हजाम, ट्याक्सी चालक र लैंगिक हुर्मत

अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरोदयपछि विश्वराजनीतिमा हलचल मच्चिएको छ । ३ वर्षदेखि युद्धरत युक्रेन अमेरिकाको सहयोग रोकिँदा अभिभावकविहीन बन्न पुगेको छ । हतियार र पैसा त पाइएन नै अमेरिकाबाट जासुसी सूचनासमेत आउन छाडेपछि रुसबाट हुने आक्रमणको प्रतिकार कमजोर बन्न पुगेको छ । युक्रेनले अमेरिकी सूचनाकै भरमा रुसी सेनामाथि प्रत्याक्रमण गर्दै आएको थियो । ट्रम्पको नयाँ घोषणापश्चात् युरोपसमेत टुहुरो बन्न पुगेको छ । यसै सेरोफेरोमा विश्वका ३ जना व्यक्तिको चर्चा व्यापक छ । डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र संसारकै धनी एलन मस्क । ट्रम्प कपाल काट्ने हजामका नाति हुन् भने पुटिन ट्याक्सी ड्राइभर । डोनाल्ड ट्रम्पलाई नचाइरहने मस्कको पनि छुट्टै कथा छ ।
फ्रेडरिक ट्रम्पको परिवार जर्मनीको कालस्टाड्टमा खेतीपाती गथ्र्यो । सानै हुँदा पिता क्रिश्चियन जोहानेसको १० वर्ष लामो बिरामीपछि निधन भयो । उपचारमा निकै खर्च गर्नुपरेका कारण उनको मृत्युपछि परिवारमाथि ऋणको बोझ प¥यो । जोहानेसका ६ जना केटाकेटीमध्ये ५ जनाले अंगुर फलाउन खेतमा निकै मिहिनेत गरे । फ्रेडरिक शारीरिक तवरमा निकै कमजोर थिए, त्यसैले आमा क्याथरिन कोबेरले नाई (कपाल काट्ने हजाम) बनाउने सोचिन् र तालिम लिन फ्रान्केन्थाल नगरतर्फ पठाइदिन् । त्यसबखत उनको उमेर १४ वर्ष थियो । फ्रेडरिक लाङले उनलाई कपाल काट्ने तालिम दिए । फ्रेडरिकले उनैको सैलुनमा काम गरे । साताको सातै दिन काम गर्ने उनी पछि गाउँ फर्के । त्यसबेला गाउँमा मुस्किलले १ हजार मानिस बस्थे । त्यहाँबाट पार नलाग्ने भएपछि अमेरिकातर्फ पलायन भए ।
त्यसबखत जर्मनीमा १६ वर्ष लागेपछि अनिवार्य सैनिक तालिममा जानै पथ्र्यो । उनी सेनामा जान चाहन्नथे, त्यसैले आमाका नाउँमा पत्र छाडेर मध्यराति घरबाट भागे र एउटा जहाजमा लुक्न पुगे । उक्त जहाज १३ दिनपछि न्युयोर्क पुग्यो । त्यहाँ पुगेर दुई वर्षअघि त्यसरी नै गएकी दिदी क्याथरिनको घरमा ब्याग राखी काम खोज्न निस्किहाले । अमेरिका पुगेकै दिन जर्मन भाषा बोल्न जान्ने एक जना हजामको पसलमा काम पाए । त्यहाँ ६ वर्ष काम गरे । केही पैसा कमाइसकेपछि वासिङ्टन राज्यको सियाटल शहर पुगी एउटा पुरानो रेष्टुराँ किने । रेष्टुराँ पायोनियर स्क्वायरको मध्यभागमा थियो । सैलुन, वेश्यालय, जुवाको केन्द्र भनेर चिनिन्थ्यो । फ्रेडरिकले पनि आफ्नो रेष्टुराँमा सैलुन चलाउन, मदिरा सेवन गराउन र वेश्याका लागि कोठा दिन थाले । यसै व्यवसायबाट मनग्गे पैसा कमाए र सन् १८९२ मा नागरिकता लिए । एकपछि अर्को व्यवसाय थाले र धनी बने । उनीपछि छोरा फ्रेडरिक क्रिष्ट ट्रम्प र उनका पनि छोरा डोनाल्ड ट्रम्प व्यवसायमार्फत नै अमेरिकाको धनी व्यक्ति बने । उनै हजाम फ्रेडरिकका नाति डोनाल्ड ट्रम्प यतिखेर ७ अर्ब डलरको मालिक छन् ।
