क्रान्तिका लागि तयार रहन अपिल गरेका लामिछाने उच्च अदालतमा

क्रान्तिका लागि तयार रहन अपिल गरेका लामिछाने उच्च अदालतमा
सुन्नुहोस्

सहकारी ठगी प्रकरणमा आधा दर्जन जिल्लामा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन् । धरौटीमा छोड्ने काठमाडौं जिल्ला अदालतको यसअघिको आदेशविरुद्ध उनले उच्च अदालतमा आज निवेदन दर्ता गराएका हुन् । 

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन सम्बन्धि मुद्दामा गत माघ ३ गते जिल्ला अदालतले लामिछानेलाई ‘अहिले नै निर्दोष हुन् भन्ने अवस्था नदेखिएको’ जनाउँदै ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो ।

उक्त आदेश चित्त नबुझेको र त्यो बदरको माग गरिपाउँ भनी उच्च पुगेका उनले साधारण तारेखमा मुद्दा पुर्पक्ष गर्न पाउनुपर्ने जिकिर गरेका छन् । कास्की र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध लामिछाने यसअघि नै पुनरावेदनमा गइसकेका छन् । 

अब चितवनको सहारा सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालतले गरेको ५४ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्ने आदेशविरुद्ध मात्र उनी उच्चमा जान बाँकी छ । पर्साको सानो पाइला सहकारीको बचत हिनामिनामा मुछिएका उनीमाथि अनुसन्धान सम्पन्न भएपनि अहिलेसम्म मुद्दा दर्ता भएको छैन ।

सहकारी ठगीको यति ठूलो मुद्दा झेलिरहेका र पछिल्लो समय मौन रहेका लामिछानेले सरकारविरुद्ध कडा धारणा राखेका छन् । उच्चमा पुनरावेदन पश्चात पत्रकारसँग कुरा गर्दै उनले अहिले बोल्ने बेला नआएको तर आफू बोलेपछि दुई तिहाइको सरकारको बोलि बन्द हुने जिकिर गरे । 

राजावादी आन्दोलनबारे मौन रहँदै आएका लामिछानेले क्रान्तिका लागि तयार रहन अपिलसमेत गरेका छन् ।
 

टिप्पणीहरू