राजावादीहरुले भाँजो हाल्न खोजेको एमाले महासचिवको ठहर

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतविरुद्ध अभिव्यक्ति दिएको भन्ने समाचारप्रति नेकपा (एमाले) ले आपत्ति जनाएको छ । पार्टी महासचिव शंकर पोखरेलले दुई देशबीचको सम्बन्ध बिगार्ने उद्देश्यले सुनियोजित रुपमा त्यस्ता समाचार फैलाइएको दाबी गरेका छन् ।
गत फागुन २५ गते पूर्वराजाको स्वागतमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बीर प्रयोग भएपछि प्रधानमन्त्री ओलीले विभिन्न सभा तथा समारोहमा घुमाउरो भाषामा राजावादीहरुलाई कटाक्ष गर्दै आउनुभएको छ । पार्टीको सचिवालय बैठकमा समेत पूर्वराजाको गतिविधिबारे छलफल भएको थियो ।
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीले भारतको आडमा पूर्वराजाले सक्रियता बढाएको भन्ने आशयको समाचार प्रकाशित गरेपछि एमाले गम्भीर बनेको हो । ‘पूर्वराजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले भन्नुभएको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित छन्, तिनले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारतबीचको युगौं पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय बोकेका छन्’, विज्ञप्तिमा उल्लेख छ । उनले नेकपा (एमाले) र पार्टी नेतृत्वको वर्तमान सरकार नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन, कुनै विषय भए कूटनीतिक माध्यमबाट समाधान गर्न र बलियो विकास साझेदारी अगाडि बढाउन प्रतिबद्ध रहेको चाहना पनि उल्लेख गरेका छन् ।
महासचिव पोखरेलले दुई देशको परराष्ट्र नीतिले सम्बन्ध राख्ने समाचार सम्प्रेषण गर्दा संवेदनशीले बन्न सञ्चारमाध्यमलाई आग्रह समेत गरेका छन् । ‘परराष्ट्र नीति र बाह्य सम्बन्धजस्ता संवेदनशील विषयमा कुनै समाचार या टिप्पणी प्रस्तुत गर्नुपूर्व पार्टीको आधिकारिक धारणा बुझेर मात्र प्रकाशन र प्रसारण गर्न पार्टी सम्बद्ध सबैलाई आह्वान गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू