‘गाइडलाइन्स’ विपरीत सामाजिक सञ्जाल चलाउन प्रहरीमा बन्देज

प्रहरी कर्मचारीहरुले नियमविपरीत सामाजिक सञ्जाल चलाउन थालेपछि प्रहरी प्रधान कार्यालयले पुनः सचेत गराएको छ । सामाजिक सञ्जालमा जथाभावी टिकाटिप्पणी गर्ने,गोपनीयता भंग गर्ने,संगठनको छविमा नकारात्मक सन्देश जाने सामग्री पोष्ट गर्ने, ट्विट,रि–ट्विट गर्ने, प्रशासनिक गतिविधिउपर टिप्पणी गर्नेलगायतका क्रियाकलाप बढेपछि मुख्यालयले कर्मचारीसहित सुपरीक्षेवकलाई कारबाही गर्ने कडा चेतावनी दिएको हो ।
मुख्यालयले मातहतका सबै विभाग,अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा,नेपाल प्रहरी अस्पताल, उपत्यका प्रहरी कार्यालय, सातै प्रदेशको प्रदेश प्रहरी कार्यालय,भरतपुरस्थित प्रहरी शिक्षालय, सबै नेपाल प्रहरी प्रदेश कार्यालय, प्रदेश प्रहरी तालिम कार्यालय, तीन जिल्लाका प्रहरी परिसर र ७४ जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्दै प्रहरी अधिकृत र जवानहरुबाट व्यापक रुपमा ‘गाइडलाइन्स’ विपरीत कार्य भइरहेको जानकारी गराएको छ ।
केही प्रहरी कर्मचारीले सांगठनिक गतिविधि, प्रशासनिक निर्णयका सन्दर्भमा बहालवाला तथा पूर्वप्रहरी कर्मचारीविरुध्द अमर्यादित, अशिष्ट, गैरव्यवसायिक र प्रहरी आचरण विपरीत अभिव्यक्ति दिने, गोपनीयता भंग गर्ने काम गरिरहेको उल्लेख गर्दै मुख्यालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मुख्यालयले ‘प्रहरी कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश, २०७७’ मा उल्लेख भएका आचरणको पालना गर्न निर्देशन दिएको छ । कार्यादेशको उल्लंघन गर्नेलाई ‘प्रहरी नियमावली, २०७१’ बमोजिम कारबाही गर्ने मुख्यालयको चेतावनी छ ।
हिजो गरिएको पत्राचारमा भनिएको छ,‘प्रहरी कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश, २०७७ मा उल्लेख भएबमोजिम प्रहरी कर्मचारीले गर्नुहुने र गर्न नहुने आचरण व्यवहारलगायत सामाजिक सञ्जाल प्रयोगसम्बन्धी कार्यादेशको अवज्ञा गर्नु संगठनको नीति, निर्देशनको अक्षम्य उल्लंघन हुने भएकोले ती गतिविधिमा संलग्न प्रहरी कर्मचारीलाई जिम्मेवार बनाई प्रहरी नियमावली, २०७१ बमोजिम हदैसम्मको कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’
त्यसैगरी, प्रहरी कर्मचारीहरुले सामाजिक सञ्जाल प्रयोग गर्ने नीति र आचारसंहिता विपरीतको गतिविधि गर्दा उनीहरुलाई सम्झाउने, सचेत र कारबाही गर्ने कार्यमा सुपरीवेक्षकले उदासिनता देखाएको मुख्यालयको जिकिर छ । अब उप्रान्त त्यस्ता कार्य भएमा सुपरीवेक्षकलाई पनि कारबाहीको दायरामा ल्याइने मुख्यालयले जनाएको छ । मुख्यालयले यसअघि पनि पटकपटक प्रहरी कर्मचारीहरुलाई सचेत गराइसकेको छ ।
टिप्पणीहरू