पूर्वराजाको टोली नवदुर्गा पार्टी प्यालेसमा

राजतन्त्र र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि सडक संघर्ष अघि बढाउने उद्धेश्यसहित विभिन्न राजावादी समूह मिलेर बनेको 'राष्ट्रवादी आन्दोलन परिचालन समिति' को बैठक बसेको छ ।
राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष तथा उक्त आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीको उपस्थितिमा सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा अपराह्न पौने ३ बजेदेखि शुरु भएको बैठक अहिले चलिरहेको छ । बैठकको अध्यक्षता राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपाका महामन्त्री धवलसमशेर राणाले गरेका छन् ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री राजेन्द्र गुरुङ,अभियन्ता रमा सिंह,कमल थापा समूहका उपाध्यक्ष तारानाथ लुइँटेल र इन्द्र चित्रकारको बैठकमा उपस्थिति रहेको छ । शिवसेना नेपालका अध्यक्ष अनिल बाबा,पूर्वमन्त्री हरिबहादुर बस्नेत,वीर गोर्खाली अभियानका अभियन्ता बसन्तविक्रम पाण्डे पनि सामेल छन् ।
सुवेदीको नेतृत्वमा आन्दोलन परिचालन समिति बनाउन हौसिएर लागेका नवराजावादी दुर्गा प्रसाईको टोलीबाट भने बैठकमा प्रतिनिधित्व नरहेको बुझिएको छ । चैत १५ गते विद्रोहमार्फत व्यवस्था उल्ट्याउने उद्धघोषका साथ गाडीमा आफ्नो फोटो अंकित व्यानर टाँगेर प्रचार गराइरहेका प्रसाईचाहिं दिल्ली पुगेका छन् ।
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश सार्वजनिक गर्दै पूर्वराजा ज्ञानेन्द्रले 'अब बेला आयो,मलाई साथ दिनुस्' भनेपछि जुर्मुराएका राजावादीहरु आन्दोलनको तयारीमा छन् । तर, विभिन्न समूहमा छरिएर रहेका राजावादी दल, संगठन र व्यक्तिहरु एकले अर्काको अस्तित्व स्वीकार नगर्दा आन्दोलनले गति लिन सकेको छैन ।
त्यसकारण निर्मल निवासले सबैलाई एकत्रित गर्दै आन्दोलन अघि बढाउने जिम्मा ८६ वर्षे सुवेदीलाई दिएको बताइएको छ । तर, लामो समयदेखि राजनीतिमा सक्रिय नरहेका वयोवृद्ध उनले दरबारको विश्वास जित्दा राप्रपामा भने आन्तरिक कलह चर्किएको छ ।
टिप्पणीहरू