साधारण परिवारका जन्मिएका पुटिनकी आमा कारखाना मजदुर र बाबु जलसेनामा थिए । सानोमा जिद्दी तर झुझारु उनी ८ वर्षको उमेरमा बल्ल स्कूल गए । कसैसँग डराउँदैनथे किनभने १२ वर्षकै उमेरमा जुडो र रुसी मार्सल आट्र्स ‘साम्बो’ सिकिसकेका थिए । कक्षामा ढिलो पुग्थे । उनीसित जाडोमा लगाउने न्यानो लुगासम्म हुन्नथ्यो । यद्यपि, तेज दिमागका थिए । फुर्सद पाउनेबित्तिकै माक्र्स, एंगेल्स र लेनिनको पुस्तक पढ्थे । कानुनमा स्नातक गरेलगत्तै सोभियत कम्युनिष्ट पार्टीको सदस्यता लिए । यो सदस्यता सन् १९९१ मा सोभियत संघ विघटन नहुञ्जेलसम्म रह्यो । उनले सहायक प्रोफेसर अनातोली सोब्चकसित मिलेर ‘रुसी संविधान’ नामक पुस्तकसमेत निकाले । रुसी गुप्तचर संस्था केजीबीमा लेफ्टिनेन्ट कर्नेलको रूपमा १६ वर्ष काम गरे । सोभियत संघको पतनपश्चात् केजीबीको जागिर छाडे । संघको पतनपश्चात् जताततै अस्तव्यस्तता छायो र अर्थतन्त्र धराशयी भयो । धेरैको रोजगारी खोसियो । यस्तो अवस्थामा शुरुमा एम्बुलेन्स र पछि ट्याक्सी चलाएर परिवार पाले ।
जे गर्छु भन्ठान्थे गरिछाड्ने, सबैसित लड्न मन पराउने, दुष्मनबाट खतरा छ भन्ने महसुस हुनेबित्तिकै पहिला आफैँले आक्रमण गर्न पुग्ने स्वभावका उनको यसबीच मस्कोका मेयर अनातोली सोब्चकसित पुनः भेट भयो । सोब्चकसितै मिलेर पुटिनले पुस्तक लेखेका थिए । उनले पुटिनलाई आफ्नो सचिवालयमा जनसम्पर्क, अन्तर्राष्ट्रिय सम्बन्ध र विदेशी मामिला हेर्ने सल्लाहकार बनाइदिए । यहींबाट उनको राजनीतिक जीवन शुरु भयो । उनी सेन्ट पिटसबर्ग स्थानीय सरकारको उपाध्यक्ष हुँदै प्रधानमन्त्री अनि सन् २००० मा पहिलो पटक राष्ट्रपति बने । सन् २००४ मा पुनः राष्ट्रपति, सन् २००८ मा प्रधानमन्त्री अनि सन् २०१२ देखि लगातार राष्ट्रपति छन् । सोभियत संघ विघटनपश्चात् रुसी राष्ट्रपति बनेका बोरिस येल्तसिनको पियक्कड र युवती देखेपछि जताततै नाचिहाल्नुपर्ने नराम्रो बानीले गर्दा पुटिनलाई लाभ मिल्यो ।
एलन मस्क ३ सय ४७ अर्ब डलरका मालिक हुन् । यसपालि ट्रम्पको पक्षमा अकुत धनराशी खर्च गरे जबकि चुनावी माहोल पूरै ट्रम्पको विपक्षमा थियो । अघिल्लो चुनावमा उनी स्वयं पनि डेमोक्रेटिक पार्टीको मतदाता थिए । ट्रम्प हारेको भए ट्रम्पलाई त्यति घाटा हुन्नथ्यो होला जति मस्कलाई हुन्थ्यो । ट्रम्प हार्दा मस्कले ४० वर्ष लगाएर कमाएको सम्पत्ति र साख माटोमा मिल्न पुग्थ्यो । उनले यसपालि ट्रम्पसित मिलेर यस्तो खतरनाक जुवा खेले, जो जोसित उनको न कहिल्यै व्यावसायिक सम्बन्ध थियो न वैयक्तिक । उनले खेलेको जुवा बदलाको भावनाबाट प्रेरित थियो । मस्क ३ महिलाबाट कूल १४ सन्तानको पिता बनिसकेका छन् । तिनीहरूमध्ये जेभियर र गृफिन जुम्ल्याहा हुन् । सन् २०२२ को अप्रिलमा मस्कको जीवनमा एउटा यस्तो घटना भयो जसबाट उनले महसुस गरे कि संसारकै धनी व्यक्ति भएर पनि उनी कति कमजोर छन् । मस्कको जेठो छोरा जेभियर हुन् तर मस्क उनी मरिसकेको बताउने गर्छन् । उनै जेभियरले आफ्नो १८औं जन्मदिन पारेर केटीको हुलियामा अदालत गई मस्कसितको सम्पूर्ण सम्बन्धविच्छेद भएको बताएका थिए । उनले यो पनि भनेका थिए कि म शारीरिक रूपमा आफूलाई स्त्री मान्दछु । उनले सोही दिन आफ्नो नाउँ परिवर्तन गरेर भिभियन राखेका छन् ।
