देउवालाई दवाव दिने शेखरको दाउ, प्रमुख सचेतकलाई पद छोड्न दबाब

देउवालाई दवाव दिने शेखरको दाउ, प्रमुख सचेतकलाई पद छोड्न दबाब

सत्तारुढ नेपाली कांग्रेसको संस्थापन इतर खेमाका नेता डा. मिनेन्द्र रिजालले प्रमुख सचेतक श्याम घिमिरेको राजीनामा मागेका छन् । 

‘यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्छ’ भनी घिमिरेले संसदमा बोलेको विषयप्रति आपत्ति प्रकट गर्दै उनले पद छोड्न सुझाएका हुन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा रिजालले भने, 'श्यामजीसँग मेरो कुनै नराम्रो सम्बन्ध छैन,हाम्रो मित्रता राम्रो छ । तर यो बाटोबाट हुन्न । नेपाली कांग्रेसको प्रमुख सचेतक छान्दा कस्तो मान्छे छानेका रहेछौँ भने....’ 

चैत ३ गतेको प्रतिनिधि सभा बैठकमा सभापति शेरबहादुर देउवा पक्षका घिमिरेले भनेका थिए, ‘यौन व्यवसायलाई व्यवसायीकरण गरेर अर्थोपार्जन गर्न सकिन्छ, पर्यटक बढाउन सकिन्छ’ । यद्यपि, उक्त अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि उनले संसदबाटै क्षमायाचना गरिसकेका छन् ।

यो बाटोबाट हुन्न । नेपाली कांग्रेसको प्रमुख सचेतक छान्दा कस्तो मान्छे छानेका रहेछौँ भने.... 

तर, माफी माग्दैमा पार्टीको गरिमा फिर्ता नहुने भन्दै रिसाएका रिजालले प्रमुख सचेतकको जिम्मेवारी त्याग्न सल्लाह दिए । ‘जथाभावी बोल्ने भए नेपाली कांग्रेसको प्रमुख सचेतकबाट बिदा लिएर बोले हुन्थ्यो नि !’, उनले भने, ‘बिदा लिनुपर्दैन ? माफी मागे हुन्छ भन्ने हो भने जथाभावी बोल्ने अनि माफी माग्दै हिँड्ने ?’

उता, संस्थापन इतर गुटका मुख्य नेता शेखर कोइरालाले निर्धारित समयमै महाधिवेशन गर्न सभापति देउवालाई दबाब दिने उद्धेश्यले फेसबुकबाटै नयाँ अभियान चलाउने भएका छन् । आज राजधानीकै एक कार्यक्रममा बोल्दै उनले 'समयमै महाधिवेशन हुनुपर्छ' भनेर फेसबुकमा स्टाटस लेख आफूपक्षीय नेता-कार्यकर्तालाई निर्देशन दिए । 

छैठौँ पटक प्रधानमन्त्री बनेर मात्र महाधिवेशन गराउने देउवाको चाहनाले कांग्रेसभित्र ‘सिरियस’ अवस्था सिर्जना भएको कोइरालाको विश्लेषण छ । ‘साथीहरुले सामाजिक सञ्जालमा दिनदिनै केही लेखिरहेको देख्छु, अब मेरोतर्फबाट पनि एउटा कुरा लेख्दिनुस्’, उनले भने, ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन ०८२ मंसिर मसान्तसम्म हुनुपर्छ भनेर लेख्नुस् ।’

समयमै महाधिवेशन गराउनका लागि सभापति देउवालाई ‘डिजिटल प्रेसर’ दिनुबाहेक अब अर्को विकल्प नभएको उनको भनाई छ । ‘त्यसले यस्तो प्रेसर पर्छ कि कसैले खप्न सक्दैन । को जित्छ, को हार्छ, त्यो आफ्नो ठाउँमा छ । तर, कांग्रेसलाई चलायमान गराउने त अधिवेशनबाट हो नि’, कोइरालाले थपे ।

टिप्पणीहरू