१५ गते गणतन्त्रवादी र राजावादीको जुलुस,गृहमा तारन्तार बैठक

राजावादीहरुको बढ्दो कार्यक्रम र आन्तरिक सुरक्षाबारे छलफल गर्न सरकार नियमित बैठकमा जुटेको छ । गृह मन्त्रालयमा हिजो दिउँसो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा विशेषगरी दुर्गा प्रसाईंहरुको आगामी शुक्रबार १५ गते हुने राजधानी केन्द्रित प्रदर्शनमा हुनसक्ने हुलदङ्गा र घुसपैठ अनि सो को सुरक्षा ब्यवस्थावारे बृहद छलफल भएको छ ।
गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल गेटदेखि निर्मल निवाससम्म जम्मा भएको भीडलाई हेरेर आगामी शुक्रबारको आकलन गर्न थालिएको हो । राजावादीहरुलाई पारिका हिन्दूवादी राजनीतिज्ञहरुले समेत ढाढस दिएको बुझाई सुरक्षा निकायको छ ।
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले बैठकमा प्रस्तुत गरेको झण्डै एक दर्जन पृष्ठको प्रतिवेदनमा उक्त संकेत गरिएको थियो । राजावादीहरुबीच एकता नरहेको,पारीको नजानिँदो साथ र समर्थन रहेको भन्दै उनले पेश गरेको १० पृष्ठ लामो निवन्धरुपी टिपोटमा आन्दोलनकारीहरुले घोषणा गरेका सबै खाले कार्यक्रमको न्युज कटिङ्ग समावेश गरिएको गृह स्रोतले बतायो ।
आन्दोलनकारीहरुमध्ये पनि एकथरीले पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा बढाउनुपर्ने माग गरेको बताइन्छ । तर त्यस्तो प्रचारमा कुनै सत्यता नरहेको सुरक्षा स्रोतले बतायो । गृह मन्त्रालयका अधिकारीहरुले शाहको सुरक्षा नबढाइएको दाबी गरेका छन् ।
यता नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) को आधा दर्जन पद रिक्त भएको छ । नयाँ महानिरीक्षकमा दीपक थापाको नियुक्तिपछि देखिएको एआईजी बढुवाको दौडमा राष्ट्रिय अनुसन्धानबाट नेपाल प्रहरीमा छिरेका दुई जनालाई एआईजीमा बढुवा गर्नैपर्ने लबिङ शुरु भएको छ ।
टिप्पणीहरू