एमालेको कुटाइबाट मारिएका कार्यकर्ताको दैलोमा प्रचण्ड

सरकारमा रहँदा शहीद तथा बेपत्ता परिवारप्रति वास्ता नगरेको आरोप लागेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा उनीहरुप्रति एकाएक माया पलाउन थालेको छ ।
जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा विभिन्न जिल्ला पुगिरहनुभएका उहाँले शहीद परिवारका सदस्यसँगको भेटघाटलाई विशेष महत्व दिएको देखिन्छ । यसैबीच प्रचण्ड एमाले कार्यकर्ताको कुटाईबाट मारिएका माओवादी कार्यकर्ताको घरमा पुग्नुभएको छ ।
अभियानका दौरान पर्सामा रहनुभएका उहाँ आज दिउँसो विन्दावासेनी गाउँपालिका वहुअर्वा भाटास्थित मुकेश चौरासियाको घर जानुभएको हो । प्रचण्डसहित अभियान टोलीले मुकेशका आमाबुवालाई भेट्नुको साथै त्यहि खाना खाएको माओवादी केन्द्रले जनाएको छ ।
तत्कालीन नेकपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला २०७७ सालमा विन्दवासीनी गाँउपालिका कमिटीको सपथ ग्रहण कार्यक्रमस्थल बाहिर झडप भएको थियो । दुई पक्षबीच विवाद हुँदा बाँसको भाटाले एक अर्कालाई प्रहार गर्ने क्रममा मुकेशको निधन भएको थियो ।
मुकेशको परिवारलाई भेटेर निस्कनुभएका प्रचण्डले वहुअर्वामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्नुभएको छ । यसपछि आजै अन्य भेटघाटका कार्यक्रम सकेर अभियान टोली चितवन पुग्ने बताइएको छ ।
पार्टीलाई जनस्तरमा जोड्दै संगठन विस्तार, जनताबाट सुझाव संकलन, जनता र पार्टी नेतृत्वबीच सम्बन्ध बिस्तार गर्नेजस्ता उद्देश्य लिएर माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान थालेको हो । नेपालकै होचो भूभाग झापाको केचनकबलमा प्रचण्डले फाुगन १२ गते उद्घाटन गरेको अभियान कञ्चनपुर पुगेर समापन हुनेछ ।
झापाबाट मोरङ, सुनसरी, सप्तरी, सिरहा हुँदै अभियान रौतहट पुगेका बेला राजावादी गतिविधि बढेको भन्दै प्रचण्डसहितका नेता काठमाडौँ फर्किएका थिए । एक हप्तासम्म स्थगित अभियान अस्तिदेखि पुन: सूचारु भएको हो ।
टिप्पणीहरू