मदिरा बेच्ने, करोडौं राजश्व निर्वाध छल्ने

राजधानीका एक मदिरा व्यवसायीमाथि साढे पाँच करोड रुपैयाँको राजश्व चुहावटको आरोप लागेको छ । कागेश्वरी मनोहरा नगरपालिका–६, स्थित संस्कार ट्रेडर्सका प्रोप्राइटर होमप्रसाद चालिसेविरुद्ध राजश्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा उक्त आरोप लगाइएको छ ।
उनले बिलबिजकबिना मदिराजन्य पदार्थ बेचबिखनसँगै मदिरा अन्तःशुल्क प्रणालीमा प्रविष्टि नगरी चोरी निष्काशनबाट मूल्य अभिवृद्धि कर र अन्तः शुल्क राजस्व छलेको पुष्टि भएको छ ।
‘प्रतिवादीले सनाखत गरी पेश गरेको फर्मको मौज्दात विवरणभन्दा निजसमेतको रोहबरमा गरिएको भौतिक गणना विवरणमा न्यून परिमाण देखिएकोले न्यून भएका मालवस्तुहरुको प्रचलित राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (६ १) (ख) बमोजिम मू.अ.कर राजस्वतर्फ रु.२,२५,२२,३०८ कायम भएको,’ विभागले उल्लेख गरेको छ ।
करदाताले आफ्नो मौज्दात पुस्तिकामा आम्दानी तथा खरिद नदेखाएको तथा भौतिक नियन्त्रण प्रणालीमा आधारिक मदिराजन्य मालवस्तुहरु अन्तः शुल्क प्रणालीमा प्रविष्टि नगरी चोरी निष्काशन गरेको पाइएको छ । त्यसैले उनीमाथि अन्तः शुल्क ऐन, २०२८ को दफा १६ (१) को खण्ड (क) बमोजिम तिर्नुपर्ने अन्तः शुल्क दबाए, छिपाए वा राजस्वतर्फ राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (छ १) (ग) बमोजिम ५० लाख ३६ हजार ९३६ रुपैयाँ बिगो कायम गरिएको विभागले जनाएको छ ।
विभागले दुई करोड ७५ लाख ५९ हजार २४५ रुपैयाँ बिगो असुलउपरसहित शतप्रतिशत जरिवाना कायम हुनेगरी पाँच करोड ५१ लाख १८ हजार ५९२ रुपैयाँ प्रतिवादी चालिसेबाट भरपाई पाउन र कैद सजाय हुन मागदाबीसहित उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरेको हो ।
टिप्पणीहरू