनी अड्डामा लगिएको छ ।
टिप्पणीहरू