प्राधिकरणका हाकिम कुट्ने एमाले कार्यकर्तामाथि कारबाहीको माग

प्राधिकरणका हाकिम कुट्ने एमाले कार्यकर्तामाथि कारबाहीको माग
सुन्नुहोस्

डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गरिएको शब्द डिस्प्ले भएको विषय छानबिन हुने भएको छ । 

नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रले घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको जानकारी दिएको हो । डिजिटल बोर्ड ह्याक गरेर प्रधानमन्त्रीलाई गालीगलौज गरिएको केन्द्रको दाबी छ । 

‘हिजो मिति २०८१ साल चैत ११ गते करिब १२ बजेतिर नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रमा दैनिक रुपमा ग्राहकको कार्य सहजीकरणको लागि यस कार्यालयको डिजिटल सूचना बोर्डमा एक्कासी सूचना ह्याक गरी देशको सम्माननीय प्रधानमन्त्रीलाई अवैध किसिमको गालीगलौज–अपशब्द अपलोड गरिएको हुँदा यो राज्यको संविधान तथा प्रचलित कानूनको बर्खिलाप हो । यस्तो गैरकानूनी कार्यप्रति नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र परिवार घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । 

डिजिटल बोर्डको डिस्प्लेमा हिजो अपराह्न ‘केपी चोर, देश छोड’ भन्ने शब्द देखिएको थियो । त्यसपछि आज बिहान कार्यालय पुगेका नेकपा (एमाले) का कार्यकर्ताले केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि निर्घात कुटपिट गरेका थिए । केन्द्रले कुटपिट गर्नेलाई पनि कारबाही गर्न पनि माग गरेको छ । 

‘आज बिहान १० बजे ३५–४० जनाको ठूलो दस्ता आई कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरी कार्यालय प्रमुखको कार्यकक्ष तोडफोड गर्नुका साथै कार्यालय प्रमुखलाई समेत कुटपिट गरेको हुँदा सार्वजनिक सेवा प्रवाह गर्ने नेपाल विद्युत प्राधिकरण भरतपुरका कर्मचारीहरु सुरक्षित नरहेको प्रत्याभूति गर्दै कार्यालय तोडफोड गर्नेमाथि कानूनबमोजिम हदैसम्मको सजायको व्यवस्थाको माग गर्दछौं ’, विज्ञप्तिमा भनिएको छ ।
 

टिप्पणीहरू