सार्वजनिक यातायातमा जोगिनै मुश्किल,समातिए सात

काठमाण्डौ प्रहरीले सार्वजनिक बसमा पाकेटमारी गर्ने आधा दर्जन बढीलाई नियन्त्रणमा लिएको छ । चोरीको मोबाइल,ल्यापटप र ट्याबसहित सात जनालाई समातिएको हो ।
एसपी अपिल बोहराका अनुसार पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका–५ का ३५ वर्षीय प्रमोद परियार, खानीखोला गाउँपालिका–५ का २६ वर्षीय गुनराज न्यौपाने, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–६ का ३० वर्षीय हेमन्त रानामगर, दोलखाको शैलुङ गाउँपालिका–६ का २८ वर्षीय शम्भु विश्वकर्मा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का २२ वर्षीय राजेश चालिसे, दोलखाको कालिन्चोक गाउँपालिका–५ का २१ वर्षीय सबिन पाण्डे र काठमाडौंको सिनामंगल स्थायी घर भएका २० वर्षीय प्रकाश कटुवाल छन् ।
हिजो साँझ भक्तपुरको थिमिबाट कोटेश्वर आउने क्रममा पाकेटमारी भएको भन्दै एक यात्रुले उजुरी दिएका थिए । त्यसलगत्तै खोजतलासमा परिचालन भएको प्रहरी टोलीले पाकेटमारीमा संलग्नहरुलाई पक्राउ गरेको छ । अनुसन्धानको क्रममा उनीहरुले चोरीको मोबाइल भक्तपुरको जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बेच्ने गरेको खुलेको जिल्ला प्रहरी परिसर,काठमाडौंले जनाएको छ ।
परिसरका अनुसार २७१ थान मोबाइल, १५ थान ल्यापटप र ९ थान ट्याब बरामद गरिएको छ । जसमध्ये आइफोन १८ थान, नोकिया पाँच थान, सामसुङ ८३ थान, पोको दुई थान, वानप्लस चार थान, एमआई १९ थान, लिनेभो आठ थान, होनर तीन थान, ओप्पो १८ थान, जियोनी सात थान, हुवावे २७ थान रहेको छ ।
त्यसैगरी, कलर्स चार थान, भिभो १४ थान, मोटोरोला पाँच थान, रेडमी १५ थान, टेक्नो दुई थान, आईटेल ६ थान, भिटु एक थान, रियालमी आठ थान, कुलप्याड एक थान, इन्फिनिक्स तीन थान, ए–प्लस एक थान, माइक्रोम्याक्स दुई थान, टिसीएल एक थान, लाभा १० थान र नाम नखुलेको मोबाइल चार थान रहेको परिसरले जानकारी दिएको छ ।
परिसरका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू