बन्दुकधारी बेलैमा नपुग्दा नेपालगन्जमा झण्डै बबाल

सवारी साधनको ठक्करबाट ज्यान गुमाएका दुई बालकका परिवार र गाडी धनीबीच हिजो राती सहमति भएको छ । २१ लाख रुपैयाँ क्षतिपूर्ति दिने सम्झौतापछि पीडित पक्ष शव उठाउन तयार भएको छ । बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीस्थित नारायणी निर्माण सेवाको पानी ट्याङ्करले हिजो दिउँसो वडा नम्बर १ बस्ने ९ वर्षका विशाल गोडिया र आठ वर्षका शिवकुमार गोडियालाई ठक्कर दिएको थियो ।
एकै घरका दाजुभाइ उनीहरु साइकल चलाइरहेका थिए । पछाडिबाट आएको ट्याङ्करको ठक्करबाट घटनास्थलमै मृत्यु भएपछि आफन्त र स्थानीय सडकमा उत्रिए । सो क्रममा ट्याङ्करसहित चार वटा मोटरसाइकल, एउटा स्कुटर र दुईटा साइकलमा आगजनी गरिएको छ । त्यसैगरी, आन्दोलनकारीले प्रहरी चौकी, बेतहनीमा पनि ढुंगामुढा गरेपछि घटनालाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल,नेपाल ३० नम्बर गणका निरीक्षकको कमाण्डमा ५३ जना खटिएका थिए ।
तर,सशस्त्र प्रहरीले मात्र नसकेपछि नेपाल प्रहरीको टोली पनि परिचालन गरियो । प्रहरीले ईन्सासबाट ३२, एसएलआरबाट सात राउण्ड र ३२ ग्याँस सेल फायर गरेको थियो । घटनामा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की घाइते भएका छन् । उनको हातको कुइनामा चोटपटक लागेको छ । उनीसँगै झण्डै डेढ दर्जन प्रहरी र सशस्त्र घाइते भएको बुझिएको छ । स्रोतका अनुसार हिजोको घटनामा सशस्त्रको कमजोरी देखिएको छ । सशस्त्रले बेलैमा टोली परिचालन गर्न नसक्दा घटनाले उग्र रुप लिएको स्रोतको दाबी छ ।
स्रोत भन्छ,‘हिजोको घटनामा सशस्त्रको चरम कमजोरी देखियो । तोकिएको समयमा सशस्त्रले टोली पठाउन सकेन । जसका कारण घटना झन् उग्र बन्यो । घटनास्थल सशस्त्रको गणबाट नजिकै छ । भीडले हिजो एसपी साबमाथि ठूलै आक्रमण गर्न सक्थ्यो ।’ हाल जिल्लामा सशस्त्रका एसपी शोभाकान्त खनाल छन् । यता, जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले अवस्था सामान्य बनिसकेको बताए । सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिँदै उनले गाडी धनी र पीडित पक्षबीच हिजै राति सहमति भएको जनाए ।
जनआस्थासँग उनले भने,‘हिजो राति गाडी धनी र पीडित पक्षबीच सहमति भएपछि अवस्था सामान्य भएको छ । एसपीसहित केही प्रहरीलाई चोटपटक लागेको छ । प्रहरी चौकी बेतहनी भने पुरै तोडफोड भएको छ ।’
टिप्पणीहरू