अमेरिका मात्र होइन, विश्वमै लिंग परिवर्तन नयाँ विषय होइन तर मस्क छोरामा कुनै शारीरिक समस्या नभएको, मात्र चिन्ताग्रस्त र भ्रमित हुने गरेको र उनको यिनै कमजोरीबाट फाइदा उठाएर केही व्यक्तिले उनलाई लिंग परिवर्तन गर्न उक्साउने गरेको मान्दथे । जेभियरले बाबुको इच्छाविपरीत लिंग परिवर्तन गरेबाट मस्क निकै रन्थनिए । र, लिंग परिवर्तनको पक्षमा अभियान चलाउँदै आइरहेको समूहलाई निमिट्यान्न पार्ने कसम खाए तर उनको यो कार्य त्यति सजिलो थिएन, किनभने लिंग परिवर्तनको पक्षमा स्वयं राष्ट्रपति जोए बाइडेन थिए । उनी लिंग परिवर्तनलाई सहज बनाउने कानुनसमेत निर्माण गर्दै थिए । सोही क्रममा क्यालिफोर्नियाले त एउटा कानुन तर्जुमा नै ग¥यो । मस्कले उक्त कानुनको खुलेर विरोध गरे । विरोधस्वरूप आफ्नो एउटा कारखाना क्यालिफोर्नियाबाट टेक्सासमा सारे ।
मस्कलाई लाग्यो– आमाबुबाको सहमतिबिना लिंग परिवर्तन गर्ने छोराछोरीको कार्यलाई रोक्ने हो भने सत्तामा पहुँच हुनु आवश्यक छ । त्यति मात्र होइन, बाइडेनको सरकारले एकपछि अर्को गर्दै मस्कको व्यवसायलाई अप्ठ्यारो पार्दै थियो । यस्तो अवस्थामा ‘शत्रुको शत्रु मित्र हुन्छ’ भन्ने भनाइलाई चरितार्थ गर्दै मस्क ट्रम्पसित हात मिलाउन पुगे किनभने लिंग परिवर्तनको सवालमा ट्रम्पको विचार मस्कसँग नजिक थियो । यद्यपि, मस्क पनि ट्रम्पलाई मन पराउने व्यक्तिमा पर्दैनथे । ट्विटरमा उनले ट्रम्पलाई ब्लकसम्म गरेका थिए । यसबीच, उनले ट्विटर किने र मस्कलाई अनब्लक गरे । लगत्तै ¥यालीमा भाग लिँदै गर्दा ट्रम्पमाथि आक्रमण भयो । यो घटनालगत्तै ट्रम्पका आलोचक मस्क ट्रम्पको नारा अंकित टोपी लगाएर घुम्न थाले । उता, मस्कको कम्पनीलाई काम नलाग्ने कम्पनी बताउँदै आएका ट्रम्पले पनि उनलाई प्रतिभावान् व्यक्ति भनिदिए ।
चुनावी प्रचारप्रसारमा जब मस्कको प्रवेशसँगै ट्रम्पको लोकप्रियताले शिखर चुम्न थाल्यो । नतिजास्वरुप १० दिनमै जोए बाइडेन पछाडि हटे र कमला ह्यारिसलाई अघि सारे । यसपछि भने कमला ह्यारिसको समर्थन ह्वात्तै बढ्यो तर यसको बावजुद मस्कले आँखा चिम्लिएर ट्रम्पको समर्थनमा आफ्नो सर्वस्व लगाए । मस्कको इन्टरनेट सेलिब्रिटी र जिनियस इनोभेटर इमेजको फाइदा ट्रम्पलाई मिल्न थाल्यो । यसबाहेक मस्कले ट्रम्पलाई जिताउन मतदातालाई अनेक प्रलोभन देखाए, करोडौं डलर खर्च गरे । र, अन्त्यमा सबैले विवादास्पद मानिएका ट्रम्पलाई जिताइछाडे । अब ट्रम्प सरकारको छेउमा बसेर उनले के–कति लाभ लिन सफल हुन्छन् त्यो भने हेर्न बाँकी छ ।
टिप्पणीहरू