चितवनका होटल–होटलमै लागुऔषध कारोबार

चितवनका होटल–होटलमै लागुऔषध कारोबार
सुन्नुहोस्

जिल्ला प्रहरी कार्यालय चितवनले अस्ति रत्ननगरबाट लागुऔषध खैरो हेरोइनसहित एकजना पक्राउ परेको जानकारी दिएको छ । रत्ननगर नगरपालिका वडा नं. ७, मालपुरमा लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बछौलीबाट खटिएको प्रहरी टोलीले स्थानीय गणेश लामालाई घरकोठाबाटै पक्राउ गरेको चितवन प्रहरीले बताएको छ ।      

घरको कोठाभित्र बसिरहेको अवस्थामा अन्दाजी ३३ वर्षीय लामालाई फेला पारी नियन्त्रणमा लिएर चेकजाँच गर्दा ४ ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित नगद रु. एकलाख २० हजार ७० रुपैयाँ र लागुऔषध तौलिन प्रयोग गरिने तौल मेसिन समेत एकथान बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन्द्र खनालले जानकारी दिएका छन् । नियन्त्रणमा लिइएका लामालाई लागुऔषधसम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

यसअघि, गत शनिबार पनि चितवन प्रहरीले भरतपुर–१२ कालिका टोलस्थित हाम्रो कटेज एण्ड रेष्टुरेन्टबाट लागुऔषध खैरो हिरोइनसहित चारजनालाई नियन्त्रणमा लिएको थियो । कटेजमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भरतपुर–१२ बस्ने २४ वर्षीय प्रवेश शाही ठकुरी, २८ वर्षीय नवीन श्रेष्ठ, ३७ वर्षीय धीरज दराई र ३२ वर्षको सुभास गुरुङलाई चेकजाँच गर्दा २ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरी प्रवक्ता बताउँछन् । उक्त लागुऔषध र नगद रु. सात हजारसमेत बरामद भई नियन्त्रणमा लिइएका चारैजनालाई अदालतबाट नौ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले भोलिपल्टै जानकारी गराएको थियो ।     

चितवनमा चैत्र २ गते नै भरतपुर महानगरपालिका–३ स्थित एक होटलबाट पनि लागुऔषधसहित प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको थियो । कमलनगरस्थित बागलुङ कालिका खाजाघरमा लागुऔषध कारोबार भइरहेको सूचना पाएर पुगेको प्रहरी टोलीले खाजाघरका सञ्चालक ३५ वर्षीय राजेश लामा र चितवनकै कालिका नगरपालिका–८ देवीटार बस्ने २६ वर्षीय कृष्ण विक सुनारलाई चेकजाँच गर्दा उनीहरुले लुकाइछिपाइ राखेको जेब्रा झोलामा ६ किलो ३९५ ग्राम गाँजा भेटिएपछि लागुऔषध कसुरमा दुवैलाई नियन्त्रणमा लिएर कारबाही चलाइएको प्रहरीले बताएको थियो । 

टिप्पणीहरू