मतदानै नगराई म्याद टाँसेर प्रेस चौतारीमा मनोनयन ?

नेकपा एमालेको पत्रकार संगठन प्रेस चौतारीमा नयाँ नेतृत्व चयनका लागि चुनाव नगर्ने मनशायका साथ निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको भन्दै प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । सर्वसम्मत नहुँदा चुनावी प्रक्रियामा जाने लोकतान्त्रिक अभ्यासविपरीत मतदानको समय नै नराखी महाधिवेशनस्थलमा सूचना टाँसिएपछि आन्तरिक किचलो चर्किएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले माथिबाट तोकेको व्यक्तिलाई अध्यक्ष र महासचिव बनाउने तयारीका साथ निर्वाचन कार्यक्रम ल्याइएको असन्तुष्टहरुको गुनासो छ । प्रेस चौतारीको अध्यक्षमा वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राई मुख्य आकांक्षी छन् । पहिले राईलाई उचालेर पछि पाण्डेलाई बोकेको बालुवाटारको तर्फबाट हिजो महाधिवेशन उद्धघाटन गर्न पुगेका महासचिव शंकर पोखरेलले सर्वसम्मत नेतृत्व छान्न निर्देशन दिएका थिए । सोहीअनुसार निर्वाचन समितिले आज पाण्डे समूहलाई सहज हुनेगरी चुनावी कार्यतालिका ल्याएपछि किचलो चर्किएको छ ।
अनौठोचाहिँ अन्तिम नामावली सार्वजनिक भएको १० मिनेट अर्थात् ४ बजेर ३० मिनेटमा परिणाम घोषणा गर्ने भनिएको छ ।
बालुवाटारको निर्देशनमा महाधिवेशन प्रतिनिधिको सार्वभौम अधिकार कुण्ठित पार्न खोजिएको महाधिवेशनस्थलबाट एकजना प्रतिनिधिले जनआस्थालाई बताए । अध्यक्षका प्रत्यासी राजेश राईलाई रोक्न भानुभक्त ढकाल र प्रचार विभाग प्रमुख राजेन्द्र गौतम सम्मिलित अध्यक्ष मण्डलले मनोनयन पत्र नै नदिएको बताइएको छ । ओलीले नरुचाएका राईलाई पाखा लगाउनकै लागि १ बजे मतदाता नामावली टाँसेर साढे ४ बजे परिणाम घोषणा गर्ने तालिका ल्याइएको आरोप छ ।
सार्वजनिक कार्यक्रममा अपरान्ह ४ बजेर २० मिनेटसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने उल्लेख छ । अनौठोचाहिँ अन्तिम नामावली सार्वजनिक भएको १० मिनेट अर्थात् ४ बजेर ३० मिनेटमा परिणाम घोषणा गर्ने भनिएको छ।
स्रोतका अनुसार अध्यक्षसहित ९ जनाको पदाधिकारी र ९९ सदस्यीय केन्द्रीय कमिटीमा क-कसलाई राख्ने भन्ने सूचीलाई अन्तिम रूप दिने काम अहिले भैरहेको छ । 'चुनाव नहुने भयो । सर्वसम्मतिको प्रयास गर्ने भनेका छन्, तर कुरा मिलिरहेको छैन', विराटनगरबाट चौतारीका एकजना निवर्तमान सचिवले भने, 'राजेश राई र गणेश पाण्डेसहितको टोली अहिले छलफलमा छ ।'
महासचिव शंकरले हिजै कुनै हालतमा चुनावमा जान नदिने संकेत दिएका थिए । कांग्रेस र एमालेजस्ता पार्टीसमेत मिल्नुपरेको अहिलेको अवस्थामा प्रतिष्पर्धा होइन सहमति चाहिएको उनको तर्क थियो । प्रचार विभाग प्रमुख गौतमले चनावी प्रक्रिया माग गर्नेलाई कटाक्ष गर्दै 'बुरुक्क उफ्रिनु जरुरी नभएको' टिप्पणी गरेका थिए ।
यता, नयाँ कमिटी घोषणा नहुँदासम्मका अध्यक्ष गणेश बस्नेतले निर्वाचनमा जान नदिने बताउँदै चुनावको मागसहित हस्ताक्षर गर्नेलाई महाधिवेशनस्थलबाट निकाल्ने चेतावनी दिएका थिए । उनले यदि निर्वाचनमै जाने अवस्था आएमा बरू आफू आत्महत्या गर्न तयार रहेको बताएका थिए । त्यो भनाइलाई लिएर प्रतिनिधिमा तीव्र असन्तुष्टि देखिएको थियोे ।
टिप्पणीहरू