सिंहदरबारमा अर्काे सहमति

प्रमुख तीन राजनीतिक दलहरु संक्रमणकालीन न्याय (टिआरसी)को कामलाई टुंगोमा पुर्याउन सर्च कमिटी गठन गर्न सहमत भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको शीर्ष नेताहरुको बैठकले दुई आयोग गठन गर्ने र त्यसका अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस समिति (सर्च कमिटी) गठन गर्ने निर्णय गरेको छ ।
बैठकपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले ‘बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस समिति सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीज्यु दुवै दलका नेताहरुसँग परामर्श गर्नुभयो, र अब परामर्श बमोजिम सिफारिस समिति बढाउने प्रक्रिया अघि बढ्ने’ जानकारी दिए ।
अघिल्लो सरकारले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सर्च कमिटी गठन गरेकोमा आयोग सदस्यहरु सिफारिस नभएपछि कमिटी भंग गरिएको थियो । अहिले पुनः सर्च कमिटी बनाएर अघि बढ्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाउनुभएको हो ।
बैठकमा तीन दलका शीर्ष नेताहरुसँगै प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेल, माओवादी नेता शक्ति बस्नेत र खिमलाल देवकोटा सहभागी थिए ।
टिप्पणीहरू